बाँकेको राप्ती सोनारी गाउँपालिका–५ स्थित बिनौना स्वास्थ्य चौकीले एम्बुलेन्स सञ्चालन तथा स्वयंसेवकलाई भत्ता दिइएको विषयमा सामाजिक सञ्जाल तथा अन्य माध्यममा फैलाइएको अफवाहप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
स्वास्थ्य चौकीले जारी गरेको प्रेस विज्ञप्तिमा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट एम्बुलेन्सको रकम र स्वयंसेवकलाई दिने भत्ता हिनामिना गरिएको भन्ने आशयका सामग्री बिनौना ग्यालरिमा सार्वजनिक भएको भन्दै त्यसप्रति स्पष्टिकरण दिएको हो।
विज्ञप्तिअनुसार स्वास्थ्य चौकीमा कार्यरत स्वयंसेवक तथा एम्बुलेन्ससम्बन्धी भुक्तानीका लागि निर्धारित कार्यतालिकाअनुसार भाद्र महिनाको दोस्रो सातामा भुक्तानी तथा रकम फरफारक गर्ने तय भएको उल्लेख छ। साथै, स्वयंसेवकको भत्ता भुक्तानी तथा एम्बुलेन्ससम्बन्धी बाँकी रकम सम्बन्धित प्रक्रियाअनुसार भुक्तानी भइसकेको स्वास्थ्य चौकीको दाबी छ।
स्वास्थ्य चौकीले एम्बुलेन्स भुक्तानी प्रक्रिया नियमअनुसार पारदर्शी र कागजातमा आधारित रहेको जनाएको छ। स्वास्थ्य चौकीका अनुसार भुक्तानी गर्दा प्रचलित कानून, नियम तथा वित्तीय अनुशासनको पूर्ण पालना गरिएको छ र कुनै पनि रकम हिनामिना वा अपचलन नभएको स्पष्ट पारिएको छ।
विज्ञप्तिमा यस विषयमा थप जानकारी वा जिज्ञासा भए स्वास्थ्य चौकीमा सम्पर्क गरी आवश्यक कागजात हेर्न सकिने व्यवस्था मिलाइएको समेत उल्लेख छ।
स्वास्थ्य चौकीले आधारहीन आरोपका कारण सार्वजनिक सेवामा संलग्न कर्मचारीको प्रतिष्ठा तथा संस्थाप्रतिको विश्वासमा आघात पुग्ने भन्दै सत्यतथ्य नबुझी सामाजिक सञ्जालमा बिनौना ग्यालरीलाई सामग्री सार्वजनिक नगर्न र आधिकारिक स्रोतबाट मात्र सूचना लिन आग्रह गरेको छ।
स्वास्थ्य चौकीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै समाचार सम्प्रेषण गर्दा प्रमाण तथा आधिकारिक स्रोतका आधारमा मात्र समाचार प्रकाशन तथा प्रसारण गर्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गरेको छ। साथै, स्वास्थ्य चौकीले आगामी दिनमा पनि सधैं नियम, कानुन र पारदर्शिताका साथ सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

