कोहलपुर : बाँकेको कोहलपुर नगरपालिकाको नगर सभा यही असार ८ गतेका लागि तय भएको छ । बस्तीस्तरबाट योजना छनोट गरी विभिन्न समितिमा छलफल गरेर नीति, कार्यक्रम तथा बजेटलाई अन्तिम रुप दिने तयारीमा नगरपालिका रहेको नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
उहाँले असार ८ गते दिउँसो १ बजे हुने नगरसभामा नीति, कार्यक्रम तथा बजेट पेश गरिने जानकारी दिनुभयो । यो पटक कोहलपुर नगरपालिकाले शिक्षा र डिजिटल कोहलपुरलाई प्राथमिकतामा राखेको छ । ‘भौतिक पूर्वाधार विकासले मात्र विकसित र समृद्ध कोहलपुर नहुँदो रहेछ,’ नगरप्रमुख आचार्यले भन्नुभयो–‘त्यसका लागि शिक्षा र प्रविधिलाई अगाडि बढाउन जरुरी देखियो ।’ आर्थिक वर्ष ०७९÷८० का लागि विनियोजित बजेटमा शिक्षाको मात्र कम्तिमा ११ प्रतिशत बजेट हुने नगरप्रमुख आचार्यले जानकारी गराउनुभयो ।
नगरपालिकामा स्वास्थ्यलाई समेत प्राथमिकतामा राखिएको जानकारी गराउँदै उहाँले आगामी बजेटमा बाख्रा बाँड्ने कार्यक्रमलाई भने हटाइएको स्पष्ट पार्नुभएको छ । ‘कृषकलाई प्रोत्साहन गर्ने सवालमा हामी गम्भीर छौं, उहाँले भनुभयो –‘किसानलाई प्राविधिक सहयोग गर्न सकिन्छ तर बाख्रा बाँड्न सकिँदैन, त्यो कार्यक्रम हटाइएको छ ।’ बाख्रा वितरण कार्यक्रम उपलब्धिमूलक र उपयोगी नभएको यथार्थता प्रस्तुत गर्दै उहाँले भनुभयो – ‘यसअघि बाख्रा बाँडेको संख्या हेर्ने हो भने कोहलपुरका प्रत्येक घरमा बाख्रा हुनुपर्ने हो तर त्यो देखिएन ।’
उहाँले सम्बृद्ध र विकसित कोहलपुर नगरपालिका बनाउने अभियानमा रहेकाले सबैको सहयोग र साथको आवश्यकता औंल्याउदै नगर प्रमुखमा निर्वाचित भएपछि पहिलो पटक पत्रकारहरुसँग अन्तरक्रिया गनुभएका आचार्यले कोहलपुर नगरपालिकालाई मिडियामैत्री नगर बनाउने प्रतिबद्धता समेत जनाउँनुभएको छ ।
