(Friday 11th of September 2026)
`

भोटेकोशी बाढीका मृतकको सम्झनामा बैजनाथ २ डिगियामा वृक्षारोपण

  • सगरमाथा गन्तब्य
  • 2K
    SHARES

    बाँके, भदौ २२ गते । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा नेकपा (एमाले) ले बाँकेको बैजनाथ गाउँपालिकामा शनिबार वृक्षारोपण तथा बिरुवा वितरण कार्यक्रम गरेको छ । नेकपा (एमाले) बैजनाथ गाउँपालिका कमिटीको आयोजनामा राष्ट्रिय शोकको दिन पारेर आयोजित कार्यक्रममा सहभागी नेता, कार्यकर्ता तथा स्थानीय बासिन्दालाई आँप, कागती, शीतलचिनी लगायतका करिब एक हजार बिरुवा वितरण गरिएको पालिका कमिटीका अध्यक्ष मनबहादुर खत्रीले जानकारी दिनुभयो ।
    वातावरण संरक्षणसँगै बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
    कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले प्राकृतिक विपत्तिले मुलुकका नागरिकलाई गहिरो पीडा दिएको बताउनुभयो । राष्ट्रिय शोकको दिनलाई वृक्षारोपणसँग जोडेर बाढीमा ज्यान गुमाएकाहरूको स्मृतिलाई सम्मान गर्ने प्रयास गरिएको उहाँले बताउनुभयो ।


    मन्त्री खत्रीले भन्नुभयो, “बाढीले केही जिल्लाका नागरिकलाई मात्र होइन, देशभरका नेपालीको मन दुखाएको छ । प्राकृतिक विपत्तिमा ज्यान गुमाउनुहुनेहरूप्रति हामी सबैको गहिरो श्रद्धाञ्जली छ र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।”
    उहाँले विपत्तिको समयमा सबै नेपाली एकजुट भएर पीडितको साथमा उभिनुपर्ने आवश्यकता औँल्याउनुभयो । प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि वातावरण संरक्षण, वृक्षारोपण तथा प्राकृतिक स्रोतको संरक्षणमा सबै नागरिक जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो ।
    कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य ढकालले प्राकृतिक विपत्तिका घटनाले मानव जीवन र प्रकृतिबिचको सम्बन्धलाई अझ गम्भीर रूपमा बुझ्नुपर्ने सन्देश दिएको बताउनुभयो । बाढीपहिरो तथा अन्य प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन सोचका साथ वातावरण संरक्षण र वृक्षारोपण अभियानलाई गाउँ–गाउँसम्म विस्तार गर्नुपर्ने उहाँको भनाइ थियो ।
    त्यस्तै, नेकपा (एमाले) बाँकेका जिल्ला अध्यक्ष निरक गुरुङले बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजना गरिएको वृक्षारोपण कार्यक्रमले शोकलाई सकारात्मक र सिर्जनात्मक अभियानसँग जोडेको बताउनुभयो । उहाँले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभयो । गुरुङले वृक्षारोपणलाई एक दिनको कार्यक्रममा सीमित नगरी निरन्तर अभियानका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology