(Friday 30th of October 2026)
`

खजुरामा छैठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड हुँदैं

  • सगरमाथा गन्तब्य
  • 8.2K
    SHARES

    नेपालगन्ज, ५ माघ – बाँकेको खजुरामा आइतबारदेखि पालिका स्तरीय छैठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । खजुरा गाउँपालिका खेलकुद विकास समिति बाँकेको आयोजना, जनता नमुना माध्यमिक विद्यालयको संचालन तथा व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो ।
    माघ ७ देखि १० गते सम्म चल्ने प्रतियोगिताको खेलहरु शुक्र भलिबल स्टेडियममा हुनेछन् ।
    प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको आयोजक खजुरा गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष छवि विष्टले बताउनु भएको छ ।
    पालिका स्तरीय छैठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा मावि तह(कक्षा ९–१२) मा १५ खेल, आधारभुत तह(कक्षा ६–८) मा ५ खेल र आधारभुत तह(कक्षा १–५) मा ३ खेल समावेश गरिएको विष्टले जानकारी गराउनु भएको छ ।
    मावि तहमा भलिबल, कबड्डी, चेस र एथलेटिक्सका खेलहरु समावेश गरिएको छ । एथलेटिक्सको ट्रयाक अन्तर्गत १०० सय मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर र ३००० मिटर, ४ गुणा १०० र ४ गुणा ४०० मिटर रिले दौड समावेश गरिएको छ । फिल्ड तर्फ हाइजम्प, लङजम्प, ट्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपट खेलमा विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
    आधारभुत तह(कक्षा ५–६) मा एथलेक्सको १०० मिटर, ४ गुणा १०० मिटर र ८०० मिटर दौड, फिल्डमा लङजम्प र सटपट खेल समावेश गरिएको छ ।
    आधारभुत तह(कक्षा १–५) सम्म ४ गुणा ५० मिटर रिले, १०० मिटर दौड, लङजम्पमा प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।
    यसैगरी चेस प्रतियोगितामा खजुरा गाउँपालिकाभित्र रहेका विद्यालयहरुबाट एक–एक जना छात्र–छात्राहरुको सहभागिता रहने छ ।
    खजुरा गाउँपालिकाको आयोजनामा हुन लागेको प्रतियोगिता पहिलो पटक शुक्र भलिबल स्टेडियममा हुन लागेको हो । यसअघि व्यवस्थापन गर्ने विद्यालयमा प्रतियोगिता आयोजना हुँदै आएको थियो । यस पटक प्रतियोगितामा पालिकाभित्र रहेका निजी तथा संस्थागत गरी करिब ७० विद्यालयहरुको सहभागिता रहने आयोजकले बताएको छ ।
    क्याप्सनः छैठौ अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजक टिमको शुक्रबार भएको बैठक । बैठकमा विभिन्न उप–समिति संयोजकहरुको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology