नेपालगन्ज : सुरक्षीत मातृत्व तथा प्रजनन सेवा लिन पाउने महिलाहरुको आधारभुत अधिकार हो । राज्यले प्रजनन स्वास्थ्य सम्बन्धी नीति, सेवा सुबिधा बनाएतापनि पछिल्लो तथ्यांकअनुसार नेपालमा प्रति १ लाख जीवित जन्ममा १ सय ५० आमाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । गत आर्थिक बर्ष मात्रै लुम्बिनी प्रदेशमा गर्भजन्य र प्रसूतिजन्य कारणले ७४ जना सुत्केरी आमाले ज्यान गुमाएको नर्सिङ अधिकृत सुनिता ज्ञवालीले जानकारी गराउँनुभएको छ । नर्सिङ अधिकृत ज्ञवालीले प्रस्तुत गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशभरमा ४ हजार १ सय गर्भवती घरमै सुत्केरी भए । त्यसमध्येका १४ जना सुत्केरीको मृत्यु भयो । १२ जनाले स्वास्थ्य संस्थामा जाँदाजाँदै ज्यान गुमाए । ९ जनाको स्वास्थ्य संस्थाबाट रिफर गरेर विशेषज्ञ अस्पतालमा जादै गर्दा बाटोमै मृत्यु भयो । लुम्बिनीमा ५ बर्षको समयअवधीमा मात्रै सुत्केरी बन्दा ३ सय २४ जनाको ज्यान गएको नर्सिङ अधिकृत ज्ञवालीले बताउनुभयो । यसैगरी लुम्बिनी प्रदेशमा ४ सय ६ वटा बर्थिङ सेन्टर छन् । शल्यक्रिया दिने २२ अस्पताल छन् । लुम्बिनी, भेरी र राप्ती विज्ञान प्रतिष्ठानमा विशेषज्ञ प्रसूति सेवा छ । सरकारले मातृ मृत्यु घटाउन सरकारी स्वास्थ्य संस्था लगायत केही नीजी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क गरेको छ तर पनि महिलाहरु आमा बन्दा समयमै उपचार नपाएर ज्यान गुमाउछन् । आमा बन्दा २३ प्रतिशत महिलाको अत्यधिक रगत बगेकै कारण मृत्यु हुने गरेको नर्सिङ अधिकृत ज्ञवाली बताउनुहुन्छ ।

महिलाहरुले आफनो स्वास्थ्यका वारेमा खुलेर वोल्न नसक्ने भएकोले उनीहरुको स्वास्थ्यमा धेरै समस्या आउने स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताउनुभयो । उहाँको अनुसार प्रजनन स्वास्थ्यका कुरा होस या अन्य पुरुषको तुलनामा महिला तथा किशोरीहरुलाई समस्या र चुनौतीहरु धेरै नै आउने गरेकाले महिला मैत्री बन्न आवश्यक रहेको स्वास्थ प्रमुख पौडेलले बताउनुभयो ।
उहाँले नेपाल सरकारले गर्भवति महिलाको लागि निशुल्क उपलब्ध गराईरहने आईरन चक्की सेवन नगर्दा रक्तअल्पता हुने बताउँदै लुम्बिनी प्रदेशमा ७३ प्रतिशत गर्भवति महिलाले मात्र आईरन चक्की सेवन गरेको तथ्यांक रहेको जानकारी गराउँनुभयो । समाजमा प्रजजनन् स्वाथ्य शिक्षाको कमी र प्रजनन् स्वाथ्य अवस्थाबारे खुलेर स्वास्थ्यकर्मीलाई नबताउने समस्याले गर्दा सुत्केरी आमा तथा नवजात शिशुले अकालमा ज्यान गुमाईरहेको उहाँको जानकारी गराउँनुभयो ।
यसैगरी कार्यक्रममा सञ्चारिका समुह नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले प्रजनन् स्वाथ्य र अधिकार सरोकारवालाको चासोको बिषय बन्न नसकेकोले सञ्चारकर्माीहरुले यस्ता बिषयलाई उठान गर्न आवश्यक रहेको औल्याउनुभयो । राज्यले लडाई, राजनितीक बिषयमा ज्यान गुमाउने प्रति शोकसभा, सहिद भनेर घोषणा गरिदिन्छ तर देशको लागि नागरिक जन्माउँदा ज्यान गुमाउने सुत्केरी महिला तर्फ राज्यको ध्यान जान नसक्नुपनि गम्भिर बिषय रहेको उहाँले दाबी गर्नुभयो । महिलाहरु गर्भवती तथा सुत्केरी भएकै कारण जागिरबाट हटाईएको भन्दै सबै कुराबाट महिलाहरुलाई हेपाहमा पारिएकोले सञ्चारकर्मीहरुले महिलाका बिषयमा वकालत गरि राज्यको ध्यानाकर्षण गराउन आवश्यक रहेको अध्यक्ष अमृताले बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय राप्ती उपत्यका (देउखुरी) दाङको आयोजना तथा संचारिका समूह नेपाल लुम्बिनी प्रदेशको सहकार्यमा शुक्रवार नेपालगन्जमा गरिएको प्रजनन स्वास्थ्य सम्बन्धी महिला जनप्रतिनीधी, अधिकारकर्मी तथा संचारकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका उपसचिव महेश पाण्डेको अध्यक्षता भएको कार्यक्रममा सञ्चारिका समूह प्रदेश अध्यक्ष अमृता अनमोल प्रजनन स्वास्थ्य अवस्थाको बारेमा प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा सहभागी जानकी गाउँपालिकाको उपाध्यक्ष रामप्यारी यादब, अधिकारकर्मी, संचारकर्मीहरुले जिज्ञासा समेत राखेका थिए । उक्त कार्यक्रममा पत्रकार महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले भरखरै मात्र सुत्केरी हुनुभएको पत्रकार महिला तथा संचारिका समुह नेपाल लुम्बिनी प्रदेशका महासचिव मेनुका चौधरीलाई सुत्केरी भत्ता प्रदान गरिएको थियो ।
