नेपालगन्ज ः नेपालगन्जमा पहिलो पटक घुँडाको पूर्ण जोर्नी प्रत्यारोपण सफलतापूर्वक गरिएको छ ।
बरिष्ठ अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र खड्का नेतृत्वको टिमले नेपालगन्ज चार बाहिनी रोडस्थित हेल्थ केयर अस्पतालमा मंगलवार विहान कोहलपुर नगरपालिका–१४ हवलदारपुर बाँकेका ६७ वर्षीय लालबहादुर थापाको दाहिने घुँडाको पूर्ण जोर्नी प्रत्यारोपण सफलतापूर्वक गरेको हो ।
थापा लामो समयदेखि जोर्नी खिइने रोग अस्टिओआर्थाइटिसबाट पीडित थिए । उनको घुँडामा धेरै दुखाई हुने र जोर्नी बाङ्गो भएर हिँड्डुल गर्न मुस्किल भएपछि उपचारका लागि डा. खड्काको सम्पर्कमा पुगेका थिए ।
खड्काको नेतृत्वमा अर्थोपेडिक सर्जनहरु डा. ऋषि विष्ट, डा. प्रकाश थापा, डा.राहुल मिश्र तथा एनेस्थेसियोलोजिष्ट डा. पारश पाण्डे लगायतको टिमले करिव साढे दुई घण्टा लगाएर थापाको घुँडाको पूर्ण जोर्नी प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको हो ।
