आशा परियार , राप्तीसोनारी : राप्तीसोनारी गाउँपालिका वडा नं ५ का शुशिला थारुले मुक्त कमलरीको घोषणा भए पश्चात अब त दिन मात्रै फेरिदैनन्, जिन्दगी पनि सप्रिन्छ भन्ने सोचको मिठो भ्रममा रहनुभएको थियो । तर अहिले उहाँको हरेक दिन कष्टकर बन्दै गइरहेका छन् । जिन्दगीलाई लिएर देखेको सपना मधुरो हुदै गएको छ उहाँको । राज्यले १० बर्ष पहिले मुक्त कमलरी घोषणा गरेपछि अब त मेरो छुट्टै संसार हुन्छ । स्कुल पढेर ठूलो मान्छे बन्छु । म पनि चराचुरङ्गी जस्तै पखेटा फिजाएर आफ्नो भविश्यको आफै निर्णय गर्छु सोचेको थिए । तर जिन्दगी भनेजति सजिलो कहाँ छ र ? साहुको घरमा कमलरी बसेको पीडाभन्दा बढ्ता पीडा अहिले परेको छ उहाँ भन्नुहुन्छ ।
मलाइ पढ्ने इच्छा हुदा हुदै पनि घरको नाजुक आर्थिक अवस्थाका कारण पढ्न पाइन । यसरी बीचमै पढाइ छाड्नु प¥यो, एक छाक खानाका लागि भौतारिनु र आफ्नो खुट्टामा उभिन्छु भन्ने बेला बीचबाटोमा बिचल्ली पर्नुभन्दा त साहुकै घरमा काम गर्न दिएको भए आनन्द हुन्थ्यो । मुक्त कमलरी शुशिला भन्नुहुन्छ, “यसरी मुक्त कमलरी कागजमै सिमीत गराउने भए किन सरकारले कमलरीलाई मुक्त गरेको ? हाम्रो जिन्दगी त झन् अन्योलमा प¥यो । राज्यले कमलरीलाई झन पीडामाथि पीडा थपिदियो ।”
यस्तै मुक्त कमलरी सिता थारु भन्नुहुन्छ राज्यले मुक्त कमलरीलाइ सिप मुलक तालिम दियौ भन्छ तर हप्ता १० दिनमा सिकाएको तालिमले हामीलाइ केही उपलब्धिमुलक भएन । हाम्रा आवाज कसले सुनिदिने र कहिले सुनिदिने उहाँले निरास हुदै भन्नुभयो । उहाँ भन्नुहुन्छ “कमसेकम पहिले साहुको घरमा कमलरी बस्दा सबैले पिडा त देख्थे तर अहिले राज्यले मुक्त कमलरी घोषणा गरेर पिडा देखाउन मिल्छ न त समस्याको सामाधान गर्छ । हामी त बिद्यानको कागजमा मात्र मुक्त कमलरी भयौ ।

यस्तै मुक्त कमलरी बिकास मञ्च राप्तीसोनारी गाउँपालिका बाँके अध्यक्ष सुमिता थारुले भन्नुहुन्छ “ हामी राज्यबाट पाउनु पर्ने हक अधिकारबाट प्रत्यक्ष रुपमा बञ्चित भएका छौ । बोल्न सक्नेले आफ्नो हक अधिकारका लागी जसरी नि आवाज उठाइहाल्छन् तर सोझा साझा मुक्त कमलरी भनिएका कमलरीको आवाज को बनिदिन्छ । मुक्त कमलरी बारे मञ्चले पटकपटक ध्यानाकर्षण गराए पनि सुनुवाइ भने नभएको अध्यक्ष सुमिताले बताउनुभयो ।
मञ्चका कानुनी सल्हाकार फकला थारुले मुक्त कमलरीहरुलाई अगाडी बढाउन राज्यले स्वास्थ्य, शिक्षा, रोजगारी र जमिनमा बिशेष प्राथमिकता दिए मात्र मुक्त कमलरीहरुको भबिश्य सप्रिने बताउनुभयो । उहाँले सबै मुक्त कमलरीहरु एक जुट भएर आफ्ना लागि स्वयम आवाज उठाउनमा जोड दिनुभयो ।
स्थानिय सरकारले मुक्त कमलरीहरुका लागि बिशेष बजेट छुट्याएर मुक्त कमलरीहरुसंगै हातेमालो गर्ने राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले मुक्त कमलरीको छात्रवृत्ति रकम वृद्धि, पर्याप्त बजेट विनियोजन, परिचयपत्र वितरण समेतमा राप्तीसोनारी गाउपालिकाको ध्यान आर्कषण भएको बताउनुभयो ।

मुक्त कमलरीको शिक्षामा पर्याप्त अवसर र बजेट नहुँदा शैक्षिक यात्रा जोखिममा परेको छ । सरकारले छात्रवृत्ति रकम वृद्धि, पर्याप्त बजेट विनियोजन, परिचयपत्र वितरण र शिक्षामा ध्यान नदिँदा समस्या भएको मुक्त कमलरीहरूको गुनासो छ । मुक्त कमलरी बिकास मञ्च राप्तीसोनारी गाउँपालिका बाँकेको आयोजनामा भएको मुक्त कमलरीहरुको बिद्यमन समस्या तथा समाधानको उपाय बिषयक अन्तरक्रिया कार्यक्रममा मुक्त कमलरीहरुको यस्तो गुनासो पोखेका थिए ।
