(Friday 11th of September 2026)
`

रास्वपा बाँके क्षेत्र नं. २ को सभापतिको जिम्मा युवा नेता बालकृष्ण शर्मालाई

  • सगरमाथा गन्तब्य
  • 7.6K
    SHARES

    बाँके। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँके क्षेत्र नं। २ का सभापतिमा युवा नेता बालकृष्ण शर्माले जिम्मेवारी पाउनु भएको छ । शनिबार सम्पन्न पार्टीको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट जिल्ला सदस्यमा सर्वसम्मत निर्वाचित भई स्वतः शर्माले उक्त जिम्मेवारी पाउनुभएको हो।

    पार्टीभित्र सभापति शर्मालाई अध्ययनशील, कर्मशील र जिम्मेवार नेताका रूपमा हेरिएको छ। वित्त, कानुन, सामाजिक सेवा र राजनीतिक क्षेत्रमा विशेष अनुभव बटुलेका ३१ वर्षीय शर्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुरुआती दिनदेखि निरन्तर सक्रिय हुनुहुन्छ । सभापति शर्माका अनुसार उहाँको राजनीतिक यात्रा राष्ट्रिय स्वतन्त्र पार्टीबाटै सुरु भएको हो ।

    सभापति शर्माले पार्टीको सिद्धान्त र उद्देश्यलाई जनस्तरसम्म पु¥याउन निरन्तर महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । संगठन विस्तार, जनतासँगको निरन्तर सम्पर्क तथा वैकल्पिक राजनीतिक संस्कारलाई समाजमा स्थापित गर्न आफ्नो अहम भूमिका रहने उहाँको प्रतिबद्धता छ ।

    क्षेत्रीय सभापति शर्मा फाइनान्स संकायमा स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ । त्यस्तै, राजनीतिक क्षेत्रमा आफूलाई स्थापित गर्नका लागि राजनीतिशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरिसक्नुभएको छ । साथै, उहाँ कानुनतर्फ एलएलबी तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । वित्त, राजनीति र कानुन विषयको समानान्तर अध्ययन तथा अनुभवले उहाँलाई नीतिगत र व्यवहारिक दुवै क्षेत्रमा सक्षम तुल्याएको छ ।

    सूचना प्रविधि र कम्प्युटर विज्ञानमा विशेष अनुभव बटुलेका सभापति शर्मा विगत १५ वर्षदेखि लेखा तथा कर क्षेत्रमा निरन्तर सक्रिय हुनुहुन्छ । उहाँले नेपालगञ्जस्थित एक अडिट फर्ममा अपरेसन प्रमुखका रूपमा आफ्नो जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

    कर्ममा विश्वास राख्ने शर्माले प्रशिक्षकका रूपमा समेत उल्लेखनीय योगदान दिँदै आउनुभएको छ । उहाँले लेखा तथा वित्तीय व्यवस्थापनसम्बन्धी व्यावहारिक तालिममार्फत करिब ३०० भन्दा बढी विद्यार्थीलाई प्रशिक्षण दिइसक्नुभएको छ । उहाँको सिकाइबाट धेरै युवा तथा विद्यार्थीले आफ्नो रोजगारी तथा पेशागत भविष्य निर्माण गर्न सफल भएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आफ्नो राजनीतिक करियर अघि बढाइरहनु भएका सभापति शर्माले आफ्नो क्षेत्रमा संगठन विस्तार, जनसहभागिता तथा नेतृत्व विकासमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएको छ । साथै, गत संघीय निर्वाचनमा उहाँले आफ्नो क्षेत्रमा मूल समिति सदस्यका रूपमा जिम्मेवारी सम्हाल्दै संगठन परिचालन, निर्वाचन अभियान तथा जनसम्वादमा प्रभावकारी भूमिका निर्वाह गर्नुभएको थियो ।

    बाँके क्षेत्र नं. २ का सभापति शर्माले आफ्नो राजनीतिक लक्ष्य केवल पद प्राप्ति नभई समतामूलक समाज निर्माण, सुशासनको संस्थागत विकास, युवा नेतृत्वको विकास तथा देश र समाजको सकारात्मक रूपान्तरणमा केन्द्रित रहेको बताउनुभएको छ ।

    क्षेत्रीय सभापतिको जिम्मेवारी प्राप्त गरेसँगै शर्माले संगठनलाई थप सुदृढ, जनतामुखी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँका अनुसार संगठन सुदृढीकरण र पार्टीलाई जनतामुखी बनाउनु नै आफ्नो पहिलो प्राथमिकता हो । युवाको नेतृत्व विकास, सामाजिक न्याय र जनउत्तरदायी राजनीतिलाई प्राथमिकतामा राखेर जिम्मेवारी निर्वाह गर्ने उहाँले बताउनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology