(Friday 30th of October 2026)
`

बाँकेमा महिला जनप्रतिनिधि र पत्रकारबिच मैत्रीपूर्ण फुटबल हुने

  • सगरमाथा गन्तब्य
  • 6.7K
    SHARES

    नेपालगन्ज, चैत – बाँकेमा महिला जनप्रतिनिधि र महिला पत्रकार बिच हुने मैत्रीपुर्ण फुटबल प्रतियोगिताको तयारी तिव्र गतिमा अगाडी बढेको छ । आगामी चैत १५ गते शुक्रबार नेपालगन्ज रंगशालामा हुने मैत्रीपुर्ण फुटबलको तयारी बारेमा आइतबार छलफल भएको छ ।
    छलफलमा आयोजक, जनप्रतिनिधि महिला र पत्रकारहरुको प्रतिनिधिहरुबिच छलफल भएको थियो । अन्तरालको आयोजनामा आगामी वैशाख ५ देखि १५ गते सम्म नेपालगन्ज रंगशालमा प्रथम लुम्बिनी कप अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको आयोजना हुँदैछ । प्रतियोगिता अघि मैत्रीपुर्ण फुटबलको आयोजना गर्न लागिएको हो ।
    आइतबार भएको छलफलका क्रममा लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफले, मीना श्रेष्ठले प्रतियोगितालाई सफल बनाउन मैत्रीपुर्ण फुटबलले महत्वपुर्ण सन्देश प्रवाह गर्ने बताउनु भयो । जिल्ला समन्वय समिति बाँके उपप्रमुख सीता कार्कीले प्रतियोगिताले महिला खेलाडीहरुको आत्मविश्वास बढाउन र अवसर प्रदान गर्ने भन्दै यसलाई सफल बनाउन सबै क्षेत्रसँग सहकार्यको आवश्यकता रहेको बताउनु भयो ।
    कोहलपुर नगरपालिका उप–प्रमुख संगीता सुवेदीले महिला सशक्तिकरणसँगै महिला फुटबल खेलाडीलाई उच्च स्तरको अवसर प्रदान गर्नमा प्रतियोगिता सहयोग बन्ने बताउनु भयो ।
    खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले लुम्बिनी कप महिला फुटबल बाँकेमा हुनु गर्वको विषय भएको बताउँदै प्रतिभावान खेलाडी उत्पादनमा प्रतियोगिताले सहयोग गर्ने बताउनु भयो । राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिष थारु, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय लगायतको सहभागिता रहेको थियो ।
    नेपालगन्ज उपमहानगरपालिकाको निवर्तमान उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा भएको छलफलमा बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्री, लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको प्रचार प्रसार संयोजक निरज गौतम, सचिवालय प्रमुख रमेश मल्ल र समन्वय तथा परिचालन उपसमिति संयोजक तेजबिक्रम शाहको सहभागिता रहेको थियो ।
    पहिलो पटक नेपालगन्ज रंगशालामा हुन लागेको प्रतियोगितामा भारतका दुई र नेपालका ६ सहित आठ टीमको सहभागिता रहनेछ । सहभागी टीममा नेपाल र भारतका ख्यातीप्राप्त र चर्चित खेलाडीहरुको सहभागिता रहने जनाइएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology