काठमाडौं, २६ वैशाख । संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । लकडाउनकै बीच आज अपराह्न ४ बजे यस अधिवेशनअन्तरगत प्रतिनिधि सभाको पहिलाे बैठक बोलाइएको छ । यस वर्षको बजेट अधिवेशन कोरोना भाइरस र लकडाउनका कारण ढिलो गरी आह्वान भएको छ । सोही कारण संसद सचिवालयले नीति तथा कार्यक्रम अाउनुअघि नै ‘प्रिबजेट’ छलफल गर्ने कार्यसूची बनाएको छ । बजेटका सिद्धान्त र प्राथमिकतामाथिको (प्रिबजेट) छलफल वैशाख २८ गतेबाट सुरु हुने कार्यतालिका बनाइएको छ । बजेट प्रस्तुत गर्नु १५ दिन अगावै प्रिबजेट छलफल सक्नुपर्ने संसद् नियमावलीमा व्यवस्था अनुसार वैशाख मसान्तभित्र प्रिबजेट छलफल सम्पन्न गरिसक्नुपर्छ । जेठ १५ मा संसद्का दुवै सदनमा बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक व्यवस्था रहेकाले त्यसका लागि समय कम रहेको छ । यसअघि बजेटमाथिकाे छलफल हुनुअगावै सरकारकाे नीति तथा कार्यक्रम ल्याउने चलन थियाे । तर यसपटक लकडाउनका कारण साे काम हुन सकेन ।
के छ कार्यसूचीमा ?
आजको प्रतिनिधिसभा बैठकको सुरुमै सभामुखले राष्ट्रपतिबाट बजेट अधिवेशन आह्वान गरिएको पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यतालिकामा उल्लेख छ । त्यसपछि “काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६” र “पारमाणविक विधेयक, २०७६” को सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने जनाइएको छ । आजकै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७” र गृहमन्त्री रामबहादुर थापाले “राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७” पेश गर्ने सम्भावित कार्यसूची राखिएको छ । यसअघि यी दुवै अध्यादेश राष्ट्रपतिबाट फिर्ता भएका थिए । साथै कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्वाहाङफेले “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७” पेश गर्ने कार्यसूची समेत रहेको छ । यसैबीच, अधिवेशन सुरु भएसँगै संसद भवनमा भीड लाग्ने भएकाले कोरोना संक्रमणको जोखिमलाई समेत ध्यान दिइएको छ । संसदमा मन्त्री, सांसद, कर्मचारी, सुरक्षाकर्मी र नेताहरूका सहयोगीका साथै सञ्चारकर्मीसमेत एकै ठाउँ भीडभाड हुने हुँदा संक्रमणकाे जाेखिम रहन्छ । यसै कुरालाई ध्यानमा राखी सरकारले सबै सांसदहरुको कोरोना भाइरस परीक्षण गरिरहेको छ । बिहीबार २ सय १२ सांसदसहित ४ सय ४१ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको जनाइएको छ। न्युज २४ नेपालबाट
