नेपालगन्ज – नेपालगन्जको अति व्यस्त गणेशमान चोकदेखि चारबाहिनी चोक जोड्ने सडकलाई एकतर्फी (वान–वे) गराइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा केही दिन अघि सम्पन्न बैठकले उक्त सडकलाई एकतर्फी गराउने निर्णय गरेको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पुस्कर पन्तले जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको निर्णयसँगै अहिले कार्यान्वयनमा ल्याइएको बताए । ‘हरेक दिन बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म यो रुटमा एकतर्फी सवारी साधन चल्न पाउनेछन्,’ उनले भने । सडकमा एकतर्फी सवारी साधन चलाउने गरी ट्राफिक चिन्ह लगायत निर्माण गर्ने काम भइरहेको नेपालगन्ज उपमहानगरपालिका नगर प्रहरी प्रमुख सुर्यबहादुर बोगटीले बताए ।
उनका अनुसार सवारी साधनहरु गणेशमान चोकबाट चारबाहिनी चोकतर्फ जान पाउनेछन् । तर चारबाहिनी चोकबाट गणेशमान चोकतर्फ सवारी साधनलाई प्रवेश गर्न दिइने छैन । ‘चारबाहिनी चोकबाट गणेशमान चोकतर्फ जान चाहने सवारी साधनलाई शितलनगर रोड भएर जान दिने व्यवस्था मिलाइएको छ,’ नगर प्रहरी प्रमुख बोगटीले भने । सवारी साधनको चापले गर्दा पटक–पटक जाम हुने र सडक नै अस्तव्यस्त हुन थालेपछि एकतर्फी बनाउन आवाज उठ्न थालेको थियो । सर्वसाधारणको आवागमनलाई सहज बनाउन यस्तो निर्णय गरिएको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बताएका छन् । ‘विशेष गरी बिहान ९ बजेदेखि कार्यालय समयसम्म यो सडक अत्यधिक रूपले जाम हुने गरेको पाइयो, त्यस कारण सहज होस् भन्नका लागि एकतर्फी गराइएको हो,’ विष्टले भने ।
