(Wednesday 28th of October 2026)
`

खानै–खानाको सहरमा भोकभोकै 

  • सगरमाथा गन्तब्य
  • 14K
    SHARES

    छविरमण सिलवाल 


    सन् २०१८ को जुन १२ गते चाइना साउथको विमानबाट चीनको युनान प्रान्तको कुनमिङ सहरका लागि हामी उड्यौँ, विशुद्ध व्यापारिक प्रयोजनका लागि । दक्षिण एसियाका करिब ५० देशको सहभागिता रहने त्यस मेलामा म पहिलोपटक जाँदै थिएँ, साथमा थिए सन्तोष भट्टराई । जुन १४ देखि २० सम्म चल्ने व्यापार मेलामा नेपालका दुई सय स्टल थिए । नेपाल उद्योग वाणिज्य संघमार्फत नेपाली हस्तकला क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरू पनि सहभागी थिए । हामीले हाम्रा उत्पादनहरूको प्रवद्र्धनका लागि नै मेलामा भाग लिएका थियौँ । चीनमा हाम्रो पहिलो अनुभव थियो यो । स्टुडेन्ट ह्यान्डीक्राफ्ट र सिद्धार्थ क्रियसन दुवै मिलेर एउटै बुथ लिएका थियौं । हाम्रा लागि चीनका अरू क्षेत्रमा पनि विस्तार गर्ने जमर्काेको सुरुवात होे, कुनमिङ व्यापारिक यात्राको यो अनुभव । एकजना साथीले भनेको सम्झन्छु– “चिनियाँहरू अंग्रेजी भाषा बोल्न जान्दैनन्, त्यसकारण चिनियाँ भाषामा केही जानकार भए सजिलो हुन्छ ।” जहाज चढ्दादेखि नै यो कुरा मनमा खेलिरहेको छ । सन्तोष भट्टराई अलिअलि बोल्छु त भन्थे, त्यतिले पर्याप्त होला कि नहोला भन्ने पनि ठान्छु । तर एयरपोर्ट झर्नेबित्तिकै सन्तोषले जानेको अलिअलि भाषाले केही मात्रामा काम गर्यो । रातको लगभग ११ बजिसकेको छ । हामी उद्योग वाणिज्य संघले बुक गरेको होटेलमा नगई सन्तोषका दाजु रामकृष्णजीले बुक गरिदिएको होटेलमा जानु थियो । त्यसकारण हामी अरू साथीहरूभन्दा बेग्लै रुटमा जाने भयौँ, बाहिर निस्केर ट्याक्सीलाई बार्गेनिङ गर्न थाल्यौँ ।

    मित्रराष्ट्र भारतमा अटोहरूले ठगेका धेरै किस्सा साथीहरूले सुनाएको र पटक–पटक आफैँले भोगेको पनि छु । चीनमा नजानेपछि त्योभन्दा पनि धेरै ठग्ने रहेछन् भन्ने चाल हामीले एयरपोर्टबाट ट्याक्सी लिएपछि थाहा पायौँ । सय आरएमबीका लागि पच्चीसबाट सुरु पर्नुपर्ने रहेछ । धेरैबेरको बार्गेनिङपछि हामी ट्याक्सी चढ््यौँ । तर हामीलाई ट्याक्सीमा राखेर ड्राइभर कता गयो कता ? करिब एक घण्टा कुराएपछि दुईजना अरू प्यासेन्जर लिएर आयो । ऊ त प्यासेन्जर खोज्न गएको रहेछ । हामीले बोल्ने कुरै भएन । रातिको बेला, चुपचाप बस्यौं । ट्याक्सीले करिब एक घण्टामा हामीलाई होटेल पुर्यायो । हामी होटेल चेक इन गरेर खानाका लागि यताउता डुल्याँै । म भेज परें, तर उनीहरूले भेज भनेको अलिअलि मात्र मासु खाने भनेर बुझ्दा रहेछन् । एउटा रेस्टुरेन्टमा गएर चाउमिन खायौँ र सुत्यौँ । अनौठो किसिमको बास्नाले केही खाऊँ नै छैन, दिगमिग दिगमिग लागिरह्यो । तर नखाएर पनि सुख थिएन, आखिर पेटको आगो शान्त पार्ने सवाल जो थियो । तीनतारे इन्ज्वय इन्टरनेसनल होटेल राम्रै थियो । २५० आरएमबीमा सुत्न र बिहानको ब्रेकफास्ट पनि थियो । बिहान बाहिर गएर खानुभन्दा त होटेलमै खानु राम्रो थियो हाम्रा लागि । त्यहाँ बाहिरको जस्तो दिगमिग नभए पनि केही नमीठो हरक भने आइरहने । खानाका परिकार धेरै थिए, कताबाट खान सुरु गरौँजस्तो लाग्ने ।

    खानाका लागि भने हरेक दिन होटेलको काउन्टरमा गएर कुपन लिनुपर्ने रहेछ । जिन्दगी एउटा पाठशाला न हो, नयाँ ठाउँमा पुगेपछि केही सिक्नै पर्दोरहेछ । हामी पनि सिकारू भएका छौँ, चीनको कुनमिङ सहरमा । हामी चीन जानुको मूल उद्देश्य भनेकै व्यापार वृद्धि थियो । यद्यपि, हाम्रो पहिलो यात्रा भएकोले केही कौतूहलता हुनु स्वभाविक थियो तर केही दिनपछि सहज बन्दै पनि गयो । चीनको म्ुख्य समस्या भनेकै भाषाको रहेछ । अंग्रेजी उनीहरू बोल्दै नबोल्ने, हामीलाई चिनियाँ भाषा नआउने । यसले गर्दा हामीले भोगेको केही कठिनाइ पनि रोचक नै रहे ! यात्रा हो, यात्रा सधैँ सहज हुन्छ भन्ने पनि होइन, त्यसकारण परिस्थितिको सामना गर्न हामी राजी नै थियाँै ।

    रात निकै छिप्पिसकेको थियो । तर निद्रा भने लागेकै थिएन । तैपनि जबरजस्ती निदाएजस्तो गर्दा भुसुक्कै निदाइएछ । एकैचोटि बिहान ७ बजेमात्र ब्युझियौं । निद्रा पुगेको थिएन । प्रदर्शनी त अर्को दिनबाट सुरु भए पनि स्टल डेकोरेसनका लागि एकदिन पर्याप्त थिएन । त्यसैले हामी चाँडै तयार भएर नास्ताका लागि तल ओर्लियौँ । हिजोको जस्तो एक तमासको हरक केही कम थियो । सजाएर राखिएका फलफूल र खानाहरू खाऊँखाऊँ लाग्ने थिए । प्लेट लिएर के हो कसो हो भनेर सोधखोज गर्दैमा निकै समय बित्यो । फलफूल र बेकरी आइटम मात्र खाएर हामी निस्कियौँ । सामान एक्जिबिसन हलसम्म लैजान गाडी व्यवस्था गरेर प्रदर्शनी हलतिर लाग्यौँ । करिब ४५ मिनेटको ड्राइभिङपछि हलमा पुग्यौँ । नौ नम्बर हलमा हामीले हाम्रो स्टल खोजेर कार्गोबाट आफ्ना सामानहरू लियौँ र डेकोरेसन गर्न थाल्यौँ । करिब दुई सयवटा नेपाली स्टल थिए । दक्षिण एसियाका करिब पचास देशका स्टल थिए । हामीले हाम्रो व्यापार मेला हुने स्थान भृकुटीमण्डपलाई निकै ठूलो मानेका थियौँ तर कुनमिङको यो हल देख्दा हाम्रो त एक छेउ पनि होइन भन्ने लाग्यो ।

    सहरभन्दा निकै टाढा बनाइएको यो व्यापारिक हल सुविधा सम्पन्न थियो । मान्छेहरू आउन सबै सुविधा पर्याप्त थियो । यसले के स्पष्ट गर्दै थियो भने उनीहरूका अगाडि हामी त व्यापारी नै होइन रहेछौँ । ह्यान्डक्यारी गरेर लगेका सामानहरूको केही भ्यालु देखिनँ मैले । तापनि सातै दिन हामी व्यस्त रह्याँै । र, एउटा रमाइलो अनुभूति लिएर फर्कियौँ । पहिलो अनुभव भए पनि हामीले निराश हुनु परेन ।कुनमिङ दक्षिणपूर्वी एसियाली देशहरूको सिमानानजिक अवस्थित छ, दक्षिण पश्चिम चीनमा यातायात केन्द्रका रूपमा सेवा पनि दिँदै छ । भियतनाम, बर्मा, लाओस र थाइल्यान्डसँग रेलमार्ग जोडिएको छ । यो स्थितिले यसलाई यो देशको क्षेत्रमा एक महत्त्वपूर्ण व्यापार केन्द्र बनाउँछ । यहाँ मुख्यतः तामाको प्रशोधनका साथै विभिन्न रसायन, मेसिनरी, कपडा, कागज र सिमेन्ट उत्पादन हुने गर्छ ।

    यो सहरले लगभग २४ सय वर्षको इतिहास बोके पनि यसको आधुनिक समृद्धि सन् १९१० पछि मात्र भएको हो । जब हनोईबाट रेल निर्माणको क्रम सुरु भयो, त्यस पछि यो सहर चीनको आधुनिकीकरण प्रयासअन्तर्गत द्रुतगतिमा विकास क्रमतिर लम्कियो । कुनमिङका सडकहरू चौडा छन् । साइकल लेनहरू सबै सडकमा देखिन्छन् । कार्यालय भवनहरू र आवास परियोजना द्रुत गतिमा वृद्धि हुँदै छन् । कुनमिङलाई एउटा विशेष पर्यटन केन्द्रका रूपमा पनि तोकिएको छ । यहाँ उच्चस्तरका लक्जरी होटेलहरू प्रशस्त छन् । एक मित्रले केही समय पहिले भनेका थिए– “छविजी अरू देश नगए पनि एकपटक चीन अवश्य पुग्नुहोला । म त त्यहाँको विकास देखेर छक्क परेँ ।” यो यात्रामा मैले मित्रका ती कुरा पनि सम्झेँ । चीन जाने इच्छा नभएको भने होइन, धेरैपटक जाने सोच बनाएको थिएँ । तर समयको तालमेल मिल्न सकेको थिएन । योपटक भने मिल्यो । कुनमिङ चीनको एउटा छेऊमात्र हो, चीनको विकासले संसारलाई चकित बनाएको छ । आर्थिक रूपमा चीनले निकै प्रगति गरेको छ । आफ्ना उत्पादन संसारलाई सस्तोमा बेचेको छ ।

    हाम्रो पनि यो पहिलो पहल हो चीनको व्यापार मेलाको । हुन त आफूले चाहेर मात्र पनि नहुने रहेछ, समयको अगाडि हामी निरीह हुन्छौं । कुनमिङ युन्नान प्रान्तको राजधानी र सबैभन्दा ठूलो सहर हो । जनगणतन्त्र चीनको युन्नान फू भनेर पनि चिनिन्छ । यो प्रान्तस्तरको सहर हो र प्रान्तको राजनीतिक, आर्थिक, सञ्चार र सांस्कृतिक केन्द्रका साथसाथै प्रान्तीय सरकारको आसन हो । युन्नानका धेरै ठूला व्यवसायहरूको मुख्यालय कुनमिङमा छन् । यो दोस्रो विश्वयुद्धको अवधिमा चिनियाँ सैन्य केन्द्र अमेरिकी एयर बेस र बर्मा रोडका लागि यातायात टर्मिनलका रूपमा महत्त्वपूर्ण थियो । मिङ्मा स्थित युन्नान गुइझाँै पठारको बीचमा अवस्थित कुनमिङ समुद्री सतहबाट १९०० मिटर (६२३४ फिट) उचाइ र क्यान्सर ट्रपिकको उत्तरी अक्षांशमा अवस्थित छ । डियान तालको उत्तरी किनारमा अवस्थित छ, यसलाई मन्दिर र ताल र पहाड परिदृश्यले घेरिएको छ ।

    कुनमिङ पुरानो र पहिले पर्खाल भएको सहर हो । यहाँ आधुनिक वाणिज्य जिल्ला, आवासीय क्षेत्र र विश्वविद्यालय क्षेत्रहरू छन् । यो सहरमा एउटा खगोलीय वेदशाला छ । यहाँ उच्च शिक्षाका लागि विभिन्न संस्थानहरू युन्नान युनिभर्सिटी, युन्नान नार्मल युनिभर्सिटी, कुनमिङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी र कुन्मिङ मेडिकल युनिभर्सिटी छन् । उत्तरपूर्वी पहाडी बाहिरी भागमा मिन्ब राजवंशबाट सुरू भएको कास्य मन्दिर छ, जुन चीनमा आफ्नो प्रकारको सबैभन्दा ठूलो मन्दिर हो ।नेपालको व्यापारमा व्यवस्था गर्ने व्यापार प्रवद्र्धन केन्द्र तथा चीन सरकारको व्यापार प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनामा हु्न गइरहेको सो मेलामा दुई सय स्टल नेपाललाई दिएको थियो । नेपाली ह्याण्डीक्राफ्ट, पस्मिना, नेपाली कपडा, गलँैचालगायत नेपाली वस्तुको बिक्रीका लागि नेपाली व्यापारीहरूसँगै हामी पनि हाम्रो उत्पादनहरू लिएर पहिलोपल्ट पुगेका थियौँ ।

    चीन सरकारले दिएको सहुलियत स्टलहरूमा नेपालीहरूले व्यापारीहरूबाट पैसा असुल गर्दा रहेछन् । व्यापार प्रवद्र्धन केन्द्रले चाइना चेम्बर, हस्तकला महासंघ र उद्योग वाणिज्य संघलाई वितरण गरेर उनीहरूमार्फत नेपालका व्यापारीहरूले सहभागिता जनाउनुपर्ने रहेछ । त्यसमा पनि व्यवसाय नै नभएका व्यक्तिहरूको बाहुल्यता बढी देखिएको थियो । अर्को कुरा, नेपालका सरकारी प्रतिनिधि र संघका पदाधिकारीहरूका परिवार व्यापारीभन्दा बढी देखिएका थिए । सरकारको खर्चमा मोज गर्न पल्केका जुकाहरूले असली व्यापारीलाई चिन्दा रहेनछन् । त्यसकारण पनि सित्तैमा दिएको स्टललाई पैसा असुल्ने उनीहरूको नियत व्यापारीको पक्षमा पक्कै थिएन । मेलामा सरकारी प्रतिनिधिका परिवारले पनि व्यापार गरेको दृश्य देख्दा पैसा तिरेर पुग्ने वास्तविक व्यापारीहरूको मन कँुडिएको कुरा गाइँगुइँ सुनिएका थिए । प्रत्येक वर्ष जुनमा हुने यस्ता मेलामा निकै ठूलो कारोबार हुने रहेछ । नेपाली व्यवसायी विगत दश–पन्ध्र वर्षदेखि नै सहभागी भए पनि नेपाली उत्पादनमा नयाँपन ल्याउन नसकेकाले व्यापार खस्केको कतिपय व्यापारीहरूले बताएका थिए । त्यसपछिका वर्षहरूमा एकपटक हाम्रो कम्पनीबाट सहभागी हुन हरिलाई पठाएको थिएँ । पहिले दुई सय स्टल लिएको नेपालले यसपटक पचास स्टलमा पनि व्यापारीहरू त्यति उत्साहित नभएको कुरा थाहा भयो । नेपालीको व्यापार खस्कनुमा नेपाल सरकारको नीति र व्यापारीहरूले दिन नसकेको नयाँपन हो भन्ने लाग्यो मलाई । हुन पनि त्यस्तै भइरहेको छ !

    चिनियाँहरू जो देखे पनि एउटै लाग्ने, कहिलकाहीँ त झुक्किने पनि ! तिनका भाषा हामीले नबुझ्ने हाम्रो भाषा तिनले नबुझ्ने ! त्यसैकारण अलि कठिन नै हुँदोरहेछ, काम गर्न । अर्को कुरा, त्यहाँ केटाभन्दा केटीहरू निकै फरासिला देखिन्थे । उनीहरूमा केही सिकौँ भन्ने भावना भएको मैले पाएँ । उनीहरूमा नयाँ मान्छेसँग भेट्ने, केही नयाँ कुरा सिक्ने उत्सुकता रहेको मैले पाएँ । टिनएजरहरू त अंग्रेजी बोल्दा रहेछन्, अंग्रेजी जान्नेहरू असाध्यै व्यस्त हुने, उनीहरूलाई कामको खाँचो नहुने कुरा हामीले हाम्रो स्टलमा राखेकी केटीले बताउँदै थिई ।

    दिनमा एक सय पचास आरएमबी तिरेर हामीले पनि सात दिन रोजगारी दियौँ उसलाई । ग्राहकलाई उनीहरूकै भाषामा भन्दा विश्वास हुँदोरहेछ, हामी त उनीहरूका अगाडि ट्वाँ पर्नुको विकल्प थिएन । तैपनि आफूले जानेको टुटेफुटेको चाइनिज भाषाले पनि निकै कमाल गरेको अनुभूति भयो । अझै सन्तोष भाइ त चाइनिज जस्तै लाग्थे । हामीलाई दोस्रो दिनदेखि अलिकति थाहा भयो, यहाँ ट्याक्सीलगायत जुन गाडीलाई रोके पनि हुनेरहेछ । तीस–चालिस आरएमबीले एक्जिबिसन हलसम्म पुग्न सकिने रहेछ । हामीसँग एकजना भारतीय व्यापारी पनि सँगै जाने भए । अझै पैसा कम पर्ने भयो हामीलाई । त्यसैले हामीले दिनदिनै फेरिफेरि गाडी चढ्यौं । यो पनि हाम्रा लागि रमाइलो अनुभव थियो । रुट परेमा केही पैसा पनि हुने र सेवा पनि हुने उनीहरूको विचार राम्रै लाग्यो । नेपालमा त्यसरी रोकेमा प्राइभेट कार चढ्नेहरूले कुट्लान भन्ने डर !

    अझै अर्को रोचक पक्ष भनेको इलेक्ट्रिकल स्कुटरमा तीन–चारजना पनि चढाएर क्ुदाउने ! ट्राफिक पुलिसको आँखा छल्ने तथा कति ठाउँमा त ट्राफिकले वास्तै नगरेको पनि देखियो । तर त्यसरी हिँड्दा होटेलको कार्ड भने साथमा बोक्नुपर्ने रहेछ । उनीहरूले त्यही कार्डको ठेगाना अनुसार प्यासेन्जरलाई पु¥याउने रहेछन् । चिनियाँहरूको कामलाई सम्मान गर्ने तरिका निकै मनपर्यो । नत्र प्राइभेट कारमा कसैलाई लिफ्ट दिनु नपर्ने हो, अलिकति भए पनि पैसा हात पर्ने उनीहरूको विचारले हामीले दिनदिनै बीएमडब्लूदेखि नयाँ–नयाँ गाडीहरू दिनदिनै चढ्यौँ, त्यो पनि चालिस आरएमबीमा ।

    सन्तोष निकै खुसी भएर भन्थे– “हामीले जति मोज अरू नेपाली साथीहरूले गरेनन् होला, हगी दाजु ।” हुन पनि त्यस्तै भएको थियो । बिहान एक्जिबिसन हलसम्म जानका लागि त गाडीहरू प्रशस्तै पाइन्थे, तर बेलुका होटेलसम्म पुग्न गाह्रो नै हुन्थ्यो । धेरै मान्छे एकैचोटि निस्कने भएर पनि होला ? यस्तो अवस्थामा हामी कहिले स्कुटीमा त कहिले ट्याक्सीमा, कहिले कारमा त कहिले बसमा जाने गर्थ्यौँ । सबैभन्दा सजिलो त स्कुटीले लैजाँदो रहेछ, तर भनेको बेलामा नपाउने र लामो बाटो जान नमान्ने । उनीहरू पाँच आरएमबी पाए भनेचाहिँ खुसी हुँदै जान्थे । बार्गेनिङ भने अचाक्ली नै गर्नुपर्ने रहेछ । उद्योग वाणिज्य संघले बुक गरेको होटेलले नै आउने जाने गाडीको व्यवस्था गरेको रहेछ, त्यसबापत पैसा पहिल्यै लिएको रहेछ । पैसा महँगो भयो भनेर केही साथीहरूको गुनासो हामीले सुनेका थियौं ।

    हामी बस्ने होटेलमा नेपाली कोही देखिएनन् । भारतीय भने निकै थिए । उनीहरू बेलुका होटेलमा मदिरा पिइरहेका देखिन्थे । दिनभरिको थकानले लखतरान परेका हामी दुई भाइ भने पैदल नाप्ने गर्थ्यौ । बजारमा एक तमासको नमीठो हरकले अप्ठेरो महसुस हुन्थ्यो । अझ रेस्टुरेन्ट भएको क्षेत्रमा त झन् बढी नै सताउने गर्थ्यो । बिहानको नास्ता हामीले होटेलमै गर्ने गरेका थियौँ । तर नास्ताभन्दा पनि दिउँसो खानाको ठेगान नहुने भएकाले हामीले मजाले नास्तासँगै लन्च पनि भ्याउने गरेका थियौँ । एक–दुई दिनको भोकका कारणले हामी यसो गर्न बाध्य भएका थियौँ ! प्रायः सबैले यस्तै गर्दा रहेछन्, हामीले मात्र त्यसो गरेको पक्कै होइन । सन्तोष भन्छन्– “लौ है छवि दाजु, पहिले ब्रेकफास्ट गरौँ त्यसपछि लन्च गरौंला ।” उनी साना–साना कुरामा निकै रमाउने गर्दथे । मेरो छोराभन्दा पनि दुई वर्ष कान्छा सन्तोषलाई बोर हुन दिनु भएन । फलस्वरूप, उनले पनि यात्राको पूरापूर मजा लिए । उनको पनि पहिलो अन्तर्राष्ट्रिय यात्रा थियो । उत्साहित सन्तोषको उत्साहले म पनि उत्साहित थिएँ । कतिचोटि त हामी ब्याट्रीबाट चल्ने स्कुटीमा चढेर कुनमिङको बजार पनि डुल्यौंँ ।

    कुरो फेरि खाना नै छ, मान्छे खानकै लागि त हो नि यी सबैथोक गनर््ु परेको । हामी पनि त त्यही ड्याङका न पर्यौं, बेलुका हामीलाई खान नपरे हुन्थ्योजस्तो लाग्थ्यो । बजारमा गयो अनेकथरिका खाना देखिने तर दिगमिग भइरहने । त्यसमाथि आफू परियो शुद्ध शाकाहारी । शाकाहारी भोजनको लागि चीन वास्तवमै होइन रहेछ । बेलुका होटेलमा आएर फ्रेस भएपछि हामी खानाकोे लागि तीन राउन्ड बजार चहार्थ्यौ, तैपनि भनेजस्तो खाना पाउन मुस्किल । अन्ततः रवीन्द्र मिश्रले भनेजस्तै– “मेनु धेरै थरीको हेर्ने तर खाने बेलामा मःम नै मगाउने” नेपाली चलनलाई पछ्याउँदै हामी चाउमिन या थुक्पा मगाउने गथ्र्यौं । एकपटक खानकै खोजीमा थियौँ, हिँड्दाहिँड्दै हामीले होटेल जाने बाटो नै बिर्सेछौँ । जति हिँडे पनि होटेल पुगिँदैन नेभिगेसनले नजिकै देखाउँछ, घुम्दाघुम्दै लखतरान परेरे यसो उभिएर हेर्दा त हामी होटेलको पछाडिबाट घुमिरहेका रहेछौँ, अहिले सम्झँदा पनि हाँसो उठ्छ । अर्काे दिन पनि कुरा खानाकै छ । मैले सन्तोषलाई खान त्यति मन नलागेकाले यसो थोरै थुक्पा खाऊँ भन्ने प्रस्ताव गरेँ । उनले पनि सहर्ष स्वीकारे । एउटा रेस्टु्रेन्टभित्र पस्यांै, तर नमीठो हरक नाकमा ठोक्कियो । खाना खाऊँ कि नखाऊँ भयो, तैपनि भित्तामा टाँगिएको मेनुमा स्क्यान गरेर हेर्दै थिएँ । सन्तोषले एक प्लेट थुक्पा अर्डर गरे । आज यसैलाई दुईजना बाँडेर खाने मुडमा थियौ । चिनियाँ चिया पनि आइपुग्यो । समय कटाउनका लागि चिया पिउँदै गफिन थाल्यौँ, सन्तोष र म । निकै समय लगाए थुक्पा ल्याउन, बरु अर्को टिपोटमा चिया थपिदिए । चीनमा यो चियाचाहिँ फ्री मेनुमा पर्दो रहेछ । ‘घाँसको झोल त हो नि जति पिए पनि हुन्छ सन्तोष, पिऊँ’ भनेर म जिस्काइरहन्थे ।

    क्यामरा भिरेर हिँडेका उनी साँच्चिकै टुरिस्टजस्ता देखिन्थे, कुनमिङ बजारमा । नयाँ केही देख्यो कि क्यामरा तेस्र्याई हाल्ने, उनको उमेरै त्यस्तै थियो, कौतूहले उमेर । म जिस्काइरहन्थे ‘एउटा चिनियाँ ठिटी पट्याऊ यार ।’ खुलेर निर्धक्क कुराकानी गरिरहेकै थियौँ । हाम्रो कु्रा उनीहरूले नबुभ्ने भएपछि केको धक ! हामी थुक्पा अर्डर गरेर ग्रिन–टीको चुस्कीमा भुलिरहेका थियौं । रेस्टुरेन्टमा हामीभन्दा अरू ग्राहक थिएनन् । किचेनबाट एउटीले ठूलो बाटा जस्तो भाँडोमा एकभाँडो थुक्पा ल्याएर हाम्रो टेबलमा राखिदिई । हामीलाई नै हो कि अरूलाई हो, हामी छक्क प¥र्यौँ ! सन्तोषले भने– “दाइ, यो भैंसीले खाने कँुडोजस्तो छ । हामीले त सानो अर्डर गरेका थियौ ।” म पनि छक्क परेँ र भने– “तिम्ले जानेको भाषाले पनि काम गरेन अब यही कुँडो बजाऊँ आज ।” सन्तोष र म मजाले हास्यौँ, फोटो खिच्यौँ । नखानुको विकल्प पनि त थिएन । सानो बलमा थोरै राखेर खायौं, बाँकी त्यहीँ छोडेर १५ आरएमबी तिरेर निस्कियौँ । होटेल पुगेर पनि निकैबेर हाँसो थाम्न सकिएन, भाषाको कमाल यस्तै हो । त्यसपछिका दिनमा हामी निकै होसियार बन्यौँ ।

    खाली खानाकै मात्र कति कुरा गरेको हो भन्ने लाग्न सक्ला, तर चीनको यो ऐतिहासिक सहरमा खानैको लागि भएका केही क्ु्राहरू रोचक लागेको छ । हाम्रो यो पहिलो यात्रा भएकाले पनि यस्तो लागेको होला । फेरि पनि खानाकै प्रसङ्ग छ । हामी हाम्रो दैनिक रुटिन सकिएपछि होटेलमा आएर फ्रेस भए पनि कुनमिङका सडक नापिरहन्थ्यौं । यहीँ मेसोमा खाना खानका लागि विभिन्न रेस्टुरेन्ट चहार्थ्यौँ ।

    एक दिन दुवैजना हिँड्दै नयाँ रेस्टुरेन्टको खोजीमा थियौँ । तर हामीले भनेजस्तो खाना फेला पार्न सकिरहेका थिएनौँ । होटेलमा चिनियाँ अक्षरमा लेखिएका ठूला मेनु हामीले बुझ्ने कुरै भएन, यसो हेरेर फर्किन्थ्यौ । घुम्दै जाँदा हामी एउटा होटेलभित्र पस्यौँ । भित्तामा टाँगिएको मेनुमा सन्तोष हेर्दै थिए । मैले तन्दुरीजस्तै झिरमा केही टाँगिएको देखेँं । यसो गएर हेरेको सिङ्गो कुकुर नै पो रहेछ । मैले हत्त न पत्त सन्तोषको हात समातेर तान्दै बाहिर ल्याएँ र छिटोछिटो हिँड्याँै । मेरो यो हरकतले सन्तोष ट्वाँ परे । केही पर पुगेपछि मैले सबै कुरा बताएँ । सन्तोषले मुख बिगारेर भने ‘आज केही नखाने ।’ हुन पनि त्यो दृश्य सम्झिएर आन्द्राभुँडी नै बाहिर आउला जस्तो दिगमिग लागिरहेको थियो । किन होला, कसैका लागि मीठो हुने कुरा कसैका लागि घिनलाग्दो हुने ! त्यसरात अबेरसम्म हामी कुनमिङको सडक नापिरह्यौँ । दिनभर स्टलमा व्यस्त भए पनि बेलुका फर्केपछि नेपालीहरूसँग भेट हुँदैन थियो । हामी मदिरापान पनि नगर्ने भएकाले पनि त्यसको बदलामा थाकुन्जेल घुमिरहन्थ्याँै । हामी मोबाइलको नेभिगेसनका आधारमा नजिकै रहेको रेल्वे स्टेसनतिर घुम्न निस्कियौँ । मैले सोचेको थिएँ यहाँ पनि भारतको जस्तै त होला नि, तर त्यसको ठीकविपरीत पाएँ । रेल्वे स्टेसन पुग्दा लाग्यो पाँचतारे होटेलमा प्रवेश गर्दै छौँ । मान्छेको भिड भने त्यस्तै रहेछ । स्टेसनबाहिर पोलेको आलु, पोलेको मकैलगायत धेरै चिज बेच्न बसेका देखिन्थे । हामी पनि पोलेको आलु र मकै खाँदै घुम्याँै । र नजिकैको फुड मार्केटमा गयौँ । ओहो ! त्यहाँको मार्केट हेर्दा त जिन्दगीभरि केही नखाऊँ जस्तो भयो । साङ्ला, सर्प, भ्यागुतालगायत धेरै किसिमका कीरा जिउँदै बेच्न राखेका, जिउँदै फ्राई गर्दै गरेका उदेकलाग्दा दृश्य यिनै आँखाले देख्नुपर्यो ।

    हाम्रा केही नेपाली साथीहरू पनि त्यहाँ मदिराका बोेतल खाली गर्दै थिए । हामी उनीहरूलाई नदेखेजस्तै गरेर होटेल फर्कियौँ । रेल्वे स्टेसनको त्यही बाटो भएर हामी गएका थियौँ, त्यहीँबाट फर्किदै थियौँ । बाटोमा माग्नेहरू पनि भेटिए । निकै सुकिला उनीहरू सडकमा बसेर मागेको दृश्य निकै रोचक लाग्यो मलाई । तिनलाई दिने चानचुन पैसा नभएमा ‘विच्याट’बाट पनि दिए हुन्छ भन्दै थिए । पैसा छैन भनेर हात हल्लाएपछि मोबाइल देखाउँदै ‘विसू विसू’ भनेर कराउने रहेछन् । त्यो भनेको ‘विच्याट’बाट पनि पैसा दिन मिल्ने भनेको दृश्यले सम्भ्रान्त माग्नेहरू रहेछन् भन्ने लाग्यो । ठाउँअनुसारको काम त गर्नैपर्यो । त्यसकारण तिनको माग्ने प्रविधि पनि रमाइलो लाग्यो । यहाँ माग्नेहरूको पनि विच्याट छ । अरू कुनै सामाजिक सञ्जाल चल्दैन चीनमा । यदि आफूलाई अरू सामाजिक सञ्जाल चलाउनुपर्यो भने भीपीएन डाउनलोड गर्नुपर्ने रहेछ, तैपनि भनेको ठाउँमा चल्दैन तर ‘विच्याट’ भने जहाँ पनि चल्दो रहेछ । हामीलाई एक–दुई दिनपछि बानी पर्दै गयो । कहाँ के गर्नुपर्छ भन्ने कुरा थाहा भयो । विदेशीहरूलाई निकै ठग्ने रहेछन् । बार्गेनिङ निकै गर्नुपर्ने रहेछ । हामीले व्यापार गर्दा पनि २० रुपैयाँ लिनका लागि असी रुपैयाँबाट सुरु गर्नुपर्ने जस्तो रहेछ, तर किन्नेहरू सबैमा यो लागू हुँदैन । हामीले समान किन्न जाँदा पनि निकै बार्गेनिङ गर्नुपर्ने रहेछ नत्र ठगिने डर उत्तिकै ! त्यसैकारण पनि हामी निकै सजग भयौँ ।

    फेरि खानाकै कुरा गरौँ, धेरै साथीहरूले भनेको सुनेको हँु, ग्वान्जाउमा ‘नेपाली खाना खान पाइन्छ’ भनेर । कुनमिङमा प्रायः नेपाली नपुग्ने भएकाले चाइनिज खाना खानुको विकल्प थिएन । तथापि, खाना पारखीका लागि यो सहर प्रख्यात रहेछ । हाम्रो दश दिने कुनमिङको बसाइ हरेक दिन केही न केही नयाँ कुरा सिक्दैमा बित्यो । सातौँ दिन हामीले बहुराष्ट्रिय कम्पनीका सपिङ कम्प्लेक्स वालमार्ट र म्याकडोनल्स देख्यौं । हामी अब ढुक्क भयौ, बेलुकाको खानामा चिनियाँ हरक लिनु परेन, म्याकडोनल्स जिन्दावाद ।

    अर्को रमाइलो पक्ष उनीहरू बेलुका ५ बजे खाना खाइसक्दा रहेछन् । अनि सडकमै ठाउँ–ठाउँमा बनाइराखेका एक्सरसाइज गर्ने स्थानमा परिवारै मिलेर गीत बजाएर नाच्ने गरेको दृश्य पनि निकै रमाइलो लाग्यो । हामीलार्ई पनि नाचुँनाचुँ लागेको थियो तर अर्काको देश भाषा बुझिँदैन के भन्ने हुन् भनेर हेरेर मात्र चित्त बुझायौँ । अर्को रोचक पक्ष भनेको त्यहाँ रूखबिरुवालाई निकै माया गर्दा रहेछन् । बाटोमा रोपिएका रूखहरूमा काठको टेको लगाएर राखिएका छन्, देख्दा नै रमाइलो लाग्ने दृश्य थियो त्यो । बच्चाजस्तै माया गर्ने रहेछन् बिरुवालाई । सडकपेटीमा लगाइएका फूलहरूको पनि उत्तिकै स्याहार गर्दा रहेछन्, त्यसैले त बाह्रैमास फूल फुलेका छन् । कहीँकहीँ त प्लास्टिकका फूलहरू पनि राख्दा रहेछन् । जसरी पनि सहरलाई सुन्दर बनाउने उनीहरूको अभियान निकै राम्रो लाग्यो ।

    व्यापार मेलाको प्रचार पनि त्यहाँ भव्यसाथ गर्दा रहेछन् । सहरका मुख्य चोकहरूमा ठूला होडिङ बोर्डमा व्यापार मेलाको विज्ञापन देखाउँदै गरेको दृश्य निकै राम्रो लाग्यो । सुन्नमा आएको थियो अन्तर्राष्ट्रिय मेलामा सरकारले सबैलाई मेला अवलोकन गर्न उर्दी जारी गर्छ । एक दिन त सरकारले सार्वजनिक बिदा दिँदोरहेछ । व्यापार प्रवद्र्धन गर्न यो राम्रो अवसर सरकारले नै प्रदान गर्नु राम्रै हो । व्यापारमा यस्तो सुखद स्थिति नेपाल सरकारले कहिले गर्ला सोचनीय छ । कुनमिङको व्यापार मेलाबाट धेरै कुरा सिक्ने अवसर मिल्यो । हामीले नेपालमा उपयोग गर्ने कहाँ । यही मेलामा सरकारी खर्चमा आएमा हाम्रा अधिकारीहरूलाई पिकनिकभन्दा रमाइलो अवसर रहेछ, व्यापारीहरूको व्यापार भाँडमै जाओस् । उनीहरूलाई के–को चिन्ता ! यात्रामा धेरै राम्रा नराम्रा विषयमा थाहा हुन्छ । धेरै कुरा सिक्न पनि सकिन्छ । नयाँ ठाऊँ, नयाँ परिवेशको अवलोकन गर्न पायौँ । विडम्बना, चाहेर पनि कुनमिङको ऐतिहासिक स्थानहरूमा घुम्न सकिएन । फेरि त्यस्तै अवसर पारेर यहाँका स्टोन फरेस्टलगायत ताल तलैयाको भ्रमण गर्ने धोको छ । अहिलेलाई बाईबाई कुनमिङ । १२ खरीबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology