नेपालगन्ज : प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बाँके क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका सुधान्शु कोइरालाले मतदाताप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले चुनावी परिणामलाई सम्मान गर्दै विजयी उम्मेदवारलाई बधाई दिनुभएको हो । कोइरालाले मंगलवार एक प्रेस नोट जारी गर्दै लोकतन्त्रमा जनताको निर्णय नै सर्वोच्च हुने उल्लेख गर्नुभएको छ । निर्वाचनको क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ दिएका समर्थक, पार्टीका साथीहरू, शुभेच्छुक तथा नेपाली कांग्रेसको चुनाव चिह्न “रुख” मा मतदान गर्ने सम्पूर्ण मतदाताप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभएको छ ।
उहाँले मतदाताको विश्वास र मायाले आफूलाई केवल उम्मेदवार मात्र नभई जनताको सेवक बन्ने प्रेरणा दिएको पनि बताउनुभयो । पार्टीले विश्वास गरेर उम्मेदवार बनाएकोमा उहाँले नेपाली कांग्रेसका सभापति गगन कुमार थापा तथा सम्पूर्ण नेतृत्वप्रति पनि आभार प्रकट गर्नुभएको छ । कोइरालाले बाँके क्षेत्र नं. २ का आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूको विश्वास, स्नेह र आत्मीयताले आफूलाई सधैं बलियो बनाइरहने उल्लेख गर्नुभएको छ । उहाँले निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि जनताको सेवा गर्ने आफ्नो संकल्पमा कुनै कमी नआउने स्पष्ट पार्नुभएको छ ।
