(Friday 30th of October 2026)
`

एआईजी विश्वराज पोखरेलको स्थानमा बढुवा हुन चलखेल शुरु

  • सगरमाथा गन्तब्य
  • 5.8K
    SHARES

    नेपालगन्ज : प्रहरी महानिरीक्षक हुने बाटो सर्वोच्च अदालतले बन्द गरेपछि राजीनामा दिएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको स्थानमा बढुवा हुन नेपाल प्रहरीभित्र नयाँ खेल शुरु भएको छ ।
    हिजो नेपाल प्रहरीको प्रशासन विभागमा राजीनामा बुझाएसँगै प्रहरीभित्र नयाँ एआइजीको नयाँ खेल शुरु भएको हो । खासगरी एक महिनाअघि बढुवा भएका डीआईजीहरुले नै एआईजीका लागि योग्य रहेको दाबी पेश गर्ने तयारी गरेका छन् ।
    पोखरेलले आजबाट लागु हुने गरी बुझाएको राजीनामा प्रहरी महानिरीक्षकले अघि बढाएर गृह मन्त्रालय हुँदै अब मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उनी पदमुक्त हुनेछन् । प्रक्रिया पूरा भएसँगै उनको स्थानमा एक एआईजी पद रिक्त रहने छ ।‘हिजो राजीनामा दिनुभयो सोमबार बेलुकाबाटै शक्ति केन्द्रमा एआईजीका लागि दौडधुप शुरु भइसक्यो’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । खासगरी प्रहरी प्रधान कार्यालयबाहिर नगई बसेका डीआईजीहरु यो खेलमा लागेका छन् ।
    प्रहरी महानिरीक्षकको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरी नियुक्ति खारेजीको माग गरेका पोखरेललाई अन्ततः सर्वोच्च अदालतले हराइदिएपछि उनले बाध्य भएर हिजो राजीनामा दिएका थिए ।
    प्रहरी प्रधान कार्यालय भने तत्कालै एआईजी बढुवाको प्रकृया अघि बढाउने सोचमा छैन । एक जनालाई मात्रै एआईजी बनाउँदा विवाद आउने भएको कारण पनि प्रहरी प्रशासन र सरकार दुवै एआइजीको नियुक्ति एकमुष्ठ रुपमा चार जनालाई एआईजी बनाउने खेलमा छ ।
    हाल डीआईजीमा बढुवा भएकाहरू बाहेक हालका आईजीपी धिरजप्रताप सिंहका ब्याजका तीन जना डीआईजीहरु एआईजीका दाबेदार छन् । हाल डीआईजी रहेकाहरु नलप्रसाद उपाध्याय, महसुद आलम खाँ र मोहन आचार्य सिनियर डीआइजीहरु हुन् ।
    त्यसपछि हालसालै एसएसपीबाट डीआईजीमा बढुवा भएकाहरू पनि एआईजी बढुवाको प्रतिस्पर्धामा रहेका छन् । तर सिंहका प्रतिस्पर्धीहरु आईजीपी नहुने भएकाले सरकारले पछिल्लो व्याचबाटै एआईजी बनाएर अघि बढ्ने सोचमा रहेको छ ।
    चार जना डीआईजीलाई एकैपटक कात्तिक महिनामा एआईजी बनाएको खण्डमा सिनियर तीन जना डीआईजी बाहेक एक जना हालसालै डीआईजी भएकाबाट बढुवा हुनेछन् ।
    हालसालै डीआईजीमा बढुवा भएकामध्ये वसन्त कुँवर एक नम्बरमा डीआईजीमा बढुवा भएका छन् । नयाँ आईजीपीका लागि तयार पार्ने गरी हाल डीआईजी भएकाहरूबाट नयाँ एआईजी बनाउने हो भने एक नम्बरका वसन्त कुँवर, दुई नम्बरका टेकप्रसाद राई, तीन नम्बरका अशोक सिंह, चार नम्बरका दीपक थापा र पाँच नम्बरका श्यामलाल ज्ञवाली पनि एआईजीका दाबेदार हुन्।
    उनीहरुमध्ये एक जना एआईजी भएमा सरकारले उसलाई नै भावी आईजीपी बनाउने खेलमा लागेको छ भनेर बुझ्नु पर्ने हुन्छ । यद्यपि हालका आईजीपी सिंह आफ्नो कार्यकाल बढाउने तयारीमा लागेका छन् । आईजीपीको मुद्धा टुंगिएसँगै सिंहले दुईं वर्ष अवधि थप गराएर तीन वर्ष आईजीपी हुने खेलमा लागेको निकट स्रोतको दाबी छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology