जनक चौधरी – बर्दिया : बर्दियाको गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) र न्याय समितिको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। एक्सन एड नेपाल र कमैया महिला जागरण समाज नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा ओसीएमसीको भूमिका, प्रभावकारिता, र प्रदान गरिने सेवाबारे छलफल भयो। कार्यक्रममा जानकारी गराइएअनुसार, नेपालकै सबैभन्दा पुरानो ओसीएमसी बर्दिया जिल्ला अस्पतालमा २०६८ सालदेखि सञ्चालनमा छ। यस केन्द्रले स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श, कानुनी परामर्श, सुरक्षा, सुरक्षित आवास, र उपचार सेवा प्रदान गर्दै आएको छ।
ओसीएमसी बर्दियाका फोकल पर्सन सपना बाठा मगरले केन्द्रको सेवा प्रभावकारी भए पनि तालिम प्राप्त जनशक्तिको अभावका कारण सेवा प्रवाहमा कठिनाइ भएको बताउनुभयो। कानुनी परामर्श दिने क्रममा किशोरी र महिलाहरूले अझै धेरै चुनौती भोग्नुपरेको उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा गेरुवा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी थारु, मधुबन नगरपालिकाकी उपमेयर अनिता चौधरी, गुलरिया नगरपालिकाकी उपमेयर सावित्रा गौतम, महिला तथा बालबालिका शाखाका प्रमुखहरू, मेलमिलापकर्ता, पत्रकार, र अन्य सरोकारवालाहरूको उपस्थिति थियो।
अन्तरक्रिया कार्यक्रममा हिंसा, बालविवाह, लागू पदार्थ दुव्र्यसन, र जबरजस्तीकरणका घटनाहरू न्यूनीकरण गर्न पालिका स्तरमा समन्वयात्मक भूमिका आवश्यक रहेकोमा जोड दिइयो। एक्सन एड नेपालका कार्यक्रम संयोजक शिव चौधरीले हिंसा रोकथामका लागि आठवटै पालिकाका उपमेयर, महिला तथा बालबालिका शाखा, र महिला सेवा केन्द्रहरूको नियमित बैठक आवश्यक रहेको बताउनुभयो।
कार्यक्रमको अध्यक्षता कमैया महिला जागरण समाज नेपालकी अध्यक्ष कृष्णी थारुले गर्नुभयो। उहाँले सेवा केन्द्रलाई प्रभावकारी बनाउन पालिकाहरूबाट आर्थिक स्रोत संकलन गरी व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रम कमैया महिला जागरण समाजका कार्यक्रम संयोजक रमेश कुमार चौधरीले सञ्चालन गर्नुभएको थियो।
