(Friday 30th of October 2026)
`

प्रेस युनियनको स्थापना दिवसमा रक्तदान र पात्रो विमोचन

  • सगरमाथा गन्तब्य
  • 9.9K
    SHARES

    नेपालगन्ज : नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेका ठाउँमा उपलब्धी भएको दाबी गर्नुभयो । नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा प्रेस युनियन बाँकेले शुक्रबार नेपालगन्जमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा पात्रो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राठौंरले पार्टीले गठबन्धन गरेको बाँकेको नेपालगन्ज र खजुरामा प्रमुख÷उपप्रमुख दुबै पद जित्न सफल भएको बताउनुभयो ।
    ‘गठबन्धनमा प्रमुख र उपप्रमुख जितेका छौं, यो उपलब्धी हो, गठबन्धन गर्दा पार्टी हार्यो कि?,’ उहाँले प्रश्न गर्दै भन्नुभयो । पार्टीले हिजो टिकट बाँड्दा पैसा लिएर टिकट बेच्यो भन्ने पनि आफूले सुनेको सह–महामन्त्री राठौंरले बताउनुभयो । ‘आफ्ना नातागोतालाई टिकट दिने, पैसा लिएर टिकट दिने यो किसिमको प्रवृत्ति छ, पार्टीको केन्द्रले पावरलाई डिसेन्ट्रलाईज गरेको छ,’ उहाँले थप्नुभयो, ‘वडाको टिकट क्षेत्रीय कार्यसमितिले बाँड्ने, गाउँपालिकाको टिकट जिल्ला कार्यसमितिले बाँड्ने, नगर र उपमहानगरको टिकट प्रदेश कार्यसमितिले बाँड्ने अधिकार अहिलेको विधानले दिएको छ ।’
    विधानले दिएको अधिकारलाई पार्टीमा नेतृत्व गर्नेले जिम्मेवारीका साथ निर्वाह गरेको÷नगरेको कुराको समिक्षा पार्टीमा आफ्नो कार्यसमितिमा गर्न नेता राठौंरले निर्देशन दिनुभयो । ‘धेरै कुरा सुनिएका छन्, धेरै कुरा भएका छन्, त्यसको समिक्षा केन्द्रीय समितिले पनि गर्नेछ,’ उहाँले भन्नुभयो ।
    कांग्रेस पार्टीका शुभेच्छुक संस्थाले जुन भूमिका निर्वाह गर्नुपर्ने हो, त्यो भूमिका निर्वाह गर्ने कुरामा कता कता कमी कमजोरी भएको आफूलाई महसुस भइरहेको बताउनुभयो । लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई छ । ‘कसरी पत्रकारितालाई स्वच्छ बनाउन सकिन्छ, निश्पक्ष बनाउन सकिन्छ, कसरी पत्रकारिता गर्दा गर्दै लोकतन्त्रलाई बलियो बनाउन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘लोकतन्त्रलाई कसरी बचाउन सकिन्छ, लोकतन्त्रको पक्षमा कसरी वकालत गर्न सकिन्छ भन्ने कुरालाई पनि गम्भीर भएर सोच्नको लागि अनुरोध गर्न चाहन्छु ।’
    युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, प्रेस युनियनका केन्द्रीय सदस्य जयसिंह केसी, पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्टप्रसाद धिताल, ट्रेड युनियन कांग्रेस बाँकेका सचिव तोजिन्द्र बि.क लगायतले बोल्नुभएको थियो । सो क्रममा प्रेस युनियन बाँकेले प्रकाशनमा ल्याएको २०७९ सालको भित्तेपात्रो विमोचन गरिएको थियो । यस्तै स्थापना दिवसकै अवसरमा प्रेस युनियन बाँकेले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेको उक्त कार्यक्रममा पत्रकार, चिकित्सक, समाजसेवी, विद्यार्थी, सर्वसाधारण लगायतले रक्तदान गरेका हुन् ।
    सो क्रममा नगर प्रमुख विष्टले रक्तदान नै जीवन दान भएकाले यस्ता मानवीय कार्यलाई अझ ब्यापकता दिनुपर्नेमा जोड दिए । नेपालगन्जमा रगतको अभाव भइरहेको अवस्थामा प्रेस युनियनले गरेको रक्तदानले धेरै विरामीको ज्यान जोगिने उनको भनाई थियो । नेपालगन्जमा रगतको चरम अभाव सिर्जना भइरहेका बेलामा प्रेस युनियनले गरेको रक्तदान कार्यक्रमले राहत मिलेको रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो ।
    ‘प्रायः सबैको ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित हुँदा रक्तदान सम्बन्धी कार्यक्रम भएनन्, जसले गर्दा रगतको अभाव चरम रुपमा भइसकेको थियो, यस्तो बेलामा आयोजना गरिएको रक्तदान कार्यक्रमले हामीलाई राहत प्रदान गरेको छ, यस्ता कार्यक्रम अझै गर्न म अनुरोध पनि गर्दछु,’ उहाँले भन्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology