(Wednesday 28th of October 2026)
`

नयाँपन दिन खोज्दै गाउँपालिका अध्यक्ष चौधरी

  • सगरमाथा गन्तब्य
  • 10.9K
    SHARES

    नेपालगन्ज : कैलालीको जानकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गणेश चौधरी गाउँपालिकाको गाडी चढ्दैनन् । उनी प्रायःजसो मोटरसाइकलमै सवार भेटिन्छन । उनी अहिलेसम्म गाडी चढेर एकपटक धनगढी र अर्को एकपटक नेपालगञ्जसम्म मात्रै गएका छन । उनले जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्न धनगढी र काठमाण्डौं जाने क्रममा नेपालगञ्जसम्म मात्रै गाडी प्रयोग गरेको बताए ।
    ‘मेरो सोच गाउँपालिका भित्र सकेसम्म गाडी चढ्न हुँदैन भन्ने हो’ उनले भने–‘अतिआवश्यक भए मात्रै प्रयोग गर्छु होला । त्यो पनि अहिलेसम्म गरेको छैन ।’
    उनी आफूले गाडी नचढ्दा दुरुपयोग नहुने र इन्धनको समेत बचत हुने बताउँछन । उनले यस कार्यलाई स्रोत व्यवस्थापन भनेका छन् ।
    उनको अर्को प्राथमिकताको विषय समय व्यवस्थापन हो । उनी समयमै गाउँपालिका पुग्छन । बैठक, सभा समारोह समयमै सुरु गर्छन । सेवाग्राहीका गुनासा समयमै सुन्छन । त्यसको समाधानको उपाय समयमै दिन्छन । ‘जे गर्नुछ समयमै गर’ उनले भने–‘समयले हामी कसैलाई पर्खेर बस्दैन ।’
    उनले गाउँपालिका कार्यालयमा ‘जंक फुड’ निषेध गरेका छन । उनले खाजाका रुपमा चाउमिन, चाउचाउ, मःमः लगायतका खाजालाई बन्देज लगाएका छन । उनले नीति तथा कार्यक्रममै परम्परागत खानेकुरालाई प्रवद्र्धन गर्ने उल्लेख गरेका छन । उनले गाउँपालिका भित्र बैठक, सभा समारोह हुँदा खाजाका रुपमा ढिक्री र सेलरोटी खुवाउन निर्देशन दिएका छन् ।
    ढिक्री थारु र सेलरोटी पहाडीया समुदायको परम्परागत खानेकुरा हो । उनी परम्परागत खानेकुरासँग आफूहरुको पहिचान जोडिएको बताउँछन । ‘आयातित खानेकुराले हाम्रो परम्परागत खानेकुरा बिस्थापित भयो’ उनले भने–‘हामी सबै मिलेर पहिचान जोगाउनु पर्छ ।’
    उनले गाउँपालिकामा कार्यक्रम गर्ने गैरसरकारी संघ संस्थालाई समेत खाजाका रुपमा परम्परागत खानेकुरालाई मात्रै प्राथमिकता दिन भनेका छन ।
    उनले चाउमिन उत्पादनमा गाउँपालिकाले कुनै तालिम नदिने बताए । उनले बरु त्यस्तो तालिम ढिक्री र सेलरोटीको व्यवसायीकरणमा दिइने जानकारी दिए ।
    उनले आफ्नो कार्यकाल शिक्षा र स्वास्थ्यको विकासमा समेत केन्द्रित रहने बताए । उनले गाउँपालिकाका बासिन्दा शिक्षा र स्वास्थ्यमा छिमेकी टीकापुर र लम्कीचुहा नगरपालिकाप्रति आश्रित रहेको बताए । उनले पाँच वर्षे कार्यकालमा शिक्षा र स्वास्थ्यमा निकै धेरै सुधार गरिने दाबी गरे ।
    उनले आधारभूत तहसम्मको शिक्षाका लागि गाउँपालिकाको कुनै पनि विद्यार्थी अन्यत्र नजाने गरी काम शुरु गरेको जानकारी दिए । उनले यसका लागि विद्यालय मर्ज गर्ने नीति लिइने बताए । उनका अनुसार गाउँपालिकामा निजी र सामुदायिक गरी ४८ विद्यालय छन । ती मध्ये भौगोलिक रुपमा नजिक रहेका विद्यालयलाई मर्ज गरिनेछ ।
    ‘कुनै विद्यालयमा १५ जना विद्यार्थी छन भने त्यहाँ पर्याप्त शिक्षक छन । कुनै विद्यालयमा विद्यार्थी प्रशस्त छन तर शिक्षक छैन’ उनले भने–‘यो असमानतालाई अन्त्य गर्नुपर्छ ।’
    उनले पाँच वर्षभित्र १५ शैयाको अस्पताल संचालन गर्ने बताए । उनले त्यो अस्पताल सिकलसेलका बिरामीलाई लक्षित गरेर खोलिने जानकारी दिए । सिकलसेल थारु समुदायमा मात्रै लाग्ने एक प्रकारको वंशाणुगत रोग हो । थारु समुदायमा धेरै व्यक्तिमा सिकलसेल भेटिएको छ । उनीहरुले राम्रोसँग उपचार पाउन सकेका छैनन् ।
    उनले कृषकका लागि कृषि एम्बुलेन्स सञ्चालन गर्ने बताए । गाउँपालिकामा उत्पादन भएको तरकारी काठमाण्डौंसम्म ढुवानी गर्न मिल्ने गरी कृषि एम्बुलेन्स सञ्चालन गरिने जानकारी दिए । उनले कृषकको जीवनस्तरमा सुधार ल्याउन कृषि एम्बुलेन्स प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
    ‘कृषि एम्बुलेन्सले कृषि क्षेत्रमा बिचौलियाको अन्त्य हुनेछ’ उनले भने–‘कृषकले आफ्नो उत्पादन आफै बेच्न पाउने छन ।’ उनले वडाका समस्या वडामै समाधान गर्ने नीति लिएका छन । उनले वडाध्यक्षलाई आफ्नो क्षेत्राधिकार भन्दा बाहेकका काम मात्रै गाउँपालिकामा सिफारिस गर्न निर्देशन दिएका छन । उनले सामान्य विकास निर्माणका काम माग गर्न गाउँपालिका नपुग्न भनेका छन । ‘सामान्य काममा लागि समेत गाउँपालिका धाउने परिपाटी अन्त्य गर्नुपर्छ’ उनले भने–‘हामीले नीति बनाउने हो कार्यान्वयन वडाबाटै हुन्छ ।’
    उनले विगतमा स्थापित भएका बेथितिलाई नियन्त्रण गर्न कठिनाई भए पनि आफू सफल हुने विश्वास व्यक्त गरे । चौधरीले नागरिक उन्मुक्ति पार्टीबाट जितेका हुन । उनी पूर्वपत्रकार समेत हुन । उनले झण्डै दुई दशक भन्दा बढी समय टीकापुरमा रहेर पत्रकारिता गरेका थिए । उनले आफू पत्रकारिताबाट आएका कारण पनि काम गर्न निकै सहज भैरहेको बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology