(Saturday 31st of October 2026)
`

राप्ती सोनारीको मतगणना स्थलबाट पत्रकारलाई बाहिर निकालियो

  • सगरमाथा गन्तब्य
  • 8.1K
    SHARES

    बाँके : राप्ती सोनारी गाउँपालिकाको मतगणना स्थलबाट पत्रकारलाई एक्कासी बाहिर निकालिएको छ । केहीबेर अघि गाउँपालिकाको मतगणना स्थलबाहिर पत्रकारलाई निकालिएको पत्रकार सौरभ गिरीले बताए ।

    ‘हामीलाई समाचार संकलन गरिरहेको अवस्थामा एक्कासी प्रहरीले बाहिर निकाल्यो, यहाँ अहिले सबै पत्रकार बाहिर छौं,’ उनले भने । पत्रकारलाई समाचार संकलन गर्दा गर्दै बाहिर निकालेपछि विभिन्न आशंका जागेको गिरीले बताए ।

    यस्तै पत्रकार हेमन्त चौधरीले पनि पत्रकारलाई मतगणना स्थलबाट बाहिर खेदिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले मतगणनाको सूचना संकलनमा रोक लगाइएको उल्लेख गरेका छन् ।

    पत्रकारलाई समाचार संकलन गर्नबाट बञ्चित गरिएको विषयमा नेपाल प्रेस युनियन बाँकेले आफ्नो ध्यानार्कषण भएको जनाउँदै तत्काल पत्रकारलाई समाचार संकलन गर्ने वातावरण मिलाउन माग गरेको छ ।

    युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले राप्ती सोनारी गाउँपालिकाका निर्वाचन अधिकृत टोपेन्द्र केसीलाई तत्कालै टेलिफोन सम्पर्क गरी पत्रकारलाई तत्काल समाचार संकलन गर्ने वातावरण मिलाउन ध्यानाकर्षण गराएका हुन् ।

    युनियन बाँकेका अध्यक्ष ओलीलाई जवाफ दिदै निर्वाचन अधिकृत केसीले मतगणना स्थलमा पत्रकारको भिडभाड धेरै बढेको भन्दै उम्मेदवार र उनका प्रतिनिधीले गुनासो गरेपछि केही समयका लागि पत्रकारलाई बाहिर जान अनुरोध गरिएको प्रष्ट्याए ।

    ‘पत्रकारको विषयमा गुनासो आएपछि वातारण सहज बनाउन उहाँहरुलाई प्रहरीले बाहिर जान अनुरोध गरेको हो, पत्रकारलाई सहज रुपमा समाचार संकलन गर्ने वातावरण हामी बनाउँछौं, तपाईलाई म विश्वस्त दिलाउन चाहन्छु,’ उनले भने ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology