(Wednesday 28th of October 2026)
`

रमजानमा अस्पतालबाटै कुरान पढ्ने व्यवस्था

  • कोरोना संक्रमित बेडमै बसेर कुरान बढ्छन्
  • सगरमाथा गन्तब्य
  • 10.7K
    SHARES

    विराटनगर १२ वैशाख, । विराटनगरको कोरोना विषेश अस्पतालमा भर्ना भएका २८ कोरोना संक्रमित एउटै समुदायका छन् । एक साता यताको अन्तरमा अस्पताल भर्ना भएका संक्रमितको दैनिकी कसरी बितिरहेको छ ? ‘कोरोना विशेष अस्पतालका चिकित्सक डाक्टर दीपक सिग्देल भन्छन, ‘उहाँहरु बेडमै बसेर कुरान पढ्नु हुन्छ ।’ अस्पतालमा उपचार गराइरहेका २८ मध्ये १२ जना उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केका बासिन्दा हुन् । अन्य १६ जना धार्मिक यात्रामा निस्किएका जमाती हुन् । मुस्लिहरुको धार्मिक पर्व रमजानमा उनीहरुले अस्पतालबाटै कुरान पढ्न पाउने व्यवस्था मिलाइएको छ ।
    उनीहरु दिनमा पाँच पटक कुरान पढ्छन् । जमातीमध्ये १२ जना भारतीय छन् । बाँकी चारजना विराटनगरका हुन् । ‘दुरी मेन्टेन गरेर बेड राखिएको छ,’ डाक्टर सिग्देल भन्छन, ‘पढ्दा पनि दुरी मेन्टेन्न गर्नुहुन्छ ।’ कोरोना संक्रमितहरु सहयोगी स्वभावका रहेको बताउँदै उनले पढ्ने इच्छा देखाएपछि पुस्तक उपलब्ध गराइएको बताए । अस्पतालले पुस्तक उपलब्ध गराएका कारण संक्रमितलाई समय कटाउन पनि सहज भएको छ ।
    सीसीटिभीबाट निगरानी, फोनमा सल्लाह
    चार महिने धार्मिक यात्रामा निस्किएका जमातीहरु यात्राको अन्त्यमा संक्रमित भएपछि कोरोना विषेश अस्पताल भर्ना भएका हुन् । डाक्टर सिग्देलका अनुसार अस्पतालमा भर्ना भएकाहरुको अवस्था सामान्य छ । अस्पतालले चिकित्सकसँग सम्पर्कका लागि फोन उपलब्ध गराएको छ । फोनबाहेक संक्रमितको निगरानी सीसी क्यामेराबाट हुन्छ । कोठाभित्र बसेकाहरुले कुनै समस्या परे डाक्टरलाई फोन गर्न सक्छन् । कोठामा बसेका संक्रमितहरुलाई चिकित्सक र स्वास्थ्यकर्मीहरुले अत्यावश्यक परेको अवस्थामा मात्र भेटघाट गर्छन् । सामान्य अवस्थामा फोन र सीसीटिभीबाटै निगरानी गर्छन् ।
    ढोकामा खाना, भित्र प्रवेश निषेध
    खाना खाजाका लागि अस्पतालले विरामीलाई समय तोकिदिएको छ । तोकिएको समयमा विरामीलाई उपलब्ध गराउने सामाग्री लिएर कर्मचारी ढोका–ढोकामा पुग्छन । ढोकामा पुगे पनि भित्र भने प्रवेश गर्दैनन् । ढोका अगाडि राखिएको सामाग्री संक्रमित आफैंले लगेर प्रयोग गर्छन् । अस्पतालमा बसेकाहरुलाई गर्न मिल्ने र नमिल्ने कामका बारेमा सिकाइएको डाक्टर सिग्देलले बताए । अस्पतालमा १२ जना संक्रमितलाई राखेको एक साता भएको छ । यो एक सातामा संक्रमितलाई उच्च ज्वरो, खोकी जस्ता लक्षणहरु देखिएको छैन । संक्रमितलाई अस्पताल बसेको १४ दिनपछि मात्र पीसीआर परीक्षण गरिने डाक्टर सिग्देलले बताए । ‘१४ दिनमा परीक्षण गर्दा नेगेटिभ देखिए भोलिपल्ट पुनः परीक्षण गर्छाैं,’ डाक्टर सिग्देल भन्छन, ‘दुई पटक नेगेटिभ देखिए मात्र, डिस्चार्ज हुन्छन् ।’अनलाइनखबरबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology