(Wednesday 28th of October 2026)
`

कृषि सामाग्री कम्पनी धनगढीको सटरमा व्यापारीको रजाइँ

  •  जीवन बिष्ट
  • सगरमाथा गन्तब्य
  • 13.8K
    SHARES

    ‘भाडा तिर्न आग्रह गर्दा गर्दै हामी हैरान भइसकेका छौँ । उहाँहरूको सजिलोको लागी हामीले बैैंकिङ र नगद दुवै तरीकाबाट भुक्तानीको व्यवस्था मिलाएको छौँ। एकै पटक तिर्न गाह्रो भए रकम घटाउँदै जानुस् समेत भनेका थियौँ तर उहाँहरूले बेवास्ता गरिरहनू भएको छ,’कार्यालय प्रमुख बोगटीले भने ।

    सटर भाडा बापतको रकम तिर्न पटक–पटक पत्र पठाउँदा पनि व्यापारीहरूले रकम बुझाएका छैनन् । ‘हामीले सात–आठ पटक पत्र नै पठाइसक्यौँ । रकम तिर्न भन्दै हात जोड्दै पसलमै पुग्छु म कतिपयको त घर सम्मै पुग्नु पर्छ । तिर्छौँ मात्रै भन्नुहुन्छ उहाँहरूले तिर्नुहुन्न,’कर्मचारी चन्द्र प्रसाद भट्टले भने ।

    (कार्यालयले व्यापारीहरूलाई पठाएको ताकेता पत्र )


    सम्झौता सकिएको डेढ वर्ष बित्दा पनि बुझाएनन् भाडा

    कृषि सामाग्रीले २०७७ वैशाख १८ गते २ वर्षका लागी व्यापारीहरू सँग १७ सटर भाडाको सम्झौता गरेको थियो । सम्झौतामा प्रत्येक महिना भाडा रकम बुझाउने र दुई वर्ष पछि १० प्रतिशतका दरले भाडा बढाइने उल्लेख थियो । सम्झौता अवधि २०७९ वैशाख १८ गते सकिएको छ । सम्झौता सकिएको डेढ वर्ष बढी बित्दा पनि व्यापारीहरूले भाडा चुक्ता गरेका छैनन् । व्यापारीहरूले नटेरे पछि कृषि सामाग्रीले प्रहरी प्रशासनलाई गुहार मागेको छ ।

    ‘हाम्रो आग्रहलाई बेवास्ता गरेपछि हामी प्रशासनको सहयोग लिन बाध्य छौँ। गत आइतबार जिल्ला प्रहरी कार्यालय र सोमवार जिल्ला प्रशासन कार्यालयले व्यापारीहरूलाई बोलाएर छलफल गरेको छ। हामीले कानुनी बाटो रोजीसकेकाछौँ,’धनगढी प्रमुख बोगटीले भने ।

    यसरी भाडा नबुझाउनेहरू युनिक स्पोर्टका सञ्चालक सुशीला रानाले १७ लाख ६० हजार ७ सय ७५,निङ्लाशैनी फेन्सी स्टोर सञ्चालक पदम बोहराले १५ लाख २६ हजार ८३,व्लुस्टार बेबी सप सञ्चालक शेर सिंह रावलले दुई सटरको २८ लाख २८ हजार ६ सय ५३ रुपैयाँ,एटुजेड बेबी सप सञ्चालक विष्णुदेव पाण्डेले १४ लाख ७ रुपैयाँ तिरेका छैनन् ।
    यस्तै आस्का सु–सेन्टर सञ्चालक पुष्करराज भटले १३ लाख ३९ हजार ९ सय ८७,प्याराडाइज सञ्चालक लाल सिंह रावतले १३ लाख १० हजार ३ सय ५२ रुपैयाँ,वैष्य फेमस लिक्वायर वाइन सपका सञ्चालक एकेन्द्र खड्काले १२ लाख ८७ हजार ३ सय ५६ रुपैयाँ तिर्न बाँकी रहेको कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले जनाएको छ ।

    भण्डारी सु–सेन्टर सञ्चालक प्रशान्त भण्डारी ९ लाख ९२ हजार ६ सय ६८, सहारा फेन्सी सञ्चालक टेकराज पाण्डेयले ७ लाख २८ हजार ३ सय ३५ रुपैयाँ,आरडी फेन्सी स्टोर सञ्चालक रञ्जित ढुङ्गेलले दुई सटरको १० लाख ४५ हजार ६८ रुपैयाँ,आँचल चस्मा सेन्टर तथा आँचल फेन्सी स्टोर सञ्चालक राजेन्द्र प्रसाद जोशीले पनि दुई सटरको ५ लाख ८३ हजार ५ सय ३२ रुपैयाँ,आयुष अटो सञ्चालक परशुराम बानियाले ३ लाख ४६ हजार ८३ रुपैयाँ,निहारीका मोबाइल ग्यालरी सञ्चालक सन्तोष मण्डल धानुकले २ लाख २३ हजार ७ सय ९९ रुपैयाँ र पाठक चस्मा सेन्टर पुष्पा कुमारी पाण्डेयले १ लाख १५ हजार १ सय ३ रुपैयाँ तिरेका छैनन् ।

    कसले कति तिर्न बाँकी ?

    हच्कियो कृषि सामाग्री,खोल्यौँ टेन्डर
    व्यापारीहरूले समयमै भाडा नतिरे पछि आजित वनेको कृषि सामाग्री कम्पनी लिमिटेडले अन्ततः सटर भाडामा दिन बोलपत्र आह्वान गरेको छ । लिमिटेडको केन्द्रीय कार्यालयले भाद्र ३० गते गोरखापत्रमा प्रकाशित गरेको सूचनामा मासिक न्यूनतम भाडा ४ लाख ८६ हजार ७ सय १० रुपैयाँ रहने गरी १७ सटर ६ वर्षका लागी भाडामा लिन १ लाख ७२ हजार २ सय १५ बोलपत्र जमानत रकम तोकिएको छ । असअघि सम्म भने प्रादेशिक कार्यालयले आफैँ व्यापारीहरू सँगै सोझै सम्झौता गरी सटर भाडमा दिइरहेको थियो ।

    ‘व्यापारीहरूले नियमित रूपमा भाडा रकम बुझाएको भए अहिले बोलपत्र आह्वान गर्नुपर्ने जरुरी नै थिएन। उहाँहरूले नटेरेपछि हामीले टेन्डर प्रक्रिया रोज्यौँ,’प्रादेशिक कार्यालय प्रमुख बोगटीले भने,‘भाडा चुक्ता नगरेका व्यापारीहरूलाई टेन्डर प्रक्रियामा सहभागी हुन नपाइने भनेका छौँ।’

    यस्तो छ वोलपत्र

    व्यापारी भन्छन् : ‘बिचल्लीमा छौँ’
    कृषि सामाग्री कम्पनी लिमिटेडको सटरमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले भने कोरोना महामारी पछि कारोबार ठप्प हुँदा भाडा रकम तिर्न नसकेको बताएका छन् । ‘व्यापारघाटाका कारण हामीले रकम तिर्न सकेनौँ। कोरोना महामारीको समयको भाडा छुट दिने भन्ने कुरा पनि थियो हामीले त्यो पनि पाएनौँ।यस अघि पनि भाडा नतिरेको हैन तिरेकै हो अहिले पनि हामीले तिर्ने वनेकै छौँ। तर कार्यालयले हामीलाई बिचल्ली पार्न खोज्यौँ,’आस्का सु–सेन्टर सञ्चालक पुष्करराज भट्टले भने ।

    आफूहरूलाई जानकारी नै नदिएर कार्यालयले टेन्डर आह्वान गरेर बिचल्ली पार्न खोजेको उनको आरोप छ । ‘हामीलाई यहाँबाट भगाउने प्रयास भइरहेको छ । बोलपत्र खुली सकेको छ । हाम्रो व्यापार नै नभएपछि कसरी भाडा तिर्ने हामीले ? हामीलाई केही समय थप चाहिन्छ यहीँ व्यापार गर्छौँ र भाडा तिर्छौ,’उनले भने ।

    व्यापार व्यवसायमा लागेको मन्दीका कारण नै भाडा बुझाउन नसकेको अर्का व्यापारी एकेन्द्र खड्काले बताए । ‘कारोबारमा गिरावट छ ।कहिले काहीँ त साता दिन सम्म पनि व्यापार शून्य हुन्छ । यो अवस्थामा हामीले कसरी भाडा तिर्ने ? बैङ्कको व्याजले च्यापेको बेला कृषि सामाग्रीबाट पनि हामीहरूको घाटी थिच्ने काम भयो ।हामी पनि व्यवसाय छोडेर विदेश पलायन हुने अवस्थामा पुगेका छौँ,’खड्काले भने ।
    भाडा नतिरेको विषयलाई लिएर प्रहरी प्रशासनमा उजुरी हालेर कार्यालयले दुःख दिइरहेको उनीहरूको गुनासो छ । ‘हामीलाई प्रहरी प्रशासन सम्म पु¥याउनु गलत हो । भाडा तिर्छौँ भनेकै छौँ। व्यापारी साथीहरू सबै जना छलफल गरेर निष्कर्षमा पुग्छौँ,’अर्का व्यापारी शेर सिंह रावलले भने ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology