नेपालगन्ज : पोषण मैत्री स्थानिय शासन र बालमैत्री स्थानिय शासन सम्बन्धि स्थानिय सरकार र सरोकारवालाहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम शनिवार दोश्रो दिन पनि जारी रहेको छ । सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेको आयोजना, वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा जानकी गाउँपालिकाका स्थानिय सरकार र सरोकारवालाहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम दोश्रो दिन पनि जारी रहेको हो ।
क्षमता अभिबृद्धि तालिममा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, बाल क्लवका पदाधिकारी, पत्रकार तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको छ । जानकी गाउँपालिकामा बाल मैत्री स्थानिय शासनका सुचकहरु बारे तालिमका प्रशिक्षक तथा बाल मैत्री स्थानिय शासन मञ्चका संयोजक अशोक खनालले जानकारी गराउनुभयो । जानकी गाउँपालिकामा बाल मैत्री घोषण र दिगोपन व्यवस्थापनका लागि रणनितीक योजना बनाउन आवश्यक रहेको प्रशिक्षक खनालले बताउनुभयो । प्रशिक्षक खनालले बालवालिकाको हितमा का मगर्न योजना, निती, संरचना र कार्यपक्रिया(व्यवहार) अपरिहार्य रहेको बताउनुभयो । जानकी गाउँपालिकालाई बालमैत्री बनाउन बालअधिकारसम्बन्धी जनचेतना मुलक कार्यक्रम, सडक नाटक, अन्तरक्रिया कार्यक्रम तथा प्रचारप्रसार व्यापक गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । जानकीमा शिक्षाको कमिले बाल मैत्री तथा पोषण मैत्री पालिका हुन नसकेको सहभागि सरोकारवालानिकायले बताएका छन् ।

कार्यक्रममा सहभागीहरूलाई दोश्रो दिन पनि समूहगत छलफलमार्फत जानकी गाउँपालिकाको समुदायस्तरमा बालमैत्री स्थानिय शासन र पोषण मैत्री स्थानिय शासनमा देखिएका चुनौतीहरूको बारेमा छलफल गराईएको थियो । ३ दिने तालिमको दोश्रो दिन जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय, जानकी गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख रामअचल धोबी, महिला तथा वालवालिका शाखा प्रमुख कल्पना गाहा, सामाजिक विकास मञ्च बाँकेका एनसिजी अफिसर विवेक मलासी, सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरी, जानकी गाउँपालिकाका वडा अध्यक्षहरु, जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, बालक्लबका पदाधिकारी तथा पत्रकार लगायतको सहभागिता रहेको थियो ।



