डा.आशिस केसी र सिर्जना शर्मा –
भनिन्छ संकट सूचना दिएर आउँदैन र यसको आयु लामो पनि हुँदैन । तर, उपद्रो डरलाग्दो हुन्छ । हाम्रो छिमेकी भारतमा संक्रमितको संख्या दिनानुदिन बढ्दो छ । त्यसको त्रासले भारतमा कामगरिरहेका लाखौं नेपाली (खासगरी सुदूरपश्चिमको पाहाडी जिल्लाका ) कैलालीको प्रमुख नाका गौरीफन्टा हुँदै स्वदेश फर्किए । तीमध्ये कतिले कोराना पनि साथै बोकेर ल्याए होलान् । तीमध्ये साह्रै कम मात्र क्वारन्टिनमा बसे । र ज्यादै थोरैको मात्र ‘थ्रोट स्वाव’ जाँच भएको छ । यो संकटको घडीमा समुदायमा कोरोना फैलन नदिन तथा संक्रमितको उपचार स्थानिय सरकारले कसरी गरिरहेको होला? जिज्ञासा मेटाउन हामीले कैलाली नगरपालिकाका मेयर नृप ओडसँग सम्पर्क गर्यौँ । उनले भने : ‘‘भारत तथा नेपालमा लकडाउनको घोषणा भएसँगै अप्रत्याशितरुपमा मुलुक बाहिरबाट ठूलो संख्यामा नागरिकहरु आफ्नो गृह जिल्ला फर्कन थालेका छन् । तीमध्ये कतिपयलाई क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको भए पनि धेरै आफूखुसी घर पुगेका छन् । एकसाता यता भने लकडाउनमा कडाइ गरिएको छ । क्वारेन्टिनमा नबसेकाहरु तथा तिनको सम्पर्कमा आएकाको कन्ट्याक ट्रेसिङ, थ्रोट स्वाव परीक्षण तथा बिरामीको उपचारका लागि स्थानीय सरकारले ध्यान पुर्याएको छ । यी कार्यमा केही ढिलासुस्ती भइरहेपनि यसलाई निरन्तरता दिने तथा द्रूत गतिमा अघि बढाउन समाज विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयलगायत सरोकारवाला निकायसँग समन्वय गरी काम गरीरहेका छौँ ।’’
यसैबेला मेरो मोबाइलमा बर्दियाकी जुगमती थारुको कल आयो । उनी २० दिनकी सुत्केरी हुन् । फोनमा भन्दै थिइन् – ‘‘मर्ने भएँ दिदी मत । नेपाल बन्द छ । नाकबाट, शरीरबाट खुन बगेको बगेकै छ । जीउ कामेर उभिन नसक्ने भा’छु । काँ जाने होला देखाउन ? ….एम्बुलेन्सले ३ हजार माग्यो ।’’ जुगमती जस्ता ज्याला मजदुरी गरेर पेट पाल्ने परिवारका धेरै महिला अहिले प्रसूतिसंग सम्बन्धित समस्याले पिरोलिएका छन् । काम पनि छैन दाम पनि छैन । कोरानाले ल्याएको कहर मात्र छ । कोराना कहर माझ उब्जिएको यो समस्या । कस्तो होला त यति बेला प्रसूतिसँग सम्बन्धित समस्या साधानका उपाय बाहिर जिल्लातिर ? हामीले कैलाली नगरपालिकाकी उपमेयर सुशीला भट्टसँग कुरा गर्यौँ । उपप्रमुख भट्टले भनिन् – ‘‘ग्रामीण महिलाहरुले सधैँ अनेक समस्या सहिरहेकै छन् र अहिलेको यो विपतमा तिनका सामु झन् धेरै संकट थपिएको छ । सार्वजनिक सवारी साधन नचलेका कारण स्वास्थ्य संस्थासम्म आवतजावत गर्न अप्ठेरो छ । हाल सेती प्रदेश अस्पतालमा सुत्केरी वार्डसँगै कोरोना संक्रमण रोकथाम तथा उपचार कक्ष रहेको थियो । यो सुत्केरी, नवजात शिशु तथा कुरुवा सबैका लागि जोखिमपूर्ण रहेको भन्ने आवाज आएपछि हिजोबाट नजिकै रहेको एउटा निजी अस्पतालमा पठाउने व्यवस्था गरिएको छ । अर्कोतर्फ कतिपय नवजात शिशुलाई आईसीयु सेवा चाहिने हुँदा प्रसूति सेवा प्रदेश अस्पतालमै हुनुपर्छ । पचास बेडको कोरोना संक्रमण केन्द्र तयार हुनासाथ प्रसूतिसम्बन्धी सबै सेवा सेती प्रदेश अस्पतालबाटै प्रदान हुने व्यवस्था गरिएको छ । यो सेवा बापतको सम्पूर्ण खर्च आमा सुरक्षा कार्यक्रमबाट बेहोरिने निर्णय भएकोछ । आमालाई अस्पताल ल्याउने र घर पुर्याउने व्यवस्था अस्पतालको एम्बुलेन्सले गर्छ । आपतकालीन खर्चको सहयोग नगरपालिकाले बेहोर्ने पनि उनले बताइन् । समाचार सम्प्रेषण गर्नु संचार माध्यमको कर्तव्य हो । तर संक्रमण तथा मृत्युको खबर पटकपटक संचार माध्यममा सुन्दा हामीमाझ नैराश्यको भावना आउन सक्छ । अझ उपचारमा संलग्न स्वास्थ्यकर्मीको निधन भएको समाचार मिडियामा आइरहँदा स्वास्थ्यकर्मीको मनोबल गिर्न जान्छ ।
आफ्नो समुदाय तथा सुरक्षा कार्यमा संलग्नहरुका बारेमा पत्रकारहरु कस्तो किसिमको समाचार दिँदै छन् ? यो पनि हाम्रो उत्सुकताको विषय रह्यो । मैले सुदुरपश्चिम कैलालीमा कार्यरत पत्रकार कर्ण शाहसंग संम्पर्क गरेँ । उनी धनीगढी पोस्ट दैनिकका सम्पादक हुन् । हाम्रो चासोका बारे उनले भने :
‘‘जोखिमको त्रास समुदायमा अत्यधिक छ । दोस्रो चरणको संक्रमण पनि यहाँ देखिइसकेपछि अझ ज्यादा त्रास बढ्नु स्वाभाविकै हो । सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार १ लाख ४५ हजार मानिस मूल तथा साना नाका हुँदै कैलाली भित्रिएका छन् । तर, हालसम्म पालिकाबाट २१ हजारको मात्र नामावली तयार भएको पाइएको छ । महामारीको बेलामा यो काम प्राथमिकतामा पर्नुपर्छ । स्थानीय सरकारले क्वारेन्टिन तथा थ्रोट स्वाव जाँचको गति अघि बढाए पनि यो अति सुस्त छ र पर्याप्त पनि छैन । महामारी गुणात्मक हिसाबमा लम्केकाले जाँच पनि त्यही हिसाबमा हुनुपर्छ ।’’ ‘विपतका बेला पत्रकारको कर्तव्य राज्यलाई सहयोग गर्नु हो । सरकारका सूचना जन समुदायमा पुर्याउने काम पनि हामीले गर्दै आएका छौँ । सरकारलाई सही सल्लाह सुझाव पनि दिन्छौँ । महामारीको बेला अग्रस्थानमा रही काम गर्नुपर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्र्र्मी र सफाइ कामदारको मनोबल बढाउन उनीहरुलाई प्रोत्साहित गर्ने समाचार पनि संप्रेषण गर्दैआएका छौँ । रिपोर्टिङका सन्दर्भमा हामी पत्रकार पनि थाहा पाई नपाई संक्रमितको नजिक पुग्नुपर्ने अवस्था हुन्छ । तर, हाम्रो सुरक्षा र मनोबल बढाउन कसैले सोचेको छैन । कैलालीका पत्रकारका लागि कुल ३० जोर सर्जिकल मास्क तथा पन्जा वितरण भएको छ । यो संख्या अत्यन्त कम हो । अरु कुनै किसिमको सहयोग पत्रकारका लागि भएको जानकारी मलाई छैन ।
सेती प्रदेश अस्पतालमा अहिले ५ जना संक्रमिततको उपचार हुँदैछ । भारतबाट करिब डेडलाख मानिस भित्रिएका र तिनीहरुमध्ये थोरैमात्र क्वारेन्टिनमा बसेका कारण संक्रमितको संख्या बढ्ने जोखिम उच्च छ । यो अवस्थामा स्वास्थ्यकर्मीको मनोबल बढाउने तथा भयमुक्त वातावरण आवश्यक हुन्छ । यसका लागि सेती प्रदेश स्वास्थ्य निर्देशनालयले के पहल गरेको छ हामीले जान्न चाहेका थियौँ । हामीसँगको कुराकानीमा सेती प्रदेश स्वास्थ निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले भने – स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन प्रोत्साहन भत्ता थप्ने, व्यक्तिगत सुरक्षा सामग्री पीपीइको वितरण सुनिश्चित गर्ने, स्वास्थ्यकर्मीहरुको जीवन बीमाको व्यवस्था गर्नेजस्ता प्रोत्साहन मुखी कार्यक्रम हामीले ल्याएका छौँ । आमा सुरक्षा, नवजात शिशु तथा बालबालिकाको स्वास्थ सेवामा कुनै कमी कमजोरी हुन नदिन हामी पूर्ण सतर्क छौँ । संम्भावित थपिन सक्ने संक्रमितको उपचारका लागि केन्द्रबाट ३३ जना विशेषज्ञ डाक्टरहरुको टोली पनि हाम्रो अनुरोधमा आइसकेका छन् । संक्रमितहरु आउने संम्भावना धेरै रहेको डडेलधुरा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. जगदिशचन्द्र विष्ट पनि हामीसँग कुराकानीमा जोडिए । उनी भन्छन् – ‘‘पूर्वतयारी पर्याप्त छैन । क्वारेन्टिनमा बस्नुपर्ने मानिसले नियम पालन नगरीदिँदा जनसाधारणका साथै स्वास्थ्यकर्मीहरु भयभीत छन् । सामान्य बिरामी तथा कोरोनाका बिरामीलाई एउटै अस्पतालमा राखेर उपचार गराउँदा जोखिम उच्च छ । कोराना संक्रमितको उपचार छुट्टै ठाउँबाट गर्ने व्यवस्था हुन जरुरी छ । केही स्वास्थ्यकर्मीले घरबेटीले कोठामा पकाएर खान नदिएको, व्यवहार राम्रो नगरेको गुनासो पनि सुनाउन थालेका छन् । संक्रमण फैलँदै गयो भने यस्ता कुरा झन् बढ्ने छन् । यसमा प्रशासनले निगरानी राख्न जरुरी छ । कोरोनाको त्रासका कारण नयाँ आउने कर्मचारीले कोठा पाउन पनि गाह्रो हुँदै जाने सम्भावना देखिएकाले उनीहरुका लागि बासको उचित व्यवस्था पनि मिलाउन जरुरी भएको कुरा डा. जगदीशले बताए । स्वास्थ्यसेवा प्रदायकको मनोबल बढाउने प्रयासका सन्दर्भमा डा. विष्टले भने – ‘‘हामी स्वास्थ्य सेवा प्रदायकहरु अस्पतालमा दैनिकरुपमा समीक्षा बैठक बस्ने गरेका छौँ । यसमा व्यक्तिगत सुरक्षा, सुरक्षा सामग्रीको उपलब्धता तथा उपचार गर्दा अपनाउनुपर्ने सावधानीका बारेमा छलफल हुन्छ ।’’
कोरोना बाहिरबाट भित्रिएको भाइरस हुँदा बाहिरबाट आउने व्यक्तिलाई अनिवार्य क्वारेन्टिनमा राख्ने तथा थ्रोट स्वाव परीक्षण तीव्र गतिमा हुनु जरुरी छ । यसलाई प्राथमिकतामा राखी जति चाँडो संक्रमितको पहिचान हुन सक्यो उति सहजरुपमा व्यवस्थापन गर्न सकिनेछ र संक्रमण फैलन पाउनेछैन । संक्रमितको संख्या फैलन नदिनु नै अहिलेको अवस्थामा स्वास्थ्य सेवा प्रदायकका लागि सबैभन्दा ठूलो सफलता हो । संक्रमितको संख्या बढ्न सक्ने कुरालाई पूर्वानुमान गर्दै संक्रमित नभएका जिल्लाका ओपीडीमा कार्यरत डाक्टरहरुलाई संक्रमण बढी भएका जिल्लामा परिचालन गरी ‘सिफ्टवाइज’ उपचारमा संलग्न हुने व्यवस्था मिलाउन डा. विष्टले सुझाए ।
डा. विष्टले भने – ‘‘स्वास्थ्य सेवा प्रदायकहरुले कस्तै अवस्थामा पनि पेसागत दायित्व पूरा गर्ने मनःस्थिस्ति तयार पारेकै हुन्छन् । आफ्नो कर्तव्यमा हामी पछि हटदैनौ । हाम्रो मनोबल उच्च राख्न सबैतिरबाट सहयोग हुनेनै छ भन्ने विश्वास राख्छु ।’’
रचना लम्लास गोल्डेन कम्युनिटीकी स्टाप हुन । उनी चितवन अस्पतालमा डाटा सर्विलेन्सको काम गर्छिन् । उनलाई आजकल अस्पतालमा पस्दा धेरै डर लाग्छ । उनीसँग व्यक्तिगत सुरक्षा सामग्री ग्लोब्स र मास्क त छ तर मोयो (भु्रणको मुटुको धडकन जाँच्ने मसिन) राखिदिन गर्भवतीलाई छुनु पर्ने हुँदा ‘गाउन’ पनि भए हुनुपथ्र्योे भन्ने ठान्छिन् । उनी पटकपटक स्यानिटाइजर हातमा लगाउँछिन् र घर पुग्नासाथ लगाएका सबै कपडा धुने तथा नुहाएरमात्र आफनो कोठामा पस्ने गर्छिन् । खाना परिवारसँगै बसेर खान्छिन् तर पनि कोरोना आइहाल्छ कि भन्ने त्रास भने हरेक क्षण परिवार र उनीबीच रहेकै हुन्छ । कोरोनालाई परास्त गर्ने सबैभन्दा ठूलो अश्त्र आत्मबल नै हो । जतिसुकै आधुनिक अस्त्रशस्त्र साथमा भए पनि मन हारेपछि युद्ध जितिन्न । कोरोनासँगको युद्धमा जित हासिल गर्न कोही कसैको मनोबल गिर्नु हुन्न । संक्रमित स्वयंले पनि आत्मबलले नै कोरोनालाई जितेको हुन्छ । आज कोरोनाले सिंगो विश्वलाई युद्धभूमिमा परिणत गरेको ‘‘नेपालमा यो विपत आएपछि व्यवस्थापन कसरी होला ?’’ यो सबैका सामुको अत्यास लाग्दो प्रश्न थियो । अहिलेसम्म सरकारले कोरोना रोकथाम तथा व्यवस्थापनमा काम गरिरहेको छ । महामारीले भविष्यमा कस्तो रुप लिने हो त्यो अनिश्चित छ । त्यसैले संक्रमितको उपचारमा होमिने स्वास्थ्य सेवन प्रदायकको मनोबल कुनै हालतमा खस्कन नदिन उनीहरुलाई नियमितरुपमा मनोचिकित्सकसँग विमर्श गर्ने व्यवस्था हुन जरुरी देखिन्छ । १२ खरीबाट
