नेपालगन्ज – संविधान दिवसको अवसरमा नेपाल कृषि श्रमिक संघले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । संघले जेनजी आन्दोलनमा शाहदत्त प्राप्त भएका मृतकहरुको सम्झनामा मैनबत्ती बाल्ने तथा अन्तरक्रिया लगायतका विभिन्न कार्यक्रमका माध्यमबाट दिवस मनाउने तयारी रहेको संघका केन्द्रिय अध्यक्ष पुर्ण बहादुर केसीले जानकारी गराउनुभयो । कार्यक्रममा संघको इतिहास, महत्व र वर्तमान सन्दर्भमा छलफल गरिने जनाएको छ । नेपालको तराई–पश्चिमी भागमा प्रचलित कमैया प्रथाको अन्त्य गर्ने उद्देश्यले २०५२ साल माघ महिनामा कमैयाहरूको संगठन गठन गरिएको थियो । त्यसलाई नै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को दोस्रो महाधिवेशनले थप सुदृढ गर्दै २०५३ साल असोज ३ देखि ५ गतेसम्मको राष्ट्रिय भेलाबाट नेपाल कृषि मजदुर संघको औपचारिक स्थापना भएको थियो । संघलाई श्रम कार्यालयमा २०५९ साल फागुन २० गते दर्ता गरिएपछि हली, गोठाला, खेताला, कृषि फर्मका श्रमिकदेखि लिएर विभिन्न ज्यालादारी तथा करारमा काम गर्ने मजदुरहरूलाई समेट्दै आएको छ ।
६२/६३ को जनआन्दोलन हुँदै संविधानसभाबाट २०७३ साल असोज ३ गते संविधान जारी भएपछि हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवसका रूपमा मनाइँदै आएको छ । तर भर्खरै भदौ २३ र २४ गते सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध भएको आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिले संविधानको सार्थकतामा नै प्रश्न खडा भएको अध्यक्ष पूर्ण बहादुर केसीले टिप्पणी गर्नुभयो । उहाँका अनुसार मानव, भौतिक र आर्थिक क्षतिको मारमा श्रमिक वर्ग विशेषगरी पीडित भएका छन् । यस्तै सन्दर्भमा संघको स्थापना दिवस पनि परेको भन्दै अध्यक्ष केसीले कृषि श्रमिकहरूको अधिकार सुनिश्चित गर्न अझ सशक्त रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले देश तथा विदेशमा कार्यरत सम्पूर्ण कृषि श्रमिकहरूको सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
हाल नेपाल कृषि श्रमिक संघले २२ जिल्लामा आफ्नो जिल्ला कमिटी गठन गरिसकेको छ । संघका अध्यक्ष केसीका अनुसार संगठनले श्रमिक अधिकार र सामाजिक न्यायको पक्षमा निरन्तर आवाज उठाइरहेको छ । यसरी संविधान दिवस र स्थापना दिवस दुबैको अवसरमा नेपाल कृषि श्रमिक संघले श्रमिक अधिकारलाई बलियो बनाउँदै देशभरका मजदुरलाई संगठित गर्ने संकल्प सार्वजनिक गरेको छ ।
