(Wednesday 28th of October 2026)
`

कोरोनाको आडमा उब्जेको मानसिकता : जवाफ कसले दिने ?

  • सगरमाथा गन्तब्य
  • 30.9K
    SHARES

    शमशाद आदिल,  कपिलवस्तु- विश्वभरी कोरोनाको कारण अढाई लाख बढी मानिसको ज्यान गएको छ । लाखौं मानिस संक्रमित छन् । लाखौं मानिसको ज्यान उच्च जोखिममा छ । यूरोप अमेरिका पुग्दा यो रोगलाई बायलोजिकल वार (जैविक युद्ध) भनेर व्याख्या हुँदै थियो । पूँजीवाद वर्सेज समाजवादको तर्क बितर्क हुँदै थियो । हरेक देशले आफ्ना नागरिकलाई साबधानी अपनाउन भनिरहेका थिए । चिकित्सकहरूको टोली पनि हैरान थिए । सबै अध्ययन अनुसन्धानमा व्यस्त थिए । सेनाहरू नागरिकलाई सुरक्षा प्रदान गर्ने कवाज बुन्दै थिए । सन्चार माध्यमले पनि पाठक, श्रोता र दर्शकमाझ चेतनामुलक विज्ञापनको प्रसारण तथा सम्प्रेषण गर्दै थिए । शैक्षिक संस्थाहरुले इन्फ्रारेड थर्मोमीटर मास्क र सेनिटाइजरको महत्वबारे पठनपाठन गराइरहेका थिए । किराना पसलहरुमा खाद्य सामाग्री स्टक गर्दै थिए साहुहरू । धर्मगुरुहरुले पनि प्रवचनको क्रममा अपनाउनु पर्ने सतर्कताबारे बहस चलाई रहेका थिए । राजनीतिक अगुवाहरुले पनि सरकारलाई ध्यानाकर्षण गराइरहेका थिए ।
    कोरोना चीन, ईरान, अमेरिका, फ्रान्स हुँदै साउदी अरब, कतारमा पनि प्रवेश ग¥यो । साउदी अरेबियास्थित मक्का र मदीनाको इस्लाम धर्मावलम्बीहरूको केन्द्रबिन्दुमा मस्जिद र मदरसाहरू बन्द भए ।
    अरब देशको मेरुदण्ड मानिने तेलको निर्यात ठप्प भयो । विश्व चर्चित टावर र मलहरू बन्द भए । कोरोनाले भारतमा पनि आफ्नो सङ्ख बजायो । एयरपोर्टमा बिना स्क्रिनिङ्ग नागरिकहरू भित्रिदै थिए । १८ वटा हटस्पटबाट कोरोना फैलिन शुरू भयो । ती १८ मध्ये एक थियो दिल्लीमा अवस्थित निजामुद्दीन मर्कज । हो, यो अभिषाप बन्यो मुस्लिम समुदायको लागि । भारतीय मिडियाले करीब एक सातासम्म हिन्दू मुस्लिम रङ दिने कुनै न्यूज पाइरहेको थिएन । समाचारहरुमा सरकारको तयारी निरीह अबस्थामा रहेको बहस चलिरहेको थियो । तर मौका आयो सरकारको गलती लुकाउने । पुनः एक हप्तापछि स्वाब भेट्यो हिन्दू मुस्लिमको । एकाध मिडियाबाहेक ठूला ठूला कार्पोरेट मिडियाहरुले भारतमा कोरोनाको उद्योग नै मुस्लिम रहेको साबित गर्न लागि परे । आफ्नै देशमा आफ्नै नागरिकलाई निराधार रूपमा तिरस्कृत गरे, घृणा फैलाए । भारतमा सजिलोसँग मुस्लिमलाई आतङ्कवादसँग जोडिदिने पुरानो रणनीतिको पुनर्ताजगी गरे । पत्रकारिताको आधारभूत धर्म सत्यतथ्य, सन्तुलित र विश्वसनीयतालाई तिलाञ्जली नै दिए । यहीँसमम्म रोकिएनन् । सिमाना पार गरी नेपालभित्र पनि प्रवेश गरे । एउटा जनप्रतिनिधि जालिम मियाँलाई समेत घुसपैठी साबित गर्न कम्मर कसे। दुई तीन दिनसम्म नेपालमा पनि यहाँका नागरिकहरुमा शंकाको बीजारोपन भयो ।
    नेपालमा खानपीनको फेशनदेखि राजनीतिक, धार्मिक, सामाजिक सबै स्टाइलहरू विदेशबाट निर्यात हुने आम चलन रहँदा यहाँ पनि भारतीय मिडियाको ठूलो प्रभाव प¥यो । सदियौंदेखि संगै बस्दै आएको एक समुदायमाथि प्रहार शुरू भयो । यति बेला नेपालमा यूरोप, अमेरिकाबाट आएका ८÷९ जना व्यक्ति मात्र संक्रमित भएको फेला परेको थियो । ती संक्रमित न हिन्दू थिए, न मुसलमान थिए, न ईसाई, न सिख नै थिए । ती सबै केवल हाम्रो देशका उर्जावान नागरिक थिए । ती सबैको साझा पहिचान थियो, “नेपाल आमाको सन्तान ।” उनीहरू नेपाल राष्ट्रका प्रतिनिधित्वहरू थिए, देशका कर्णधार ।
    भारतीय मिडियाहरूको अफवाहपछि नेपालका धर्तीपुत्रहरूको पनि वर्गीकरण हुन थाल्यो । नेपालको इतिहासमा आँधी तुफान, बाढी, पहिरो, आगलागी, भूकम्प आदिको चपेटामा आउने सबै पीडितहरू नेपाली कहलाउने गर्थे । तर, विश्वभरि एक मात्र भाइरसको रूप धारण गरेको कोरोना नेपालीहरुलाई वर्गीकरण गर्ने मापक अथवा यन्त्र बन्न थाल्यो । एउटा धर्मको आस्थालाई निशाना बनाउने काम शुरू भयो । सांस्कृतिक पहिरनमाथि शंका हुने भयो । सीमाका अघोषित सेना र रक्षकको रुपमा रहेका मुस्लिमहरुलाई देशद्रोही तक्मा भिराउने काम भयो । भारतीय मीडियाले यहाँको रैथाने सोचमाथि कब्जा जमायो। मुसलमानहरू किनमेलका लागि किराना पसलसम्म जान डराए । नियमित ग्राहकलाई पनि साहुले सामान बेच्न मानेन यसकारणले कि ऊ मुसलमान थियो । कतिपय उद्योगमा कार्यरत् मजदूरहरू मुस्लिम भएकै कारण रोजगारबिहीन भए ।
    जनकपुरमा थुक लगाएर पैसा छर्ने अफवाह फैलाइयो । उदयपुरमा भारत बाट आएका एक युवकबाट कोरोना सरेको तथ्य प्राथमिकतामा परेन । मस्जिद मद्रसाबारे सबै स्थानीयदेखि केन्द्र सरकार अबगत रहेता पनि लुकेको, लुकाइएको जस्ता शब्द प्रयोग गरी लाञ्छित गरिए । भारतको एक मस्जिदको पÞmोटो राखेर रौतहटको मस्जिद हो भनेर समाचार सम्प्रेषण हुन थाल्यो । वर्षमा एकपटक आउने रमजानको रोजामा शुभकामना पाउनबाटसमेत यो समुदाय बञ्चित भयो ।
    राष्ट्रिय मानवअधिकार आयोगकी आयुक्त मोहना अन्सारीलाई मुछिने कार्य भयो । यसका बावजूद स्थानीय तहले राहत वितरण गर्नुभन्दा पहिला नै मुस्लिम समुदायले राहत वितरण शुरू गरिसकेको थियो । पूर्वमन्त्री मोहम्मद इश्तियाक राईदेखि नेपालगञ्ज मुस्लिम समाज कम्मर कसेर नै लागे । नेपाली जामे मस्जिद, दावते इस्लामी, इस्लामी संघ, नेपाल डेभलेपमेण्ट सोसाइटी, केयर फाउण्डेशन, इस्लामिक युवा समाज पाल्पा, कन्फिडेन्स नेपाल, राष्ट्रिय मदरसा संघ, मोरङ मुस्लिम समाज सबै आ(आफ्नो स्तरमा राहत वितरण कार्यमा संलग्न भए । काठमाडौं, बाँके, कपिलवस्तु, धनुषा, मोरङ, सर्लाहीलगायतका जिल्लाहरूमा मुस्लिमहरू नै अग्रपंक्तिमा रहेर भोकमरीको फस्ट वरियर बन्यो र केही हदसम्म मेडिकल सामाग्रीको पनि व्यवस्था ग¥यो । स्थानीय तहको राहत सामाग्रीको गुणस्तरमा प्रश्न उठे पनि मुस्लिमहरूको राहत सामग्रीमाथि कुनै किसिमको विवाद भएको सुनिएन पनि । तर, नकारात्मक अफवाह फैलिरहँदा राहत वितरकको मनोबल घटेर गयो । जनशक्ति निराश भयो ।
