(Wednesday 28th of October 2026)
`

किसान निराशको कारण नैराश्यपूर्ण कृषि नीति

  • सगरमाथा गन्तब्य
  • 37.6K
    SHARES

     


    —शमशाद आदिल, कपिलवस्तु

    महिना जेठको सकिन लागेको छ । कृषिप्रधान देशको लागि जेठ असारको हावापानी वर्षात मेघहरू महत्वपूर्ण अवसर हुने गर्दछन्। किसानहरूको ध्यान खेत र खेतीमा केन्द्रित भएको छ । नेपालमा किसानहरूको साथै सरकारको लागि जेठ महिना पनि निकै महत्व राख्दछ । कारण यो कि यही महिनामा सरकारले आफ्नो नयाँ आर्थिक वर्षको बचेट विनियोजन गर्ने गर्दछ । कृषि प्रधान देश भएपनि सरकारको आर्थिक बजेट प्रति कुनै कृषकहरूको लागि ठुलो चासोको विषय बन्दैन। नैराश्यपूर्ण कृषि नीति कै कारण कृषकको चासो हुदैन।

    अहिले कृषि श्रमिकहरू नितान्त धान रोप्न बीउ र मलमा केन्द्रित छन। केहि जिल्लाहरुमा नयाँ विउहरू छरिसकेका छन् भने तराईका अधिकांश किसानहरू शुरूवात गरिरहेका छन् । समृद्धि र आत्मनिर्भरताको माला जपिरहेको सरकारले किसानहरूको घर दैलोसम्म उन्नत खालको बीउको व्यवस्थापन गर्न सकेको छैन । भारतीय बीउप्रति कृषकको आकर्षण हुनु विगतको वर्ष झैँ लकडाउनमा देखा परेको छ। भारतीय प्रहरी र बिचौलियाको ज्यादती सहेर पनि बीउ भित्रियाउने क्रममा किसानहरू छन।

    करीब डेढ़दशक देखि रासायनिक मलप्रतिको मोह बढेको कारण कृषकहरुलाई मलको खरीद विक्रीमा समस्या झेल्नु परेको छ । चुनावताका राति राति घरघरमा चामलको प्याकेट वितरण गर्ने जनप्रतिनिधिहरू मलको बोरा बाजारमा पुर्याउन सकेका छैन । ६० प्रतिशतभन्दा बढ़ी जनता संलग्न रहेको पेशा बाजारिकरण हुन सकेको छैन। यसकोे सांगठनिक व्यवस्थापन छैन । भेदभावको शिकार भएर फलफूल तरकारी दूधहरु रोडमा फालिन्छन् । आफ्नो परिश्रमको मूल्य समेत तोक्नबाट बञ्चित छन् ।

    समयमा वर्षा नहुनाले खेतमा बालीनालीहरूलाई पनि सुकेनास लागेजस्तै हुन्छ। पानीको धनी देशमा सिंचाईको पहुँचमा बालानालीहरू नहुनु अत्यन्त शर्मनाक विषय हो । मौसमी वालीनालीहरूको पनि बन्दोबस्त गर्न सिंचाईको समस्या आउने गर्दछ ।

    तराईको समथर भूभागलाई सुनको टुक्राको रुपमा कविहरुले व्यख्या गरे तापनि सरकारको नीतिहरूले कविताको श्लोक मै सीमित राखेको छ । उत्पादन र उत्पादकत्वलाई वृद्धि गरेको छैन । खानीमा सुनहरू रहे झैँ तराईको समथर भूभागको सम्वर्द्धन भएको छैन।

    नयाँ पुस्ताका मान्छेहरुले आफ्नो कार्यशैलीमा यन्त्रहरूको बढ़ी उपयोग गरेका छन तर त्यस अनुरूप कृषकको जीवनशैली भएको छैन । खेती गर्न नयाँ–नयाँ यन्त्रहरूको पहुँच बाजारमा छैन । कोभीड़–१९ कोरोना भाइरसका कारण विदेशबाट आएका युवाहरुको व्यवस्थापन कृषि क्षेत्र प्रमुख आधार हुने निश्चित छ । सरकारले यो समयलाई समस्याभन्दा अवसरको रुपमा लिनु पर्दछ । कृषिप्रति आकर्षण बढाउन विभिन्न खाले कृषियन्त्रहरूको पहुँच जनता माझ गराउनु पर्दछ । औद्योगिकरण भन्दापनि अहिले यान्त्रिकीकरणले कृषकको लागि बढ़ी फलदायी हुनेछ ।

    बैंक, शैक्षणिक राजनीति, पत्रिकारिता, एन जि ओ, सेना, प्रशासन, यातायात र उद्योग लगायत विभिन्न क्षेत्रमा संलग्न रहेका कामदारहरूको समय समयमा बढुवा हुने गर्दछ। जीवन बीमा हुन्छ । ऋण सहूलियतपूर्वक पाइन्छ । पेन्शन पाउने गर्दछन तर कृषि श्रमिकहरू यी सम्पूर्ण अवसरबाट मुक्त हुन्छन । आखिर किन ? के यो पेशा होइन ? के यो पेशाले राष्ट्रलाई सहयोग पु¥याउदैन ? के कृषकको ज्यानको रक्षा गर्ने दायित्व सरकारको होइन ? के किसानहरुको घरपरिवार हुदैन ?

    निमुखा श्रमिक वर्गका लागि बाजार, मण्डी, सब्जी मण्डी, अनाज मण्डीको निर्माण हुनुपर्छ भन्ने आवाज संसदमा पुग्दैन। कृषक एउटा निमुखा समूह भएका छन् । आफ्नो समस्या बयान गर्ने स्थितिमा छैनन् । प्रोत्साहितभन्दा बढ़ी निरुत्साहित हुदै गएका छन । धान रोपाई सम्पन्न भएसँगै बाढ़ी, पहिरोले बालानाली तहसनहस बनाउँछ, खेत कटान हुन्छ, घर नै बगेर जाने हो कि जस्तो अनेकौँ समस्या किसानको हरेक साँसमा मिसिएर मुटुमा गाँठो परेर रहन्छ । बाढ़ी र पहिरोको कारण हरेक वर्ष ठुलो मात्रामा नागरिकहरुले दुःख पाउने गर्दछन् तर सरकारको न्यूनीकरण प्रक्रिया द्रुतगतिले अगाडि बढ्न सकेको छैन।

    सिङ्गो देशको मुहार फेर्न आर्थिक र व्यापारिक क्षेत्रमा आत्मनिर्भरताको लागि नागरिकको एक पुस्ताले क्रान्ति गर्नु नै पर्छ । कृषिलाई नै आधार बनाएर समुन्नत समाजको निर्माण गर्न सकिन्छ । कोरोनाको प्रमुख सन्देश मध्ये एउटा आत्मनिर्भरता हो । यो पुस्ताले आत्मनिर्भरता संकल्प गर्नै पर्दछ । कृषि निकै सहज र व्यवहारिकतामा आधारित पेशा हुने भएकाले सम्मान सहित युवाहरू होमिनु पर्दछ ।

    विचारहरुको ज्ञाता मानिने कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले कृषि क्रान्तिका सूत्रहरू बहुत निर्दोषपूर्वक बयान गरिनुभन्दा फील्डमा रिजल्ट ल्याउन प्रयासरत हुनु पर्दछ । कृषि क्षेत्रलाई संकुचित गर्नु हुदैन । आर्थिक कन्जुस्याईको शिकार बनाउनु भएन । विचार नीति र व्यवहारमा एकरूपता हुनु पर्यो । दलाल पूँजीवाद र बिचौलिया प्रथाको अन्त्य हुनै पर्दछ। कृषि नियन्त्रण हैन कृषिप्रधान देश नतिजामा नै हेर्ने लायक बनाउनु पर्छ ।

    लेखकः त्रिभुवन विश्व विद्यालय अन्तर्गतको मदन भण्डारी मेमोरियल कलेज काठमाडौमा पत्रकारिता तथा समाजशास्त्र विषयमा स्नातक अध्ययनरत छन् ।)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology