नेपालगन्ज : बाँकेको खजुरामा सोमवार अन्तर मावि महिला पुरुष दौड प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासंघ बाँकेको आयोजनामा अन्तर मावि महिला पुरुष दौड प्रतियोगिता हुने भएको हो ।
४६ औं पुष्पलाल स्मृति दिवसको अवसरमा सोमवार खजुराको सि गाउँमा अन्तर मा.वि. महिला तथा पुरुष १५०० मिटर दौड प्रतियोगिता आयोजना गरिएको आइतवार नेपालागन्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
बाँके जिल्लाका करिब २५ विद्यालयको सहभागिता रहने यस प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेले रु ३,०००, द्वितिय स्थान प्राप्त गर्नेले रु २०००, तृतीय स्थान प्राप्त गर्नेले रु १००० का साथै प्रमाण पत्र र मेडलहरु प्राप्त गर्ने नेपाल खेलकुद महासंघ बाँकेका अध्यक्ष होम बहादुर सुनारले बताउनुभयो । सम्पुर्ण टिम सहभागीलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनेछ आयोजक कमिटिका सचिव सञ्जीत ओलीले बताउनुभयो ।
दौड प्रतियोगिता अवधिका लागि स्वास्थ्य र सुरक्षा लगायतको खेल प्राविधिक सहित तयारी भएको छ । सि गाउँ स्थित अमर माविबाट सुरु हुने प्रतियोगिता साहुपुर चोक परिक्रमा गरि पुनः अमर मा.वि आई टुंगिनेछ । दौडमा २५ विद्यालयका ५० जनाले भाग लिने छन् । दौड प्रतियोगिता नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य कृष्णा पाठकले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ भने कार्यक्रममा खेलप्रेमी, अभिभावक, राजनीतिक दलका पदाधिकारी, बुद्धिजीवि, शिक्षक, विद्यार्थी, पत्रकारलाई निमन्त्रणा गरिएको छ ।
