(Saturday 25th of July 2026)
`

बालमैत्री स्थानीय शासनका लागि जानकी गाउँपालिकामा बाल अधिकार समितिको महत्वपूर्ण निर्णय

  • सगरमाथा गन्तब्य
  • 1.8K
    SHARES

    नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा पालिका स्तरीय बाल अधिकार समितिको बैठक सम्पन्न भएको छ । पालिका स्तरीय बाल अधिकार समितिको आयोजनामा तथा सामाजिक विकास मञ्च (एसडिएफ) बाँके र वल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा सम्पन्न बैठकले बालअधिकार संरक्षण र बालमैत्री स्थानीय शासन प्रवद्र्धनसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।
    बैठकले जानकी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारीस्वरूप आवश्यक ५१ वटा सूचक पूरा गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । त्यसका लागि पहिलो चरणमा बालबालिकाको वास्तविक अवस्था समेट्ने बाल प्रोफाइल तयार गर्न आगामी आर्थिक वर्षका लागि १० लाख रुपैयाँ बजेट व्यवस्थापन गर्न गाउँपालिकासमक्ष माग गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।
    यस्तै, समितिमा रिक्त रहेका पदहरूमा पदपूर्ति पनि गरिएको छ । पत्रकार भगतराम थारू, बालक्लबका प्रतिनिधि हेमा यादव तथा मेलमिलाप संस्थाकी प्रेमा रोकालाई समितिमा मनोनयन गरी जिम्मेवारी प्रदान गरिएको समितिले जनाएको छ ।


    बैठकले आर्थिक अवस्था अत्यन्त कमजोर भएका, अपाङ्ग तथा अभिभावकको आयआर्जनको स्रोत नभएका सात जना बालबालिकालाई राहतस्वरूप हरेक परिवारलाई १० हजारका दरले आर्थिक सहयोग प्रदान गरिएको छ । सहयोग प्राप्त गर्ने बालबालिकामा रोहित लोध, रिहाना राई, गोविन्द कादु, राधिका यादव, नेहा पाल, शिवानी लोनिया र निजाम खाँ रहेका छन् । उनीहरूको परिवारको दैनिकी कठिन भएकाले शिक्षा, स्वास्थ्य तथा आधारभूत आवश्यकतामा सहयोग पु¥याउने उद्देश्यले उक्त राहत उपलब्ध गराइएको समितिले जनाएको छ ।
    साथै, समितिको नियमित बैठक हरेक महिनाको अन्तिम शुक्रबार आयोजना गर्ने निर्णय गरिएको छ ।


    समितिले बालबालिकाको समग्र अवस्था पहिचान गरी प्रभावकारी योजना तथा कार्यक्रम सञ्चालन गर्न बाल प्रोफाइल निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । बालअधिकार संरक्षण र बालमैत्री वातावरण निर्माणमा स्थानीय सरकार, सरोकारवाला संस्था तथा समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै लैजानुपर्नेमा बैठकले जोड दिएको छ । जानकी गाउँपालिकाका उपाध्यक्ष रामप्यारी यादवको अध्यक्षतामा सम्पन्न भएको बैठकमा जानकी गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख रामअचल धोबी, महिला तथा वालवालिका शाखा प्रमुख कल्पना गाहा, सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरी, जानकी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, बालक्लबका पदाधिकारी तथा पत्रकार लगायतको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology