काठमाडौं । “आउने २ साता सायद हाम्रा लागि थप चुनौतिपूर्ण हुन सक्छन् । यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि हो । त्यसैले महामारीको सङ्क्रमण फैलिन नदिन हाम्रा सारा प्रयास केन्द्रित गरिने छ,” मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै लकडाउनलाई अझ कडा गर्ने सङ्केत गरेका थिए । किनकि, कोरोनाविरूद्धको लडाइँमा सामाजिक दूरी बलशाली हतियार, रक्षाकवच बन्दै आएको छ ।
“हामी सबैको पहलकदमीले कोरोनालाई थप फैलन दिएका छैनौं । कोभिड–१९ दोस्रो चरणमा प्रवेश गरे पनि त्यो एक जनामै सीमित छ । त्यसले अतिरिक्त चेन बनाउन पाएको छैन । नागरिक गैरजिम्मेवार हुने, लापरवाही गर्ने, सरकारको निर्णय अटेर, अवज्ञा गर्ने हो भने आफैंले भोग्नुपर्छ, त्यसको मूल्य निकै महँगो हुन सक्छ,” उच्चस्तरीय समन्वय समिति, निर्देशक समितिका संयोजकसमेत रहेका पोखरेलले भने ।
नागरिकलाई कठिनाइ नहोस्, खाद्यवस्तु खरिदमा असहज नहोस्, आपूर्ति व्यवस्था सुचारु होस् भनेर सरकारले कडाइ नगरेको बताउँदै पोखरेलले नागरिक गैरजिम्मेवार बन्दै जाने हो भने थप कडा गर्ने, बाटामा कसैलाई निस्कन नदिने दोहोर्याए । “सरकारको पहलले मात्रै पुग्दैन, नागरिकहरूले पनि आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ । नागरिकहरूले नै वेवास्ता गरिदिने हो भने कोभिडको प्रकोप रोक्न सक्दैनौं, त्यसपछिको परिस्थिति कस्तो होला ?,” उनले सबैलाई सचेत रहन आग्रह गरे । १२ खरीबाट
