बाँके । मुस्लिम धर्मावलम्बीहरूको महान पर्व ईद उल फित्र (ईद) पर्व भव्यका साथ सम्पन्न गर्दैछन । ईदको अवसरमा सरकारले सोमवार देशभरी सार्वजनिक बिदा दिएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्येको एक हो ।
ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसँगै मनाइन्छ । ईद उल–फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ । हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् ।
ईद पर्वमा अल्लाह (भगवान) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट अर्थात आज (सोमवार) मनाउने यसबर्ष परेको थियो । सोही अनुसार आज बाँकेको विपी चोकमा रहेको इदगाहमा सामुहिक नमाज पढि ईद मनाएका छन् । ईदको अवसरमा विभिन्न पार्टी, संघ संगठनले खानेपानी, हलुवा, चाउचाउ, चिसो लगायतका खानेकुरा वितरण गरेका थिए ।









