नेपालगन्ज : हनुमान जयन्तीको अवसरमा नेपालगन्जमा शोभा यात्रा निकालिएको छ । शोभा यात्राका क्रममा बिहीवार उपमहानगरपालिका वडा नं २ स्थित हनुमानगढीबाट शुरु भएको शोभा यात्रा नेपालगञ्जको बिभिन्न भागको परिक्रमा गरिएको छ । भगवान रामभक्त हनुमानको आजकै दिन माता अञ्जलीको कोखबाट जन्म भएको सम्झनामा चैत पुर्णिमा दिन हनुमान जयन्ती मनाउने परम्परा रहेको छ ।
उक्त शोभा यात्रा धम्बोझी चोक, पुष्पलाल चोक, न्यूरोड, त्रिवेणीमोड, त्रिभुवन चोक र बीपी चोक हुँदै पुनः हुनमानगढी मन्दिरको परिसरमा पुगेर समापन गरिएको थियो । मंगलबारदेखि शुरु भएको जन्मोत्सव कार्यक्रमको आज अन्तिम दिन हो । जन्मोत्सवको कार्यक्रम अन्तर्गत अखण्ड रामायण पाठ अष्टयाम सङ्कीर्तन एवं निशान पूजन गरिएको थियो । बुधवार साँझ भारतको अयोध्याबाट आएका १२ जनाको विशेष टोलीले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्य लगायत कथा प्रवचन भएको थियो । शोभा यात्राका साथै आज शुन्दरकाण्ड पाठ एवं भजन किर्तन, विशाल भण्डारा (महाप्रसाद) र महाआरतीसंगै हुनमान जन्मोत्सवको कार्यक्रम पनि सकिने जनाइएको छ । चैत शुक्ल पुर्णिमाका दिन मनाइने हनुमान जयन्तको अवसरमा निकालिएको शोभा यात्रामा हजारौको उपस्थितीमा रहेको थियो ।
