नेपालगन्ज : बिभेदकारी शिक्षा ऐन बिरुद्ध प्याब्सन, एनप्याब्सन र हिसानद्धारा बाँकेका जिल्ला प्रशासन कार्यालय, स्थानिय तह र शिक्षा विकास तथा सम्मन्वय ईकाईमा ज्ञापनपत्र पत्र बुझाएका छन् । बुधवार बाँकेका निजी विद्यालयका संचालकहरुले सवै स्थानिय तह र जिल्ला प्रशासन र शिक्षा विकास तथा सम्मन्वय ईकाईमा सयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् । “विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०“ सरोकारवालाका सुझावहरुलाई वेवास्ता गरी तयार गरिएको विभेदकारी शिक्षा ऐन विरुद्ध गम्भिर ध्यानाकर्षण भएको भन्दै उनिहरुले ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका तत्कालिन सचिव श्री रामकृष्ण सुवेदीद्वारा हस्ताक्षरित विद्यमान शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्नका लागि तयार गरिएको विधेयकमा राखिएका कतिपय प्रावधानहरु निजी लगानीका संस्थागत विद्यालयहरु प्रति प्रर्वाग्रही मात्र नभएर संविधान विपरित, अव्यवहारिक र अन्यायपूर्ण समेत भएको निजि विद्यालयहरुको भनाई छ । हाल निजी तथा सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालयहरु नै समस्याग्रस्त रहेको र शैक्षिक गुठी दर्ता तथा सञ्चालन सम्बन्धमा स्पष्टता नभएको अवस्था विद्यमान रहेको नेशनल प्याव्सन जिल्ला समिति बाँकेका अध्यक्ष श्याम बहादुर कुवरले बताउनुभयो ।
प्रस्तावित विधेयकले ५ वर्षभित्रमा निजी लगानीका विद्यालयले आफ्ना सम्पूर्ण दायित्व फरक फरक गरी शैक्षिक गुठीमा रुपान्तरित हुनु पर्ने लगायतका बाध्यात्मक प्रावधान समावेश गरिनु संविधानको भावना विपरित, अव्यहारिक र दुराशययुक्त रहेको स्पष्ट देखिएको उनिहरुको भनाई छ । निजी लगानीका विद्यालयको छाता सङ्गठनको प्रतिनिधित्व हुनु पर्ने विभिन्न समिति तथा उपसमितिहरु समेत वेवास्ता गरी प्रस्ताव भएमा निजी लगानीका विद्यालयहरुको वृद्धि, विकास, सुरक्षा, संरक्षण र सम्बर्द्धन, असंभव मात्र नभई यस्ता विद्यालयहरु बन्द हुने निश्चितप्राय रहेको प्याब्सन बाँकेका अध्यक्ष यमबहादुर राउतले बताउनुभयो ।

अतः उक्त विधेयक संसदमा पेस हुन अगावै हाम्रा सरोकारका प्रावधानहरुको उचित सम्बोधन नभएमा देशैभरी सञ्चालित निजी लगानीका विद्यालयहरु बन्द गरी थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न बाहेक हामीसंग अन्य कुनै पनि विकल्प नरहने व्यहोराका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा समेत कुनै ठोस निकास प्राप्त नभएको खण्डमा केन्द्रीय कार्यसमितिले आफ्ना माग पुरा नभएसम्मका लागि देशैभरीका कम्पनी, निजी गुठी तथा सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालयहरु बन्द गरी अगाडि बढ्ने निर्णय गरी निर्देशन दिए पश्चात यस पालिका अन्तर्गतका विद्यालयहरु केन्द्रको निर्देशन प्राप्त हुनसाथ बन्द हुने विषय ध्यानाकर्षणका लागि ज्ञापत पत्रमा अनुरोध गरिएको छ । शिक्षा विकास तथा सम्मन्वय ईकाईमा आएको ज्ञापनपत्रबारे जस्ताको त्यस्तै शिक्षा मन्त्रालयमा पेश गर्ने शिक्षा विकास तथा सम्मन्वय ईकाईका निमित्त प्रमुख उद्धव श्रेष्ठले भन्नुभयो ।
शिक्षा मन्त्रीसंग यसबारेमा तत्काल समस्याको समाधानका लागि पहल गरिने उहाँले जानकारी गराउनुभयो । ज्ञापनपत्रमा प्यब्सन बाँके, प्याव्सन नगर, एन प्याव्सन बाँके, हिसान बाँकेका अध्यक्षहरुले हस्ताक्षर गर्नुभएको थियो ।
