नेपालगन्ज । पूर्वराजा ज्ञानेन्द्र शाह सोमवार नेपालगन्जको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागी हुनुभएको छ ।
एक महिना नेपालगन्जमा बसेर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमण गर्ने कार्यक्रम सहित पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित सोमवार नेपालगन्जको बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागि हुनु भएको हो । साँझा ५ बजेदेखि सुरु हुने महाआरती साँझा साढे ७ बजेसम्म चलेको थियो । ६ बजे पुग्नु भएका पुर्वराजा ज्ञानेन्द्र समापन सम्म बागेश्वरी मन्दिरमा बस्नुभएको थियो । पुर्वराजा आउने वित्तिकै बागेश्वरी मन्दिरको मुख्य मुख्य मन्दिरमा पुजाआजा गरि महाआरतीमा सहभागी हुनुभएको थियो ।
पूर्व राजा शाहको वैशाख १७ गते जुम्ला भ्रमण, १८ गते बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागी, १९ गते जनतासँग भेटघाट गर्ने र २० गते दिउँसो ३ बजे नेपालगन्जको रामलिला मैदानमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

पूर्वराजाको नेपालगन्जमा हुने नागरिक अभिनन्दनका लागि ५ हजार १ सदस्यीय मूल समिति र १४ वटा उपसमिति बनाइएको छ । राप्रपाका महामन्त्री एवं प्रतिनिधिसभाका सांसद डा. धवल शमशेर राणाको संयोजकत्वमा राजतन्त्र पक्षधर र हिन्दु संघ–संस्थाका प्रतिनिधिलाई समेटेर समिति बनाइएको छ । नितु चन्दको संयोजकत्वमा स्वागत, ओमप्रकाश आजादको संयोजकत्वमा मञ्च व्यवस्थापन, ऋषिराज देवकोटाको संयोजकत्वमा प्रचारप्रसार, नन्दलाल वैश्यको संयोजकत्वमा आर्थिक, तारामान कुँवरको संयोजकत्वमा यातायात, बिन्दु चर्तिमगरको संयोजकत्वमा संघ–संंस्था समन्वय, हुकुम केसीको संयोजकत्वमा स्वयंसेवक र मंगल जीएमको संयोजकत्वमा सुरक्षा उप समिति बनेको छ ।
यस्तै, पवित्रा सुब्बाको संयोजकत्वमा अनुगमन, रुद्र न्यौपानेको संयोजकत्वमा पार्टी परिचालन, मदनराज शर्माको संयोजकत्वमा धार्मिक समन्वय, गौरव चन्दको संयोजकत्वमा प्रचार–प्रसार सामग्री व्यवस्थापन, इन्दिरा शाहीको संयोजकत्वमा स्वास्थ्य र सलाउद्दिन जसगढको संयोजकत्वमा मुस्लिम समुदाय समन्वय उपसमिति बनाएर परिचालन गरिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगन्ज भित्रिएसँगै पुर्व राजाको सवारी सुरक्षा व्यवस्थापनको जिम्मेवारी हिन्दु धार्मिक संगठन नेपाल शिवसेनाले लिएको छ । नेपालगन्जमा हुने कार्यक्रम महा–आरती, नागरिक अभिनन्दन लगायत कार्यक्रममा नेपाल शिवसेनाले सुरक्षा जिम्मेवारी लिएको र सुरक्षा व्यवस्थापन समितिमा ४ सह–संयोजक र १८ सदस्य समिति गठन गरेको सुरक्षा व्यवस्थापन कमिटीका संयोजक मंगल घर्ती मगरले बताउनुभएको छ ।


