काठमाडौं, १४ वैशाख । विश्वभर कोरोना संक्रमण तथा रोकथामका लागि जारी लकडाउन र अन्य समसामयिक विषयमा निर्णय लिन आइतवार मन्त्रिपरिषद बैठक बस्दै छ । आइतवार (आज) बस्न लागेको मन्त्रिपरिषद बैठकले लकडाउनको स्वरुप कस्तो बनाउने वा कति अवधि लम्ब्याउने भन्नेबारे निर्णय गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली निवास, बालुवाटारमा बोलाइएको बैठकले स्वरुप फेरबदल गरेर भए पनि जारी लकडाउनलाई अझै केही समय लम्ब्याउने सम्भावना रहेको स्रोतले जनाएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले पनि लकडाउन हटाउन नहुने निष्कर्षसहित सरकारलाई आवश्यक निर्णय लिन प्रस्ताव गरेको थियो ।
समितिले आन्तरिक तथा बाह्य हवाइ उडानमाथिको प्रतिबन्ध पनि जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । संक्रमण देखिएका ठाउँमा कडाइ गर्दै अन्य केही क्षेत्र भने खुकुलो पार्न सकिनेबारे पनि छलफल हुने जनाइएको छ ।
