नेपालगन्ज २२ असोज । यसियन पेन्टस् च्याम्पियन कप अन्तर्गत जारी अण्डर –१८ फुटबल प्रतियोगिताको प्रदेशस्तरीय हुदै केन्द्रिय स्तरका लागि फाइनल खेल आज नेपालगन्ज रंगशालामा साँझा साढे ३ बजे हुँदैछ । फाइनलमा लुम्बिनी प्रदेशबाट नेपालगन्जको सगरमाथा इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुल नेपालगन्ज र गण्डकी प्रदेशबाट गुरुकुल विद्या सदन उपाधिका लागि भिड्ने भएका हुन । फाइनल खेलका लागि आज असोज २२ गते साढे ३ बजे नेपालगन्जको रंगशालामा प्रतियोगिता हुने छ । प्रदेशस्तरमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेका दुवै टोली केन्द्रिय उपाधिका लागि मैदानमा उत्रेका छन् ।
नेपालगन्जको सगरमाथा इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुलले प्रतियोगिताको क्रममा बाँके जिल्लाका ३२ वटा टिमलाई पछि पार्दै जिल्ला प्रथम बन्न सफल भएको थियो । जिल्ला तहमा उत्कृष्ट प्रदर्शन गरेको सगरमाथा स्कूलले त्यसपछि लुम्बिनी प्रदेशस्तरीय चरणमा दाङमा भएको खेलमा मेचीकाली सेकेण्डरी स्कुललाई पराजित गर्दै प्रदेश स्तरिय विजेता भएको थियो । लगातार उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा प्रवेश गरेको सगरमाथा घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छ । बाँके जिल्लाबाट प्रदेशस्तरीय प्रतियोगितामा प्रतिनिधित्व गर्दै फाइनलसम्म पुगेकाले सगरमाथाको खेललाई नेपालगन्जका फुटबलप्रेमीले समेत विशेष चासोका साथ हेरेका छन् । अर्कोतर्फ गुरुकुल विद्या सदन, गण्डकी पनि प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै फाइनलमा पुगेको टोली हो । दुवै टोलीमा १८ वर्षमुनिका प्रतिभाशाली खेलाडीहरूको सहभागिता रहेकाले फाइनल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको सगरमाथा इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुलका एमडी कौशलराज पाण्डेयले जानकारी गराउनुभयो ।
बाँकेका ३२ टोलीलाई पछि पारेर जिल्ला च्याम्पियन बनेको सगरमाथा स्कूल प्रदेश च्याम्पियन हुदै केन्द्रिय च्याम्पियनको यात्रामा पुगेको छ । घरेलु मैदान नेपालगन्ज रंगशालामा समर्थकको साथ पाउने भएकाले सगरमाथा स्कूलका खेलाडी उत्साहित देखिन्छन एमडी पाण्डेयले भन्नुभयो । फुटबलको विकाससँगै युवा प्रतिभालाई राष्ट्रिय स्तरमा अघि बढाउने उद्देश्यले आयोजना भइरहेको अण्डर–१८ प्रतियोगिताले नयाँ खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिएको छ ।
आजको फाइनल खेलले लुम्बिनी प्रदेशको अण्डर–१८ फुटबलमा नयाँ च्याम्पियनको लागि गण्डकी र लुम्बिनी विच हुने छ भने पर्सि विहीवार सुदुरपश्चिम र गण्डकी विच प्रतिस्पर्धा हुने छ । विजेता टिम विच पुनः फाइनल खेलका लागि प्रतिस्पर्धा हुनेछ । ३ टिम विच हुने प्रतिस्पर्धाका विजयी टिमले काठमाण्डौमा केन्द्रिय स्तरको खेल खेल्न पाउने छ । नेपालगन्ज रंगशालामा हुने फाइनल खेलमा सगरमाथाले घरेलु मैदानको फाइदा उठाउँदै उपाधि आफ्नो नाममा लेखाउन सक्ला वा गुरुकुलले बाजी मार्ला भन्ने विषयले अहिले फुटबलप्रेमीको ध्यान तान्दै आएको छ ।
