(Friday 30th of October 2026)
`

१३९ औं प्रहरी जवान समूहको नेपालगन्जमा दीक्षान्त समारोह

  • सगरमाथा गन्तब्य
  • 6.9K
    SHARES

    नेपालगन्ज : कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतद्वारा सञ्चालन गरिएको १३९ औं समूहको प्रहरी जवानको आधारभूत तालिम आइतबार सम्पन्न भएको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतले नेपालगञ्जमा दीक्षान्त समारोहको आयोजना गरेर आधारभूत तालिम प्राप्त गरेका तीन सय जना जवानलाई दीक्षित गरेर कार्यक्षेत्रमा पठाएको हो ।
    कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआईजी भीमप्रसाद ढकालले आधारभूत तालिम प्राप्त गरेका जवानहरुलाई दर्जयानी चिन्ह प्रदान गरेर कार्यक्षेत्रमा प्रवेश गराउनुभयो । उहाँले सोही अवसरमा तालिममा उत्कृष्ट स्थान प्राप्त गर्ने प्रशिक्षार्थी र राम्रो तालिम दिने प्रशिक्षकलाई प्रमाणपत्र र पुरस्कार वितरण गर्नुभयो । तालिम पाएका प्रहरी जवानहरुलाई सो अवसरमा सम्बोधन गर्दै कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी ढकालले समयको परिवर्तनसँगै नयाँ प्रकृतिका आपराधिक क्रियाकलाप बढ्दै गएकोले प्रहरीलाई चुनौती बढेको जनाउँदै प्रहरीले पनि नयाँ तरिकाले अनुसन्धान र नियन्त्रण कार्य गर्नुपर्ने बताउनुभयो ।


    उहाँले तालिम प्राप्त गरेर कार्यक्षेत्रमा प्रवेश गर्नुहुने सबै प्रहरीलाई आम नागरिकको सेवालाई मुख्य केन्द्र बनाएर काम गर्न निर्देशन दिनुभयो । डिआइजी ढकालले देशको अति दुर्गमदेखि अति सुगम सबै स्थानमा राज्यको उपस्थिति देखाउने माध्यम प्रहरी मात्रै भएको जनाउँदै प्रहरीले सरकारको प्रतिनिधि भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले कर्णाली प्रदेशको सुरक्षालाई चुस्त दुरुस्त बनाउन सुरक्षित कर्णाली भन्ने अभियान सञ्चालन गरिएको जनाउँदै सो अभियानको सफलताका लागि काम गर्न प्रदेशका सबै प्रहरीसँग आग्रह गर्नुभयो ।
    कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगञ्जका समादेशक वरिष्ठ प्रहरी उपरिक्षक सुशीलसिंह राठौरले २०७९ कात्तिक २० गतेबाट सुरु भई दुई सय ३४ दिनसम्म सञ्चालन गरिएको प्रहरी जवानको सो आधारभूत तालिममा १७८ पुरुष र १२२ महिला गरेर ३०० जना प्रशिक्षार्थीले तालिम पूरा गरेको बताउनुभयो ।


    तालिम संयोजक डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको सो कार्यक्रममा नेपाली सेनाका महासेनानी मनोज थापा, सशस्त्र प्रहरी नम्बर ५ विन्दवासिनी वाहिनी मुख्यालयका प्रमुख डिआईजी अभि खत्री, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा लगायत बाँके, बर्दिया र सुर्खेतका प्रहरी प्रमुखहरु, दिक्षित प्रहरीका परिवार तथा अभिभावक लगायतको उपस्थिति थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology