(Friday 11th of September 2026)
`

विपन्न परिवारका लागि निःशुल्क १०० स्वास्थ्य बीमा कार्ड वितरण गरिँदै

  • सगरमाथा गन्तब्य
  • 2.1K
    SHARES

    नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ अन्तर्गत विभिन्न टोलमा बसोबास गर्ने विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई लक्षित गरी १०० वटा स्वास्थ्य बीमा कार्ड निःशुल्क वितरण गर्ने अभियान अघि बढाइएको छ।

    स्वास्थ्यजस्तो आधारभूत अधिकार आर्थिक अभावका कारण कसैले पनि गुमाउन नपरोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको वडा नं. १८ का वडा अध्यक्ष दिपक कुमार बर्माले जानकारी दिनुभयो।

    उहाँका अनुसार राजनीति जनताको जीवनसँग प्रत्यक्ष जोडिनुपर्ने र जनप्रतिनिधिको भूमिका जनताको दुःख–सुखमा साथ दिने हुनुपर्ने मान्यताका साथ स्वास्थ्य बीमा कार्यक्रम अघि बढाइएको हो। आर्थिक रूपमा कमजोर परिवारलाई स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउने उद्देश्यले बीमा कार्ड उपलब्ध गराउन लागिएको उहाँले बताउनुभयो ।

    अध्यक्ष बर्माले यो अभियान केवल स्वास्थ्य बीमा कार्ड वितरण गर्ने कार्यक्रम मात्र नभई विपन्न परिवारको स्वास्थ्य सुरक्षाप्रतिको जिम्मेवारी र मानवीय संवेदनाको प्रयास भएको बताउनुभयो।

    उहाँका अनुसार अभियानलाई आगामी दिनमा अझ प्रभावकारी र व्यापक बनाउँदै थप आवश्यक परिवारलाई समेत स्वास्थ्य बीमामा समेट्ने योजना रहेको छ। आवश्यकता र पहुँचका आधारमा आगामी महिनादेखि थप परिवारको स्वास्थ्य बीमा कार्ड बनाउने प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो। “जनताको सेवा नै हाम्रो प्राथमिकता र स्वास्थ्य सुरक्षा नै हाम्रो प्रतिबद्धता हो,” अध्यक्ष बर्माले भन्नुभयो।

    वडा नं. १८ को यस पहलले आर्थिक रूपमा कमजोर परिवारलाई स्वास्थ्य उपचारका क्रममा हुने आर्थिक भार कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology