कैलाली, कैलालीका पूर्वी क्षेत्रका स्थानीय तह टीकापुरमा अस्थायी कोरोना अस्पताल सञ्चालनको तयारीमा लागेका छन् । देशभरि पछिल्लोपटक कोरोना सक्रमितको संख्या बढेपछि टीकापुर अस्पतालसँगको सहकार्यमा कैलालीका १३ मध्ये सात स्थानीय तह अस्पताल सञ्चालनका लागि तयारीमा लागेका हुन् ।
पछिल्लो समय दैनिक रुपमा नेपालमा पनि कोरोना संक्रमण दिनप्रतिदिन बढदै गएको हुनाले यसको विकल्प खोज्न लागेको स्थानिय तहले जानकारी गराएका छन् । कैलालीको पूर्वी भेगबाट धनगढी बिरामी पठाउँदा समस्या भएपछि स्थानीय तहका प्रमुख अस्पताल सञ्चालनको तयारीमा जुटेका हुन् ।
शुक्रबार टीकापुर अस्पताल विकास समितिको समन्वयमा जानकी गाउँपालिकामा बसेको बैठकमा स्थानीय प्रमुखबीच सहमति भएको थियो । स्थानीय तहसहितको सर्वदलीय बैठकले टीकापुर अस्पतालमा रहेको १२ श्ययाको आइसोलेसन कक्ष अपुग हुने देखिएकाले टीकापुरस्थित सिटी हलमा थप ३० श्ययाको अस्थायी कोरोना अस्पताल सञ्चालन गर्ने निर्णय गरेको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताउनुभयो । “कोरोना अस्पताल सञ्चालनका लागि सबै स्थानीय तहले आवश्यक बजेट व्यवस्था गर्नेछौँ”, चौधरीले भन्नुभयो, “संक्रमितको संख्या बढ्दै गएकाले उपचारको पूर्वतयारीमा जुटेका हौँ”, उहाँले बेडमात्र होइन भेन्टिलेटरको व्यवस्था गर्न बजेट छुट्याउन तयार रहेको बताउनुभयो । अहिले टीकापुर अस्पतालमा एउटा पनि भेन्टिलेटर छैन । सात स्थानीय तहका नागरिकले सेवा लिन धनगढीभन्दा टीकापुर अस्पताल सहज हुन्छ ।
बैठकले टीकापुर अस्पतालका मेसु डा जितेन्द्र कँडेललाई अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने बजेटको लागत अनुमान बनाउने जिम्मा दिएको टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिनुभयो । “अस्पतालका मेसु कँडेलले अस्पताल सञ्चालन गर्न आवश्यक पर्ने सामग्री र बजेटको योजना ल्याएपछि हामी सात स्थानीय तह खर्च गर्न तयार छौँ”, रावलले भन्नुभयो ।
