नेपालगन्ज १३ असार : स्वास्थ्य तथा शिक्षालाई केन्द्रबिन्दु बनाएर पहिलो प्राथमिकता दिएर वडाको काम अगाडी बढाउने प्रतिबद्धताका साथ नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को वडाभेला सम्पन्न भएको छ ।
उक्त भेलामा वडाबासीहरुले आ–आफ्नो टोलको विभिन्न समस्याहरुबारेमा जानकारी गराउँदै अगामी दिनहरुमा वडाले आर्थिक वर्षमा के कस्ता काम गर्ने योजना सहितको चिठी लेखी वडा प्रतिनिधिहरुलाई बुझाएका छन् ।
वडाबासी मदनराज शर्माले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ भित्र रहेका सम्पूर्ण मठमन्दिरको संरक्षण सम्बद्र्धन गर्नुका साथै मठमन्दिरको जमिन यकिन गरी नापनक्सा राख्नुका साथै आउने दिनमा पानीको मुहान कम नहोस भनी स्थानीय ताललाई पर्यटकीय स्थलको रुपमा विकास गरी कार्य अगाडी बढाउनु पर्ने बताउँनुभयो ।
नेपालगन्ज ६ वडा अन्तरगत पर्ने एक मात्र सरकारी विद्यालय छ । बिद्यालयमा आएको बजेट समेत भागबण्डा जस्तो गतिविधि नियन्त्रण गरेर शिक्षालाई राजनीतिक पहुचबाट टाढा राखी बिद्यालयलाई नमुना बिद्यालयको रुपमा परिणत गर्न वडाले महत्वपुर्ण भुमिका खेल्नुपर्ने एक स्थानीयवासी मनिषराज रेग्मीले सुझाव समेत दिनुभएको छ ।
यस्तै वडाबासी दिलिपराज रेग्मीले वडाका सम्पूर्ण विकासका गतिविधि कार्यमा पार्टीगत हिसाबले पक्षपात नगरी समुन्नत वडा निमार्ण गर्न र वडालाई उपमहानगरकै नमुना वडा भनेर चिनाउन् सबै पार्टीले हातेमालो गरी काम गर्नुपर्ने बताउँनुभयो ।
पूर्व वडा सदस्य सुरेशप्रसाद सोनारले वडामा भएको सरसफाई, बिजुलीबत्तीको काममा हाल भईरहेको ढिलोसुस्तीको गुनासो गरिनुका साथै विगत जस्तो पारदर्शिता यसतर्फ नभएको बताउँनुभएको थियो ।
वडा सदस्य मदनबहादुर क्षेत्रीले वडाबासीहरुले गरेका प्रश्नहरुको जवाफ दिदै हाल वडामा सफाईकर्मीको कमी भएको हुँदा त्यसतर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण गराई सकेको जानकारी गराउँनुभयो । उहाँले आउने दिनमा सबै पार्टी तथा वडाबासीहरु जनतालाई मिलेर कसरी वडालाई नमूना बनाउन सकिन्छ त्यसतर्फ कार्य गर्ने बताउँनुभयो । उक्त भेला समापन वडा अध्यक्ष समिरप्रताप सिंहले गर्नुभएको थियो भने कार्यक्रम संचालन असिष्टेन्ट सब ईन्जिनियर नवराज रोकायले गर्नभएको थियो ।
वडा भेलामा वडा सचिव मदनबहादुर रावत, सहायक अधिकृत भक्तबहादुर खत्री, सहजकर्ता शिला देवकोटा, का.स. उमेशकुमार बर्मा, का.स. शान्ति कुर्मी लगायत १ सय बढी वडाबासीहरुको सहभागिता रहेको थियो ।
