(Thursday 29th of October 2026)
`

जेनजी प्रदर्शनमा अहिलेसम्म ३४ जनाले गुमाए ज्यान, ३२१ जना उपचाररत

  • सगरमाथा गन्तब्य
  • 5.8K
    SHARES

    नेपालगन्ज, २६ भदौं – जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३४ पुगेको हो । प्रदर्शनका क्रममा घाइते भएका १ हजार ३६८ जनामध्ये ३२१ जना अस्पतालमा उपचाररत छन् । हालसम्म ९४९ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
    मन्त्रालयका अनुसार काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा ८, सिभिल अस्पतालमा ६, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २, काठमाडौंको बयोधा अस्पतालमा २ र त्रिवि शिक्षण अस्पताल, विराटनगरको बिर्तासिटी अस्पताल, बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।
    अस्पतालपिच्छे संकलन गरेको विवरणअनुसार राष्ट्रिय ट्रमा सेन्टरमा १९ वर्षीय श्रीयाम चौलागाईंको मृत्यु भएको छ । तर उनको यकिन ठेगाना खुलेको छैन । बाँकेका २५ वर्षीय सुलभज श्रेष्ठ, काठमाडौं कीर्तिपुर नगरपालिकाका ४१ वर्षीय बुद्धिबहादुर तामाङ छन् । यस्तै २९ वर्षका गौरव जोशीको भने ठेगाना खुल्न सकेको छैन ।
    मृत्यु हुनेमा सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका– ६ का २९ वर्षका योगबहादुर श्रेष्ठ रहेका छन् । काठमाडौंको बनस्थली बस्ने २६ वर्षका ईश्वतबहादुर अधिकारी, उदयपुर बेलका नगरपालिकाका–४ का २९ वर्षीय सन्तोष विक र काठमाडौं महानगरपालिकाका–८ का १९ वर्षका टोखा आयुष थापा छन् । यस्तै निजामती अस्पतालमा मृत्यु हुने अर्घाखाँचीका १८ वर्षका मिसल सारु मगर, धनकुटाका ६० वर्षीय छत्रमान कुथुमी, गोरखाका २२ वर्षीय विमल भट्ट, सिरहाका ३२ वर्षका विजय चौधरी, दोलखाका २१ वर्षका अभिषेक चौलागाईं छन् । यस्तै २४ वर्षका काशी आलम ठाकुरको भने ठेगाना खुल्न सकेको छैन । मृत्यु हुनेमा एभरेष्ट अस्पतालमा ललितपुर महानगरपालिका–७ का ३० वर्षका बिनोद महर्जन, पाटनढोका बस्ने काभ्रे तेमाल गाउँपालिका–७ का दिलनारायण तामाङ र दुवाकोट भक्तपुर स्थायी ठेगाना भएका २३ वर्षका योगेन्द्र न्यौपाने छन् ।
    फ्रन्टलाइन अस्पतालमा संखुवासभाका २१ वर्षका प्रविन कुलङ, काठमाडौं चाबहिलका २१ वर्षका उमेश महत, काठमाडौं गौशला बस्ने १७ वर्षका निकिता गौतमको मृत्यु भएको छ ।
    यस्तै बयोधा अस्पतालमा उपचारको क्रममा २८ वर्षका अर्जुन भट्ट र २३ वर्ष देव कुमार सुवेदी छन् । तर उनीहरूको ठेगाना खुलेको छैन । काठमाडौं मेडिकल कलेजका (केएमसीमा) उपचारको क्रममा सौरम किशोर श्रेष्ठ र सुवास पोखरेलको मृत्यु भएको छ । तर उनीहरूको ठेगाना अझै खुल्न सकेको छैन । त्रिवि शिक्षण अस्पतालमा एकजनाको मृत्यु भएको छ । मृतकको विवरण खुल्न सकेको छैन । त्यस्तै बालसुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ । उनीहरूको पनि विवरण खुलेन सकेको छैन ।
    सोमबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि जेनजी प्रदर्शनकारीले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । त्यस क्रममा घाइते भएकाहरूलाई प्रदर्शनकारीले अस्पताल पु¥याएका थिए । कतिपयको बाटैमा र कतिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । टाउकोमा गोली ताकेर हानिएको छ, पोस्टमार्टम गर्न दिँदैनौं ः मृत्तकका आफन्त हाल काठमाडौं उपत्यकाका विभिन्न अस्पतालबाट पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सक विभागमा ३२ वटा शव पुगेका छन् । जसमध्ये एक जना महिला रहेको फोरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले जानकारी दिए । उनका अनुसार २ जनाको अझै परिचय खुल्न सकेको छैन । डा. चौधरीले घटनास्थलबाट प्रहरीले उठाएको मुचुल्काका आधारमा २९ जनाको विवरण प्राप्त भए पनि यसकै शव भनेर यकिन गर्न भने नसकिएको बताए । अहिले यी शव विभागको फ्रिजमा राखिएको छ । चौधरीका अनुसार हालसम्म पोस्टमार्टम प्रक्रिया सुरु भएको छैन । प्रहरी प्रशासनबाट पोस्टमार्टम गर्नका लागि पत्र फोरेन्सिक विभाग पत्र आउनुपर्छ । त्यसपछि मात्रै पोस्टमार्टम प्रक्रिया अगाडि बढ्नेछ । ‘अहिले शव सुरक्षित साथ राख्न भनिएको छ । सबै शव फ्रिजमा राखेका छौं,’ डा. चौधरीले भने, ‘पत्र आएपछि मात्रै पोस्टमार्टम प्रक्रिया सुरु गर्छौं ।’ तर, मृतकका आफन्तले भने पोस्टमार्टम गर्न नदिने बताएका छन् । प्रहरीको गोली लागेर मृत्यु भएका धनगढीका गौरव जोशीका मामा शिशिर भट्टले मृतकको पोष्टमार्टम गर्न नदिने बताए । ‘हाम्रा बच्चाहरूको मृत्यु प्रहरीको गोली लागेर भएको भन्ने थाहा छ । शरीर चिर्न दिदैनौं,’ भट्टले भने ।
    गोली लागेर मृत्यु भएका व्यक्तिका आफन्तहरू एकजुट भएर पोष्टमार्टम गर्न नदिने बताएका हुन् । ‘प्रहरीले ताकी ताकी टाउकोमा गोली हानेको छ । देशका साहदत प्राप्त गरेका हाम्रा बच्चाहरूको शरीर कसरी चिर्न दिन्छौं ? यसमा सबै सहमत छौं,’ भट्टले भने । मृत्युको कारण पत्ता लगाउन शवको पोस्टमार्टम गरिन्छ । मृत शरीरको भित्री र बाहिरी अंगहरूको जाँच गरिन्छ । बाहिरी जाँच गर्दा पहिले उसले लगाएको लुगाको बारेमा वर्णन गरिन्छ ।
    त्यसपछि लुगा खोलेर जनरल जाँच जस्तै शवको उचाइ, तौल, चोट, मृत्युपछि हुने परिवर्तन हातखुट्टाको अवस्था, नाक–मुखबाट केही तरल पदार्थ आएको छ कि भनेर नोट गरिन्छ । त्यसपछि क्रमशः छाती, पेट, टाउको खोलिन्छ र सबै अंगको जाँच गर्ने गरिन्छ । केही चोट वा रोग छ कि भनेर जाँच गरेपछि मृत्यु हुनुको कारण पत्ता लगाइन्छ ।
    मृत्युको कारण निर्धारण गर्न बाहिरी चोट, भित्री चोट र प्रयोगशालाको रिपोर्ट हेरेर थाहा पाउन सकिन्छ । यी सबै जाँच सकिसकेपछि सम्पूर्ण अंग पुनः सही ढंगले शवमा मिलाएर बाहिरबाट सिलाएर प्याक गरेर परिवारलाई विधिपूर्वक बुझाइन्छ ।
    तर, यसरी पत्ता नलागेमा मृतकको पहिचान खुलाउने तीन आधार हुन्छ– फिङ्गर प्रिन्ट डेन्टल एक्जामिनेसन र डीएनए परीक्षण ।
    गोली लागेको केसमा पनि नियमित जसरी नै पोर्टमार्टम गरिनेछ । गोली कुन एंगलबाट लागेको छ, इन्ट्री पोइन्ट कुन हो, एक्जिट पोइन्ट कुन हो, शारीरिक इन्फर्मेसन पनि संकलन गरिने डा. चौधरीले बताए ।
    उनका अनुसार यो विषय अन्तर्राष्ट्रिय इस्यू बनिसकेका कारणले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै पोस्टमार्टम गर्नुपर्ने हुन्छ, जस कारण अन्तर्राप्ट्रिय रूपमा मान्य होस् । डा. चौधरी भन्छन्, ‘के आधारमा यो व्यक्ति भनियो भन्ने वैज्ञानिक आधार स्पष्ट भएपछि मात्र आफन्तलाई शव जिम्मा लगाउँछौं ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology