नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकामा बालिकालाई दिइने एच.पी.भी. खोपको शुभारम्भ गरिएको छ । पाठेघरको मुखको क्यान्सर विरुद प्रदान गरिने एच.पी.भी. खोप विद्यालयमा कक्षा ६ मा अध्यनरत बालिकालाई दिन सुरुवात गरिएको पालिकाले जनाएको छ । खजुरा गाउँपालिका वडा नम्बर २ स्थित रहेको शुक्र मावि बाट पालिकाले खोप लगाउने कार्यको शुभारम्भ गरेको हो । शुक्रबार नै स्थानीय तहको साझेदारीमा नियमित खोप सुदुढीकरण, नियमित खोपमा विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालन सम्बन्धी पालिका स्तरीय अभिमुखीकरण गरिएको छ । खजुरा गाउँपालिका स्वास्थ्य तथा सामाजिक शाखा बागमतिनगरको आयोजनामा भएको अभिमुखिकरणमा गत वर्ष खजुरा का १ हजार जनालाई खोप लगाइएको शाखाले जनाएको छ । यस वर्ष ८१७ जनामा खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी ओली केसीले जनाइन् । यस वर्ष कक्षा ६ मा अध्यनरत बालिकालाई मात्र खोप प्रदान गर्ने स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन देव नारायण उपाध्यायले जनाए । कार्यक्रममा शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले खोप लगाउने कार्यक्रमलाई प्रभावकारी बनाउन जरुरी रहेको बताए । सुरुमा अभियानका रुपमा लगाइएको खोप अहिले नियमित लगाइने खोपका रुपमा लगाउने गरिएको उनले बताए । पाठेघरको मुखको क्यान्सर विरुद्धको दिइने यस खोपलाई नियमित खोपमा समावेश गरिएको फोकल पर्सन उपाध्यायले जनाए । महिनावारी नहुँदै लगाउनुपर्ने खोप भएकाले कक्षा ६ का र बिधालय बाहिर रहेका १० वर्षसम्मका बालिकालाई प्रदान गर्ने उनले बताए । सरकारले यसलाई राष्ट्रिय खोपको रुपमा उच्च प्राथमिकताका साथ राखेकाले अनिवार्य रुपमा खोप लगाउन अनुरोध गरे । ९९ प्रतिशत भन्दा बढीलाई खोप लगाउन सकिएमा रोकथाममा सहज हुने फोकल पर्सन उपाध्यायले उल्लेख गरे । सामाजिक विकास संयोजक कृष्णा कुमारी पोखरेलको अध्यक्षतामा भएको अभिमुखिरणमा खजुरामा रहेका विद्यालयहरूमा कार्यरत स्वास्थ्य शिक्षक तथा स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।
