नेपालगन्ज : यतिबेला देशैभरि वार्ड वार्डमा काँग्रेसको आभियान र नेताहरु प्रश्नै प्रश्नको घेरामा छन र छौं तर हामी १६–२६ मात्र समुदायसंग कांग्रेस होइनौं हामी आजीवन समुदायसंगै बस्ने त्यो कांग्रेस हो । समुदायको प्रश्न, किन घटिरहेको छ कांग्रेसको जनाधार ? किन मुर्जाएको छ कांग्रेसको रूख ? किन हतास छन् कार्यकर्ता ? जनजाति, थारू, मादेशी, मुस्लिम, दलित, माहिला र आम नागरिक किन तर्किएको छ ? किन भागेको छ दलित र थारु कांग्रेससँग ? सबैभन्दा ठूलो आधार क्षेत्र मधेश र थरुहटमा कांग्रेस किन हरेक दिन कमजोर हुँदै गएको छ ? यतिखेर बिस्फोट भइरहेका जातीय, क्षेत्रीय, वर्गीय आकांक्षालाई कांग्रेसको जवाफ के हो ? सबैभन्दा मुख्य प्रश्न कांग्रेस कस्तो पार्टी हो र कसको पार्टी हो ? यो अभियानले यी प्रश्नको जवाफ खोज्नै पर्छ । अनि मात्र यो अभियान उपलब्धि मुलक हुन्छ ।
कांग्रेस नेपालको इतिहासमा केवल एउटा पार्टीको नाम होइन इतिहास हो, समग्र प्रजातान्त्रिक र अग्रगामी आन्दोलनकै नाम हो । ६ दशकअघि दलितको बस्तीमा कथित उच्च जातिले भात खाने र छूवाछुतविरुद्धको अभियान चलाउने, बाहुनको हातमा अनौ थमाउने, महिलाले हलो जोत्ने अभियान चलाउने अनि छ दशकअघि दलित, मधेसी, थारुलाई महामन्त्री बनाउने, यो देशको प्रधानमन्त्री एउटा थारुको छोरो पनि बन्न सक्छ भनेर घोषणा गर्ने आज यी समुदायहरु पार्टीसँग किन शंकापूर्वक हेर्छ ? जनजाति, महिला, थारु, मधेसी सबैको हक र अधिकारका निम्ति लड्ने र त्यो समुदायबाट राज्य सञ्चालनमा पहिलो पटक प्रतिनिधित्व गराउने पार्टीसँग आज त्यही समुदाय किन अविश्वास गर्छ ? तीन–तीन पटक लोकतन्त्रको लडाइँको सफल नेतृत्व गरेको र सबैभन्दा पहिले संविधानसभा मार्फत संविधान निर्माण गर्न आवाज उठाउने पार्टी किन पछाडि धकेलिँदैछ ? एउटा थारुको छोरा पुर्ब केन्द्रिय सदस्य २०१५ को पहिलो आम चुनावीबाट निर्वाचित संसद राधाकृष्ण थारुको नेतृत्वमा जसको जोत उसको पोत नारा दिने र भूमि सुधारको अगुवाइ गर्ने कांग्रेससँगै विपन्न वर्ग किन आश्वस्त हुन सकेको छैन ? मुलुकको सबैभन्दा गौरवशाली इतिहास भएको पार्टीको वर्तमानचाहिँ किन गरिमामय छैन ? आखिर कांग्रेसले त्यस्ता के गल्ती ग¥यो तकि चारैतिरबाट कांग्रेसलाई प्रहार गरिरहेका छ्न ? यसकारण समुदायको बिचमा कांग्रेस यी प्रश्नसँग भागेर होइन, सामना गरेर मात्रै कांग्रेसको पुनरुत्थान सम्भव छ । अन्यथा मुलुक संघीयतामा गएपछि बन्ने क्षेत्रीय पार्टीहरू ढाकिया, घण्टी र अन्य स्वतन्त्र दलहरुले मूलतः कांग्रेसकै आधार अटाउने सम्भावना छ, किनकि पहिरो त्यही पहाडमा जान्छ जुन कमजोर छ । यो भौगोलिक सत्य राजनीतिमा पनि लागू हुन्छ भन्ने प्रमाण मधेस र थरुहटमा कांग्रेसको अवस्था हो ।
हामी र हाम्रो पुस्ताहरु सत्ताका कारण होइन, संघर्ष र निष्ठाप्रतिको समर्पणका कारण प्रभावित भएर कांग्रेसमा लाग्यो । हाम्रो पुस्ताले चिनेको कांग्रेस सहिदको कांग्रेस थियो । जनतालाई रैतीबाट नागरिक बनाएको कांग्रेस थियोे । जेल र निर्वासनमा असंख्य दुःख भोगिरहेकाहरूको कांग्रेस थियो । प्रजातन्त्रका निम्ति हाँसीहाँसी जेल, नेल र मृत्युदण्डसमेत वरण गरिरहेकाहरूको कांग्रेस थियो । समाज परिवर्तनका पक्षमा र निरंक्ुश अन्यायका विरुद्ध निस्वार्थ भावले लड्नेहरूको संगठित स्वरूप थियो कांग्रेस । त्यो बीपी कोइराला, गणेश मान सिहं, कृष्ण प्रसाद भट्टराई, राधाकृष्ण थारुको कांग्रेस थियो, जोसँग सत्ता थिएन, नैतिक बल थियो । प्रजातन्त्रप्रति अटल आस्था र त्यसका लागि जुनसुकै मूल्य तिर्ने नैतिक साहस थियो । दुःखपूर्वक भन्नुपर्छ, सडक, जेल र निर्वासनमा समेत कहिल्यै नहारेको कांग्रेसले आहिले हारहरु बेहोर्नु पर्ने अवस्था छ । यो हारको कारण समुदाय संग कांग्रेसको अभियानले समीक्षा गर्नैपर्छ । जय नेपाल ।
