नेपालगन्ज । नेपाल पत्रकार महासंघको केन्द्रिय निर्वाचनका लागि विवादित बन्दै गएको सदस्यता शुद्धिकरणमा विवाद देखिएको छ ।
असोज १२ गतेका लागि सार्वजनिक गरिएको पत्रकार महासंघको निर्वाचन प्रयोजनको लागि प्रकाशित मतदाता नामावलीमा विभेद गरिएको भन्दै आइतवार पत्रकार महासंघ बाँके शाखाको कार्यालयमा तालाबन्दी गरिएको हो ।
प्रेस चौतारी नेपाल र प्रगतिशिल पत्रकार संघ बाँकेले संयुक्तरुपमा महासंघको कार्यालयमा तालाबन्दी गरेका छन् । नयाँ सार्वजनिक गरिएको मतदाता नामावलीमा चरम लापरवाही र विभेद गरिएको भन्दै तालाबन्दी गरिएको प्रगतिशिल पत्रकार संघका बाँके संयोजक तिलक गाउँलेले बताउनुभयो ।
एकै स्थानका शिक्षक, कर्मचारी र गैरसरकारी संस्थाकर्मीको एउटा पक्षधरको नाम समावेश भएर आउँदा आफ्ना पक्षका सबैको नाम काटिएको भन्दै चौतारी र प्रगतिशिल पत्रकार संघले तालाबन्दी गर्नु परेको उहाँले बताउनुभयो । गाउँलेले बाँकेको सदस्यता सूची नसच्याएसम्म निर्वाचन हुन नदिने पनि बताउनुभयो ।
महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले राजिनामा दिएपछि कार्यबाहक अध्यक्ष रमेश बिष्टले नयाँ मिति तय गर्दै निर्वाचन समितिलाई सिफारिस गरे अनुसार शनिवार मात्र महासंघको नयाँ मतदाता नामावली सार्वजनिक गर्नुभएको थियो । उहि र उस्तै प्रबृत्तिका एक जनाले सदस्यता पाउने र अर्काले नपाउने भिन्नता देखिएपछि आन्दोलनमा उत्रिन बाध्य भएको प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष दुर्गा रोकायले बताउनुभयो । हाम्रो माग पुरा नभएसम्म कुनै पनि हालतमा ताला खोलिने छैन उहाँले भन्नुभयो । एउटै प्रकृतिका सदस्यमा पनि एक जनाले पाउने एक जनाले नपाउने कहि हुन्छ उहाँले भन्नुभयो । हामीले शुद्धिकरण गर्दा नियम संगत गर्न भनेका थियो तर यहाँ त राजनीति चलखेल भयो अध्यक्ष रोकायले भन्नुभयो । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि आधा दर्जन पटक समय टोकिए पनि समयमा निर्वाचन हुन सकेको छैन ।
