काठमाडौं, १३ जेठ । गत शनिबार राति रुकुम पश्चिममा भएको घटनामा कथित ठूलो जातकी युवतीसँग विवाह गर्न गएका जाजरकोटका नवराज विक र उनका सहयोगीहरु टीकाराम सुनार र गणेश बुढाले केटीको माइती पक्षको आ‘क्रमणमा परी ज्यान गुमाएका थिए, भने गोविन्द शाही, लोकेन्द्र सुनार र सन्दीप वि.क. बेपत्ता छन् । यसै विषयलाई लिएर मंगलबारको प्रतिनिधिसभाको बैठकमा रुकुमबाट निर्वाचित सांसद जनार्दन शर्माले छुवाछुतको घटनामा राजनीति हुन नसक्ने बताएसँगै प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदहरूले विरोध जनाएका छन् । सांसद शर्माले उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्नका लागि रुकुम र जाजरकोट जिल्ला प्रशासन कार्यालयले सहकार्य गरेर काम गरिरहेको बताउँदै रुकुममा ‘छुवाछुतका घटनामा राजनीतिकरण हुन नसक्ने’ बताएका थिए । यसैक्रममा उनले ११ जनाले भेरी नदीमा हाम फालेको र पाँच जनाले पौडी खेलेर तैरिएको तर, तीन जनाको शव भेटिएको बताएका थिए । त्यस्तै अन्य तीन जना बेपत्ता भएको बताएका थिए ।

सांसद शर्माले उक्त घटनाको बारेमा यसरी आफ्नो भनाइ राख्दै गर्दा कांग्रेसका सांसदहरुले आपत्ति जनाएका थिए । कांग्रेस सांसदहरूले उभिएरै विरोध गरेका थिए । विरोध जनाउने क्रममा कांग्रेस सांसद प्रकाश रसाइली स्नेहीले उक्त घटनामा पूर्व गृहमन्त्री शर्मा र बहालवाला मन्त्री तथा पूर्वगृहमन्त्री शक्ति बस्नेतले राजनीतिक रंग दिइरहेको आरोप लगाए । त्यस्तै, कांग्रेस अन्य सांसदहरुले रुकुम चौरजहारीको उक्त घटनामा सांसद जनार्दन शर्मा आफैले पीडकको पक्ष लिएर राजनीतिक पहुँचको आधारमा दोषीलाई उन्मुक्ति दिने खेलमा लागेको आरोप लगाएका थिए । न्युज २४ नेपालबाट