    कतारबाट २७ टन र यूएईबाट १२ टन मेडिकल सामग्री नेपाललाई प्रदान हुँदा ती राष्ट्रहरूलाई आभार प्रकट गर्न मुस्लिम नागरिकहरूले नै अग्रसरता लिनु बाध्यता बन्यो । विभिन्न देशहरूमा कोरोनासँग लड्न मुस्लिम चिकित्सकहरू नै अग्र पङ्क्तिमा छन् । कोरोनालाई मुस्लिमसँग जोड्नेलाई यहाँ प्रश्न स्वभाविक रुपमा गर्न मिल्छ होला कि मुस्लिम राष्ट्रमा संक्रमित नेपालीहरूको अबस्था कस्तो छ । मुस्लिमलाई बहिस्कार गर्नेहरुले अरब राष्ट्रमा बिरामीहरूको सेवा कसरी भइरहेको छ । के त्यहाँ पनि यहाँको जस्तै वर्गीकरण गरेको छ कोरोनाले । यदि यहाँको जस्तै त्यहाँका मुस्लिमहरूको मनोविज्ञान विकास भयो भने ती संक्रमित नेपालीहरूको अबस्थाको जिम्मेवारी कसले लिने । कतार, यूएईद्वारा सहयोग भएको मेडिकल सामाग्री पनि जमाती बस्ने देशहरूबाट नै आएको हो । तिनको प्रयोग नगरौं भन्ने मानसिकताको विकास हुँदैन भन्ने ग्यारेण्टी कसले लिने । गरीब असहायहरुलाई मुस्लिम समुदायले राहत वितरण गरेको छ । के त्यो राहतको बहिष्कार हुन्छ त ? नेपालगञ्जमा मोहम्मद र अहमदहरुले राहत वितरण गरे । त्यो राहत गरीबहरूले न लिएका भए के हुन्थ्यो ? यदि राहत वितरण गर्ने मुस्लिम समाज पनि मीडियाबाट ग्रसित भएर मुस्लिमहरूलाई मात्र राहत वितरण गर्न थाल्यो भने यो विभाजनको जिम्मेवारी कसले लिने ।
    भूकम्पको बेलामा यस्तै विभाजनकारी मानसिकता फैलाइरहेको कारण भारतीय मीडियालाई हामी नेपालीहरुले लखेटेको बिर्सनु हुँदैन । तत्कालीन समयमा पाकिस्तानबाट आएको राहत सामाग्रीबारे भारतीय मीडियाले हदैसम्म अफवाह फैलाएर पीडि़तहरूलाई भोकै बस्न बाध्य बनाएको तथ्य सबैले पुनः यो संकटको बेलामा याद गर्नुपर्छ ।
    रोगको कुनै जात, धर्म हुँदैन । संक्रमित व्यक्तिहरूको पहिचान खुलाउनु हुँदैन । तर यहाँ पहिचान उजागर गरिएको छ । सरकारी मिडिया नेपाल टेलिभिजनले भन्छ बाँकेमा यतिजना मुस्लिम कोरोना संक्रमित । मात्र यही लकडाउनको अबधिमा बलात्कारजस्तो जघन्य अपराधीहरूको नाम सार्वजनिक गर्ने हो भने अफवाहबाजहरूको मुखमा ताल्चा लाग्छ । कुन समुदाय कति सभ्य छ भन्ने कुरा प्रष्ट हुन्छ ।
    हामी कोरोना महामारीसँग लडिरहेका छौं । त्यससँगै राष्ट्रको शैक्षिक र आर्थिक अवस्था दयनीय हुँदै गएको छ । बलात्कारजस्तो जघन्य अपराध बढिरहेको छ । किसानहरूको पीड़ा थपिदै गएको छ । भारतीय सीमानामा नेपालीहरू अलपत्र परेका छन् । मनोरोगीहरू बढ़ेका छन् । अस्पतालहरुमा रगतको अभाव लगायत सामाग्रीहरूको पहुँचमा कमी भइरहेको छ । यस्ता समस्याहरू समाधान गर्न बहस भइरहेको छैन । कोरोनाले हरेक नागरिक, घरपरिवार, समाज र राष्ट्रलाई आत्मनिर्भरताको सन्देश दिन आएको सशक्त महामारी हो । उसले आफ्नो सन्देश दिनमा सफल भएको छ । जरूरी छ हामी आफ्नो घर, समाज, राष्ट्रलाई आत्मनिर्भर बनाऔँ ।
    शमशाद आदिल (पत्रकारिता तथा समाजशास्त्र अध्ययनरत विद्यार्थी हुन्)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology