बर्दिया, २० भदौ । बढैयाताल डान्सिङ एन्ड सिङ्गिङ आइडलको ग्रान्ड फिनालेमा डान्सिङतर्फ रितु सापकोटा र गायनतर्फ रमित रसाइली प्रथम हुनुभएको छ । मुनलाइट डान्स एकेडेमी गुलरिया बर्दियाको आयोजनामा बढैयाताल–६, मैनापोखरस्थित सुनगाभा रेस्टुरेन्ट एन्ड पार्टी प्यालेसमा भएको ग्रान्ड फिनालेमा दुवै विधाका विजेतालाई नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको हो ।
डान्सिङ विधातर्फ रितु सापकोटा प्रथम हुँदै नगद ४० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । त्यस्तै दिपिसा बास्तोला दोस्रो हुँदै ३० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र तथा दिब्या सुनार तेस्रो हुँदै २० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
डान्सिङ विधामा पहिलो राउण्डमा ६५ जना प्रतिस्पर्धी सहभागी भएका थिए । फाइनलमा पुगेका प्रतिस्पर्धीमध्ये उत्कृष्ट प्रदर्शन गर्दै रितु, दिपिसा र दिब्याले क्रमशः प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नुभएको हो । कार्यक्रममा डान्स अनुशासनतर्फ कल्पना सुनारलाई र बेस्ट डान्सरतर्फ मोनिका थारुलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको अडिसन संयोजक भरत सुनारले जानकारी दिनुभयो ।
डान्सिङ विधाको निर्णायकमा डान्स डाइरेक्टर नवराज सुवेदी र डान्सर सगुन शाही रहनुभएको थियो । कार्यक्रमलाई सफल बनाउन अडिसनका म्यानेजर जमुना डाँगीले महत्वपूर्ण साथ दिनुभएको आयोजकले जनाएको छ ।

त्यस्तै गायन विधातर्फ रमित रसाइली प्रथम हुनुभएको छ । उहाँले २५ हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो । सामुयाल सलामी मगर दोस्रो हुँदै २० हजार रुपैयाँ तथा अल्केश थारु तेस्रो हुँदै १५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
गायन विधामा १५ जना प्रतिस्पर्धी सहभागी भएका थिए । गायनतर्फको निर्णायकमा चर्चित गायक उमेश मुस्कान र शिज जिएम रहनुभएको कलाकार तथा उद्घोषक किरण विरहीले जानकारी दिनुभयो ।

प्रतिभाको खोजी, कला–संस्कृतिको संरक्षण तथा नयाँ पुस्ताका कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले स्थानीय प्रतिभालाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ । ग्रान्ड फिनाले कार्यक्रममा मिडिया पार्टनर सगरमाथा गन्तव्य डटकम, नेपालगन्ज, फोटो तथा भिडियोग्राफी पार्टनर एक्सलेन्ट डिजिटल फोटो स्टुडियो नेपालगन्ज बाँके र संरक्षणमा बढैयाताल गाउँपालिका बर्दिया रहेको थियो ।


