(Friday 30th of October 2026)
`

विदेशी पर्यटक नआएपछि नेपालगन्जका होटेल व्यवसायी मर्कामा

  • सगरमाथा गन्तब्य
  • 7.7K
    SHARES

    आशा परियार – नेपालगन्ज ०८ असार – कोभिडको असरले बाँकेको नेपालगन्जका होटेलहरु अझै पनि सुनसान देखिएका छन् । कोभिडको कारणले नेपालगन्जको ठुला देखि साना होटेलहरु समेतलाई प्रभाव पारेको छ । नेपालगन्जका होटलहरुमा दुईवर्ष अघिसम्म भारतीय पर्यटकको भीडभाडले भरिभराउ हुने गर्थेे । भारतीय पर्यटकले गर्दा होटलमा कोठा पाउन मुस्किल थियो । बाँकेको नेपालगन्ज, कोहलपुर र आसपासका होटल भारतीय पर्यटकले भरिभराउ हुन्थे ।
    नेपालगन्ज हुँदै कैलाश मानसरोवर तीर्था यात्रा गर्न जान आएका भारतीय पर्यटकका कारण यहाँका होटल भरिभराउ हुन्थे । पर्यटकहरुको घुइचोले होटेल व्यवसायीहरुले राम्रै लाभ लिएका थिए । तर अहिले भने नेपालगन्ज लगायत थुप्रै होटेलहरुको अवस्था फरक छ । ठूला होटलहरुमा सुनसान छाएको छ । अघिल्लो दुईबर्ष कोभिड–१९ का कारण आवागमन अवरुद्ध भएपछि मानसरोवर यात्रा पनि प्रभावित भएको थियो । अहिले कोभिड संक्रमण न्यून भएर जनजीवन सामान्य भएपनि मानसरोवर यात्रामा जाने भारतीय पर्यटकहरु भने नेपाल भित्रिएका छैनन् ।


    कोभिड–१९ पछि चिनिया पक्षले प्रवेश अनुमति नदिएका कारण यसवर्ष पनि मानसरोेवर यात्रा प्रभावित भएको नेपालगन्जका होटेल व्यवसायी बताउँछन् । ‘चीनबाट भिसा नपाउने भएपछि भारतीय तिर्थयात्रीहरु नभित्रिएको उनिहरु बताउँछन् । होटल सिद्धार्थ भ्यूका प्रबन्ध निर्देशक तथा पर्यटन ब्यवसायी केशव न्यौपाने भन्नुभयो, ‘लगातार तेस्रो वर्ष पनि मानसरोवर यात्रा प्रभावित भएको छ । चीनबाट भिसा नपाउने भएपछि अबको दुई महिनाभित्रै हुम्लास्थित नेपाली सीमाक्षेत्र लिमी उपत्यकाबाटै मानसरोवर दर्शन गराइने भएको छ । त्यसका लागि पर्यटन ब्यवसायीहरुले आन्तरिक र बाह्य तयारी गरिरहेका छन् ।’
    मानसरोवर जानका लागि भारतीय तिर्थयात्रीले मुख्य रुपमा प्रयोग गर्ने भनेकै नेपालगन्ज विमानस्थल हो । निजी वायुसेवा कम्पनी सिता एयरका सूर्य भण्डारीले यसबर्ष अहिलेसम्म भारतीय पर्यटक मानसरोवर यात्राका लागि नआएको बताउँनुभएको छ । होटल व्यवसायी महासंघ बाँकेका निवर्तमान अध्यक्ष भिमलाल कँडेलका अनुसार मानसरोवर जाने उपयुक्त समय हरेक बर्षको वैशाखदेखि भदौसम्म हो । मानसरोवर–कैलाश पर्वत भ्रमणका लागि आउने भारतीय पर्यटकको संख्या विगतमा अत्याधिक बढेपछि यहाँ होटल तथा अन्य व्यवसाय फस्टाएको थियो । पछिल्लो समय पर्यटकको संख्यासँगै स्तरीय होटल समेत बढेका छन् ।
    मानसरोबार यात्रा पाँच महीनासम्म चल्ने गरेको छ । बाँकेमा तीन हजारभन्दा बढी होटल सञ्चालनमा छन् । नेपालगन्ज उपमहानगरपालिकामा मात्रै १५ सय भन्दा बढी होटल सञ्चालनमा रहेको होटल व्यवसायी संघ बाँकेले जनाएको छ । मानसरोवरयात्रीलाई लक्षित गरि नेपालगन्जमा होटल सोल्टी, वेस्टेन्ड प्रिमियर, सिद्धार्थ भ्यू, सिटी प्यालेस, सिग्नेट इन कृष्णा, भेरी, कल्पतरु, किचन हट, बाटिका, स्नेहा, मारुती नन्दन र कोहलपुरमा सेन्टर प्लाजा लगायत तारे होटल समेत भारतीय पर्यटक नभित्रिएपछि मर्कामा परेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology