(Friday 30th of October 2026)
`

ढकिया बुन्ने तालिम सिकेपछि महिला खुसी

  • सगरमाथा गन्तब्य
  • 5.1K
    SHARES

    खजुरा, बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ की भावना चौधरीले एक महिनाको ढकिया तथा गुन्द्रीलगायत सामाग्री बनाउने तालिम प्राप्त गर्नुभयो । तालिम प्राप्त गरेसँगै उहाँ अहिले एकदम खुसी हुनुभएको छ ।
    “बजारमा बेच्न राखेका ढकियालगायतका सामाग्री हेर्दा आफै पनि बनाऊँ लागेर आउँथ्यो, तर के गर्ने आफूसँग बुन्ने ढङ्ग र सिप नै थिएन”, चौधरीले भन्नुभयो, “अहिले घरेलु कार्यालयले हामीलाई एक महिनाको ढकियालगायतका सामाग्री बुन्ने तालिम दियो र सिक्ने मौका पाएँ, अहिले आफै सबै बुन्छु, एकदम खुसी लागेको छ ।”
    एक महिनाको तालिममा आफूले स्थानीयस्तरमा पाइने काँस, मुज, थाकललगायतबाट ढकिया, चकटी, टोपी, डस्टविन, डाइनिङ म्याट, टिम्याट, भुर्की, फूलदानी, हटकेस, पेन होल्डरलगायतका करिब १२÷१३ प्रकारका सामाग्रीहरू बनाउन सिकेको चौधरीले बताउनुभयो । उहाँले तालिमबाट आफूमा एकदमै आत्मविश्वास बढेको र भविष्यमा यिनै सामाग्रीहरू बनाएर बिक्री गर्ने लक्ष्य लिएको बताउनुभयो ।
    बैजनाथ ३ कै सविता थारुले पनि तालिमबाट धेरै नै सिप सिकेको बताउनुभयो । उहाँले एक महिनाको तालिमबाट विभिन्न प्रकारका सामान बनाउन राम्रो सिप सिकेको भन्दै आफू एकदम उत्साही बनेको बताउनुभयो । “एक महिनाको आधारभूत तालिमबाट मात्र पनि यति धेरै सिप सिक्न सक्यौँ, मनमा आत्मविश्वास र उत्साह झन् धेरै जागेको छ”, उहाँले भन्नुभयो, “एड्भान्ससहितको थप तालिम सिक्न पाए त अझै निखारिने थियौँ। होला, घरेलु कार्यालयसँग थप तालिमको पनि व्यवस्था गरिदिनुहुन अनुरोध गरेका छौँ ।”
    उहाँले यस्ता सामग्री बनाउनका लागि पुरै समय पनि दिनु नपर्ने, घरमै बसेर जतिबेला फुर्सद मिल्छ उतिबेला बनाउन मिल्ने । साँझ, बिहान, दिउँसो, राती आफूलाई जतिबेला थोरै पनि फुर्सद मिल्छ उतिबेला नै बुन्न मिल्ने हुँदा अत्यन्तै सहज भएको बताउनुभयो । “जतिबेला खाली समय मिल्छ उतिबेला नै बुन्न सकियो, घाँसपात जाँदा, घरमै बस्दा तथा गाइगोठाला जाँदासमेत बुन्न मिल्ने हुँदा हामीलाई अत्यन्तै सहज भएको छ”, उहाँले भन्नुभयो ।
    स्थानीयस्तरमै पाइने काँस, मुज तथा थाकलजस्ता वस्तुको कच्चा पदार्थबाट बनाउन मिल्ने यस्ता सामाग्री बनाउने तालिम पश्चात् स्थानीय महिलाहरूमा आत्मविश्वास बढ्नुका साथै घरमै बसेर सिकेको सिपमार्फत् आयआर्जनसमेत गरी आत्मनिर्भर बन्न मद्दत पुग्ने देखिएको छ ।
    घरेलु तथा साना उद्योग कार्यालय बाँकेले बैजनाथ गाउँपालिका वडा नं. २ का २० जना महिलाका लागि स्थानीयस्तरमै पाइने काँस, मुज तथा थाकलबाट निर्मित ढकियालगायतका सामाग्री बुन्ने तालिम प्रदान गरेको हो ।
    कार्यालयका अधिकृत सुशील ढकालले बैजनाथ गाउँपालिका वडा नं. २ का २० जना महिला दिदीबहिनीहरूका लागि एक महिने ढकियालगायतका सामाग्री बुन्ने तालिम प्रदान गरिएको बताउनुभयो । उहाँले महिलाहरूलाई सिप प्रदान गरेर स्थानीयस्तरमै सहजरुपमा पाइने कच्चा पदार्थको प्रयोग गरी विभिन्न सामाग्रीहरू उत्पादन गरी बिक्री वितरणमार्फत् उहाँहरुको आयआर्जनको बाटो खोल्ने र घरमै बसेर पनि फुर्सदको समयमा सामाग्रीहरू बनाउन मिल्ने खालको तालिम प्रदान गरिएको बताउनुभयो ।
    बेरोजगारीलाई अन्त्य गर्ने उद्देश्यका साथ हातमा सिप प्रदान गरेर स्वरोजगारमार्फत महिलालाई आय आर्जनमा आत्मनिर्भर बनाउनका लागि तालिम सञ्चालन गरिएको ढकालले जानकारी दिनुभयो । तालिम सिकेर सिपयुक्त उद्यमी मात्र नभएर दक्ष प्रशिक्षकसमेत उत्पादन गर्ने तालिमको उद्देश्य रहेको र पछिसम्म पनि दक्ष उद्यमी तथा व्यवसायीलाई कार्यालयले आवश्यकता अनुसार सहयोग गर्ने कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology