(Wednesday 28th of October 2026)
`

भारत, पाकिस्तान र बंगलादेश : कोरोनाबाट झण्डै ९ हजारको मृत्यु, ३ लाख ६९ हजार संक्रमित

  • सगरमाथा गन्तब्य
  • 11.7K
    SHARES

    काठमाडौँ, २३ जेठ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको लहर तीव्र बन्दै गएपछि अहिले भारत एसियाकै महामारी केन्द्र बनेको छ । एसियाली देशहरूमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमितहरू भारतमै फेला परेका छन् । अहिले दक्षिण एसियामा भारतपछि पाकिस्तानमा सबैभन्दा बढी संक्रमित र मृत्यु संख्या रहेका छन् । त्यसपछि दक्षिण एसियाली देशको तेस्रो लहरमा बंगलादेश रहेको छ । यी तीन देशमा गरी कोरोनाबाट झण्डै ९ हजारको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म यी तीन देशमा कुल ८ हजार ९१४ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ भने ३ लाख ६९ हजार ५४० जनामा संक्रमण फैलिएको छ ।

    भारतमा पछिल्लो समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएको छ । बिहीबार मात्रै भारतमा एकै दिन ९ हजार ८८९ नयाँ संक्रमित फेला परेका छन् । यो भारतमा एकैदिन हालसम्मकै सर्वाधिक कोरोना संक्रमित पुष्टि भएको संख्या हो । बुधबार त्यहाँ ९ हजार ६३३ नयाँ संक्रमित फेला परेका थिए ।

    भारतमा बिहीबार एक दिनमा कोरोनाबाट २७५ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ३६३ पुगेको छ भने कुल संक्रमित संख्या २ लाख २६ हजार ७१३ पुगेको छ । संक्रमितमध्ये हाल १ लाख ८ हजारभन्दा बढी मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । हाल त्यहाँ १ लाख ११ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस सक्रिय छ ।

    उता पाकिस्तानमा पनि दैनिक संक्रमित र मृत्यु संख्या बढिरहेको छ । त्यहाँ बिहीबार मात्र एकै दिनमा ४ हजार ८०१ जना नयाँ संक्रमति थपिएका छन् । पाकिस्तानको दैनिक संक्रमणका केसमा यो संख्या हालसम्मकै बढी हो । यससँगै त्यहाँ कुल संक्रमित संख्या ८५ हजार २६४ पुगेको छ ।

    पाकिस्तानमा बिहीबार कोरोना संक्रमणका कारण ८२ जनाको मृत्यु भएको छ । यससँगै त्यहाँ कुल मृतक संख्या १ हजार ७७० पुगेको छ । तर ३० हजार १२८ संक्रमित भने पूर्ण रुपमा निको भइसकेका छन् । हाल त्यहाँ ५३ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस सक्रिय छ ।

    यसैगरी बंगलादेशमा पनि बिहीबार एकै दिन २ हजार ४२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या अघिल्ला २ दिनको तुलनामा केही कम हो । त्यहाँ हालसम्म कुल संक्रमित संख्या ५७ हजार ५६३ पुगेको छ । बंगलादेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७८१ पुगेको छ । बिहीबार मात्र त्यहाँ कोरोनाबाट ३५ जनाको मृत्यु भएको छ । यसैबीच १२ हजार १६१ जना भने निको भइसकेका छन् । हाल त्यहाँ ४४ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस सक्रिय छ । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology