नेपालगन्ज, ०८ साउन – बाँकेको खजुराका १७ जना महिला तथा बालबालिका बेचविखनको जोखिममा रहेको पाइएको छ ।
मानव बेचविखनबाट पिडित तथा प्रभावितहरुको सहयोगका लागी बार्षिक सार्वजनिक कार्यक्रममा खजुरा उच्च जोखिममा रहेको बताइएको हो । १७ जना मध्य पनि धेरै उजुरी नपरेको तर हराइरहेका छन् खजुरा गाउँपालिका महिला बालबालिका शाखा प्रमुख शुसिला न्यौपानेले बताउनुभयो । खजुरा गाउँपालिकामा रहेको मानव बेचविखन तथा ओसार पसार नियन्त्रण समितिको आयोजना भएको सार्वजनिक छलफल कार्यक्रममा माइति नेपालका संयोजक केशव कोइरालाले लुम्बिनी प्रदेशको बाँके र दाङ जिल्ला बेचविखनको टप जिल्लाका रुपमा पर्ने बताउनुभयो । जसमा खोज तलासका लागि ७१२ निवेदन परेको मध्य २८५ जना फेला परेको माइती नेपालका संयोजक कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार ६१२ जना मध्य पनि बाँकेका १३१ जनाको खोजतलासको लागि निवेदन परेको थियो । जसमा ४९ जना फेला परेको अन्यको सम्पर्क हुन नसकेको पाइएको छ । ११ जनालाई भने उद्धार गरिसकेको माइती नेपाल नेपालगन्जले जनाएको छ । जसमा १८ वर्ष माथिका ४ रहेकोमा १८ वर्ष मुनिका बालिका ३ र बालक २ रहेका छन । बाँकेका भने ५ जना रहेका छन । कोहलपुरका १, बैजानाथको २, खजुराको १ र नेपालगन्जको १ रहेको कोइरालाले बताउनुभयो । छलफल कार्यक्रममा बोल्दै पत्रकार दुर्गा रोकायले मानव वेचविखन संम्वेदशिल विषय भएकाले यो मुद्दालाई साझा रुपमा हेरिनुपर्नेमा जोड दिनुभयो । पत्रकार रोकायले तथ्याङ्क हेर्दा घट्दो नभई बढ्दो रहेकाले सचेतना जगाउने काम स्थानिय सरकारले गर्नपर्ने उल्लेख गर्नुभयो । खजुरा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धनिराम वलिले समस्याको जड पत्ता लगाएर निर्मुल पार्न तर्फ ध्यान जान पर्ने देखिएको बताउनुभयो । वडा नम्बर ३ का वडाध्यक्ष पुर्ण बहादुर भण्डारीले पुर्नस्थापनाका लागी खजुरामै व्यवस्थापन गरिनुपर्नेमा जोड दिनुभयो । अधिकारकर्मी प्रकाश उपाध्ययायले मानव वेचविखनको स्वरुप परिवर्तन भएको उल्लेख गर्दै स्थानिय स्थरमा गठित समितिलाई क्रियासिल बनाइनुपर्नेमा जोड दिनुभयो ।

उहाँले स्थानिय सरकारले तथ्याङ्कको आधारमा योजनाबद्ध ढंगले काम गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । खजुरा गाउँपालिकाका कानुनी सल्लाहकार तिर्थ ज्ञवालीले मानव बेचविखनका विषयमा स्थानिय सरकारले रचनात्मक ढंगले योजना बनाई काम गर्न जरुरी रहेको बताउनुभयो । स्थानिय राजनितिकर्मी महेन्द्र मल्लले पालिकाका जनताको खोजी गर्न गाउँपालिका क्रियाशिल हुनपर्नेमा जोड दिनुभयो । मल्लले उद्दार गरिएकाहरुलाई उचित पुर्नस्थापनातिर समेत ध्यान दिन स्थानिय सरकारलाई सुझाव दिनुभयो । अधिकारकर्मी कमला पन्तले मानव वेचविखनको दायरा बढ्दै गएको र यसको अहिलेको अवस्था भयावह हुदै गएकाले यस तर्फ सम्बन्धितको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रमको अध्यक्षता गरेका खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले मानव वेचविखनको परिदृश्य हेर्दा चिन्ताजनक रहेको बताउनुभयो ।

पालिकाले चेतना स्तर बढाउन सरोकारवालासंग समन्वय गरि कार्यक्रम संचालन गर्ने, खोजतलासलाई तिव्रता दिने, आवासिय विद्यालयहरुलाई उद्धार गरिएका बालबालिका राख्ने बातावरण मिलाउने, रोजगारीको पहिचान गरि रोजगार दिने काम पनि आगामी दिनमा संचालन गर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, वडाअध्यक्षहरु, वडा सचिवहरु, बुद्धिजिवि, राजनिति दलका प्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

