नरैनापुर : बाँकेको नरैनापुर गाँउपालिकामा दादुरा महामारी फैलिएपछि बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप प्रदान गर्न बिहिबारबाट सुरु गरिएको छ ।
आज बिहिबार देखि जोखिम देखिएका वडाहरुका ६ महिना देखि १५ वर्ष उमेर समुहका करिब चौध हजार २२ जना बालबालिकालाई खोप लगाइदैं छ । दादुरा रुबेलाका लक्षणहरु देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी बालबालिकाहरुलाई खोप लगाउन अनुरोध गरिएको नरैनापुर स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले बताउनु भयो ।
हालसम्म नरैनापुरमा १४ जनामा दादुरा देखिएको छ । दादुराकै कारण बाँकेमा एक बालकको मृत्यु समेत भइसकेको छ । नरैनापुरमा तीव्र गतिमा फैलिरहेको दादुरा महामारीे नियन्त्रणमा लिन खोप अभियान सुरु गरिएको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनु भयो । एउटा टोल तथा बस्तीमा ५ जनासम्म दादुराका विरामी देखापरेमा त्यसलाई महामारीको रुपमा लिने गरिन्छ ।
दादुराविरुद्धको खोपप्रतिको सचेतना अभावका कारण खोप प्रयोग नगर्दा प्रकोप फैलिएको अध्यक्ष शाहले बताउनु भयो । अध्यक्ष शाहले प्रकोप फैलिएपछि सबैको ध्यानार्कषण भएको बताउदै धर्मगुरु र समुदायसँग छलफल गरेर खोप अभियानमा सहयोग गर्न आग्रह गरिएको जिकिर गर्नु भयो ।
नरैनापुर वडा नम्बर २ का बालबालिकामा दादुरा धेरै देखिएको छ । स्वास्थ्य शाखाका प्रमुख शाहका अनुसार सबैभन्दा बढी ६–१५ वर्ष मुनिका बालबालिकामा दादुराको संक्रमण देखिएको छ । दादुर बिरुद्धको खोप अभियानको पहिलो दिन नरैनापुरमा २६६१ जना बालबाबालिकाले खोप लगाएको बिबेक पौडेलले जानकारी दिनु भयो । उहाँले ६ वटै वडामा ११ वटा खोप केन्द्र मार्फत खोप दिने काम सुरु गरिएको बताउनु भयो । नरैनापुरमा सुरु भएको खोप अभियानको गाँउपालिका अध्यक्ष शाह, वडा अध्यक्षहरु प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, भरत महतो र स्वास्थ्य कार्यालयका नरेश श्रेष्ठ लगायतले गर्नु भएको थियो । नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको थियो ।
