नेपालगन्ज – प्रधानमन्त्री महिला कप भलिबलको फाइनल खेल भारतको हरियाणा र नेपाल पुलिस क्लव भिड्ने भएका छन् ।
नेपालगन्ज स्थित रंगशालाको कभर्डहलमा सञ्चालन भैरहेको प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता अन्तर्गत आइतवार खेलिएका सेमीफाइनल खेलमा विजयी भएर भारतको हरियाणा क्लब र नेपाल पुलिस क्लब फाइनलमा पुगेका हुन् । भारतको हरियाणा र न्यु डायमण्ड क्लब विच खेलिएको पहिलो सेमीफाइनलमा हरियाणा क्लबले न्यु डायमण्ड क्लबलाई ३–१ ले पराजित गरेर फाइनलमा प्रबेश गरेको छ ।

शुरुको दुई सेट हरियाणाले २५–१७ र २५–१५ ले जितेपनि तेस्रो सेटमा न्यु डायमण्डले २५–२३ ले जितेको थियो । तर चौथो सेट २५–१६ ले हरियाणा सेट आफ्नो पोल्टामा ल्याएको हो । अब हरियाणाले फाइनल खेल नेपाल पुलिससंग फाइनल खेल खेल्ने छ । यसैगरि दोस्रो सेमीफाइनल खेलमा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेर फाइनलमा प्रवेश गरेको हो ।
पहिलो सेट पुलिस क्लबले सहज रुपमा २५–१८ ले जितेपनि दोस्रो र तेस्रो सेटमा निकै कडा प्रतिष्पर्धा भएको थियो । दोस्रो सेट पुलिस क्लबले २५–२३ र तेस्रो सेट २८–२६ ले जितेको हो । प्रतियोगिताको फाइनल खेल पुलिस क्लब र भारतको हरियाणा क्लब विच हुने भएको छ ।
नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए । एपीएफ प्रतियोगितामा अनुपस्थित छ ।
